कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा
काठमाडौं। नेपाली कांग्रेसका युवा नेता अर्थविद डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन्।
वाग्लेले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका छन्।
‘अब कांग्रेस(कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरूवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’, उनले सामाजिक सञ्जालमा पार्टी छाडेको घोषणा गर्दै लेखेका छन्।
वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गर्न लागेको चर्चा ब्याप्त छ। उनले रास्वपामा प्रवेश गरेर तनहुँ १ मा उम्मेदवारी दिने चर्चा राजनीतिक बजारमा चुलिएको छ।
उनको रास्वपा प्रवेशको चर्चासँगै नेपाली कांग्रेसले रोक्न आन्तरिक गृहकार्य समेत गरिएको थियो। कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले रास्वपा प्रवेश गर्न नदिन उनीसँग छलफल समेत गरेका थिए।
कांग्रेसका महामन्त्री थापा निकट मानिने वाग्ले निर्वाचनमा कांग्रेसको घोषणापत्र लेखन समितिमा रहेर काम गरिसकेका हुन्। गएको निर्वाचनमा कांग्रेसबाट चितवनबाट उम्मेदवारीको आकांक्षा ब्यक्त गरेका उनले चुनवामा टिकट पाउन सकेनन्।
सोही कारणले यसपाली तनहुँ–१ मा यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा रास्वपामा प्रवेश गरेर उम्मेदवारी दिन लागेको बताइएको छ।
रास्वपाका प्रवक्ता मुकुल ढकालले वाग्लेसँग पार्टी प्रवेश र तनहुँ १ मा उम्मेदवारी दिनेबारे छलफल भइरहेको बताउँछन् । उनले केही दिनमै परिणाम आउनेमा विश्वस्त रहेको डिसी नेपाललाई बताए ।
‘आन्तरिक छलफल भइरहेको छ तर अझै परिणाम आइसकेको छैन,’ उनले भने,‘ केही दिनमा उहाँको उम्मेदवारी बारे निक्र्योल हुने सम्भावना प्रबल छ ।’
प्रवक्ता ढकालले वाग्लेसँग नियमित छलफल भइरहेको जानकारी दिए। उनले एक दुई दिनमै वाग्ले रास्वपामा प्रवेश गर्ने बारेमा यकिन हुने जिकिर गरे।







डिसी नेपाल







Facebook Comment