ब्रह्मदेवस्थित सिद्धबाबाको मन्दिरमा भारतीय दर्शनार्थीको घुइँचो

डिसी नेपाल
२७ फागुन २०७९ ७:०९

दोधारा चाँदनी। भारत उत्तराखण्डमा पूर्णागिरि मेला सुरु भएपछि कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धबाबाको मन्दिरमा भारतीय दशनार्थाीको घुइँचो लागेको छ।

किंवदन्तीअनुसार पूर्णागिरि माताको दर्शन गरेपछि सिद्धबाबाको दर्शन अनिवार्य गर्नुपर्ने र तब मात्रै मनोकांक्षा पूरा हुने जन विश्वास रहेका कारण पूर्णगिरि मेला सुरु भएपछि यहाँको सिद्धबाबा मन्दिरमा पनि भारतीय भक्तजनको चहलपहल सुरु भएको छ।

सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण महताले भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँगै दिल्लीलगायत क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको बताए।

“भारत उत्तराखण्डको चम्पावतअन्तर्गत टनकपुर उत्तरतिर चुरेको डाँडामा पूर्णागिरि माताको मन्दिर छ  ठीक वारि नेपालतर्फ खल्ला, ब्रम्हदेव र महेन्द्रनगरमा सिद्धबाबाको मन्दिर छ”, अध्यक्ष महताले भने, “पूर्णागिरिको दर्शन गरेपछि सिद्धबाबाको अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक विश्वास रहेका कारण यहाँ भारतीय भक्तजन आउने गर्छन्।” उनका अनुसार नेपालबाट पनि कञ्चनपुरसँगै कैलालीलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शनार्थी यहाँ आउने गरेका छन्।

पूर्णागिरि मेला अवधिमा कञ्चनपुरको सीमावर्ती सहर ब्रम्हदेव र महेन्द्रनगर बजारमा ठूलो भीड लाग्ने गरेको छ। हरेक वर्ष फागु पूर्णिमादेखि लाग्ने पूर्णागिरि मेलाको आज औपचारिकरूपमा मेलाको शुभारम्भ भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले गरे।

“यो मेलाले यहाँको धार्मिक पर्यटनको विकासमा सहयोग पुगेको छ”, नगरप्रमुख बोगटीले भने, “मेलाले दुई देशका नागरिकको सम्बन्ध दर्शाएको छ।” उनले कञ्चनपुरमा थुप्रै धार्मिक पर्यटनका सम्भावना रहेकाले यसको विकास र प्रचारप्रसारमा नगरपालिका लागेको बताए।

त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले भारतमा लाग्ने मेलाले सीमावर्ती बजारमा आर्थिक गतिविधि बढेको बताए। “तीन महिनासम्म सञ्चालन हुने यो मेलाले यहाँको व्यवसाय तङ्ग्रिएको छ”, उनले भने, “यसले दुई देशका नागरिकबीच सद्भाव बढाउनुका साथै पर्यटनमा टेवा पुग्छ।”

सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महताले दर्शनार्थीको भेटीबाट करिब रु ५० लाख आम्दानी हुने गरेको बताए। “हरेक वर्ष करिब ५० लाखको हाराहारीमा आम्दानी हुने गरेको रकम यहाँका विद्यालय र सामाजिक कार्यमा खर्च गर्छौं”, उनले भने, “यहाँ रहेका दुई विद्यालयका निजी स्रोतमा भर्ना गरिएका शिक्षकको तलब मन्दिरकै भेटीबाट दिने गरिएको छ।” उनले मेलाका कारण यहाँको व्यवसाय फस्टाएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *