मधेस प्रदेश सरकारले गर्‍यो मन्त्रालयको नाम हेरफेर

डिसी नेपाल
१४ चैत २०७९ २२:४६
328
Shares

महेन्द्रनगर (धनुषा)। मधेस प्रदेश सरकारले मन्त्रालयको नाम हेरफेर गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली–२०७९ को अनुसूचीमा हेरफेर गर्दै प्रदेशका मन्त्रालयको नाम समायोजन गरेका छन्।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत मन्त्रालयको सङ्ख्या ११ नै यथावत् राख्दै मन्त्रालयको नाम हेरफेर तथा समायोजन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नुरहरि खतिवडाले बताए।

मन्त्रिपरिषद्को बैठकले केही मन्त्रालयको नाम हेरफेर तथा समायोजन गरिएको सचिव खतिवडाले जानकारी गराए।

सचिव खतिवडाका अनुसार नाम हेरफेर तथा समायोजन भए पनि प्रमाणीकरण हुन भने बाँकी रहेको बताए। अब यस प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय रहनेछन्।

केही मन्त्रालयको नाममा सुधार तथा समायोजन मात्र गरिएको बताउँदै मन्त्रालयको सङ्ख्या ११ नै कायम रहेको उनले जानकारी दिए। केही मन्त्रालयको नाम लामो र कामको प्रकृतिअनुसारको नाम सान्दर्भिकसमेत नदेखिएकोले हेरफेर तथा समायोजन गरिएको सचिव खतिवडाले बताए।

मधेस प्रदेशमा यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत अर्थ मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी तथा ऊर्जा विकास मन्त्रालय, कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय र शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयसहित ११ वटा मन्त्रालय थिए।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७९ खारेज गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.