बागमती सरकारबाट बाहिरिने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने एमालेको निर्णय

डिसी नेपाल
१० चैत २०७९ १४:५५
136
Shares

हेटौंडा। नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहेका जगन्नाथ थपलियासहित चारजना मन्त्री छन् । उनीहरुले शुक्रबार राजीनामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष बुझाउने भएका हुन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार विश्वासको मत लिने तयारी गर्दा उनीहरुले मन्त्रीबाट राजीनामा दिने र विश्वासको मत नदिने निर्णयमा पुगेका हुन्।

एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ। गत पुस २५ गते नेकपा (एकीकृत माओवादी केन्द्र) का नेता शालिकाराम जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा एमालेसहितका पाँच दल सहभागी भएका थिए।

सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै सरकारबाट अलग भइसकेको छ। गत फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट राप्रपा अलग भएपछि जम्कट्टेलले यही चैत ८ गते प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको थियो।

मुख्यमन्त्री जम्कट्टेलले संविधानको धारा १८८ को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्। सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले विश्वासको मत लिन लागेको मुख्यमन्त्री जम्कट्टेलले बताए।

बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने दोस्रो ठूलो दल नेकपा (एमाले) सहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी गरी पाँच दलका ७० प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारलाई गत माघ ३ गते ठूलो दल कांग्रेसले समेत विश्वासको मत दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.