बन्दीपुर केबलकारले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ !
काठमाडौँ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २५ लाख ८० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले सो आईपीओ जारी गर्नको लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। अब बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओ निष्कासनको कार्य नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्नेछ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्टबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकारका तर्फबाट अध्यक्ष रामचन्द्र शर्माले हस्ताक्षर गरेका छन्।
कूल रु तीन अर्ब ४९ करोड लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब पन्ध्र करोड छ। चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् रु चार करोड ३० लाख बराबरको साधारण सेयर परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ भने दश प्रतिशत अर्थात रु २१ करोड ५० लाख बराबरको शेयर सर्वसाधारणलाई छुट्याइने छ।
परियोजना निर्माण विसं २०७६ साउन ४ मा सुरु भएको थियो। कम्पनीले केबलकार, पाँच तारे होटल, जीप लाइन, बन्जी जम्प, क्यान्टि लिभर सहितको सिसाको पुल, क्विन टावर लगायतका पूर्वाधार निर्माण गर्दैछ।
कम्पनीले विसं २०८० वैशाख २५ गते केबलकार सञ्चालनका लागि परीक्षण गर्ने तयारी थालेको छ भने पाँच तारे होटल आगामी मङ्सिरमा सञ्चालन गर्ने कम्पनीको तयारी छ। बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गादेखि बरालथोकसम्म पुग्छ। केवलकार एक किलोमिटर लम्बाइको हुनेछ।







डिसी नेपाल







Facebook Comment