विदेशबाट फर्किने यात्रुसँग जफत गरिएका सामान लिलाम बिक्री गरेर चार करोड राजस्व

डिसी नेपाल
२४ फागुन २०७९ १८:५६
36
Shares

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यायलले करिब रु चार करोड बराबरको सामान लिलाम बिक्री गरेको छ।

कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्य पदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट रु तीन करोड ८९ लाख ८१ हजार पाँच सय ५७ राजस्व सङ्कलन गरेको हो।

कार्यालयलाई तीन सय ३२ थान मोबाइल लिलाम बिक्रीबाट रु एक करोड ७३ लाख २६ हजार सात सय चार राजस्व प्राप्त भएको छ। यी मोबाइल विदेशबाट फर्किने यात्रुसँग जफत गरिएको हो।

यस्तै दुई हजार पाँच सय पाँच थान मदिरा लिलाम बिक्रीबाट कार्यालयले रु एक करोड पाँच लाख ८६ हजार छ सय ९७ बराबर राजस्व सङ्कलन भएको जनाएको छ।

सवारीसाधन, कपडा, खाद्य पदार्थ, इलेक्ट्रोनिकलगायतका मालवस्तु लिलाम बिक्रीबाट रु एक करोड १० लाख ६८ हजार एक सय ५६ सङ्कलन भएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत नारद पोखरेलले जानकारी दिए।

उनका अनुसार कानूनअनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक व्यक्तिले एउटाभन्दा बढी थान मोबाइल तथा एक बोतलभन्दा बढी मदिरा ल्याउन पाइँदैन।

कानूनले तोकेभन्दा बढी सङ्ख्यामा ल्याइएका सामग्री भए आर्थिक ऐनबमोजिम भन्सार महसुल तिर्नुपर्ने हुन्छ। कार्यालयले स्वदेशी तथा विदेशीबाट जफत गरिएको एप्पल कम्पनीका आइफोन, सामसुङलगायत महँगा मोबाइल फोन तथा मदिरा बिक्री गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.