उपनिर्वाचनका लागि मतदाता नामावली सार्वजनिक, तनहुँमा घटे मतदाता
काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।
आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उपनिर्वाचनका लागि देशभर एक करोड ८० लाख एक हजार ५६६ मतदाता कायम भएको जानकारी दिए। जसमा पुरुष ९१ लाख ४९ हजार ३३५, महिला ८८ लाख ५२ हजार ४६ र अन्य १८५ जना छन्।
आयोगले आज (बिहीबार) उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरेको हो। वैशाख १० गते हुने उपनिर्वाचन हुने ३ क्षेत्र तनहुँ १, चितवन २ र बारा २ मा ३ लाख ५३ हजार २४८ जना मतदाताले मतदान गर्न पाउने भएका छन्।
तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा १ लाख २३ हजार ३०५, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा १ लाख २४ हजार ६९५ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा १ लाख ५ हजार २४८ मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार गत मंसिर ४ को निर्वाचनपछि चितवन क्षेत्र नं. २ मा ४७० जना मतदाता थपिएका छन्। बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २३७ जना थपिएका छन् भने तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा १८५ जना मतदाता घटेका छन्।
उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदानस्थल र ४२७ मतदान केन्द्र कायम भएको छ। सो अनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ८२ मतदानस्थलमा १३७ मतदान केन्द्र, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ४३ वटा मतदानस्थलमा १३८ मतदान केन्द्र र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएको छ।
उपचुनावलाई ध्यानमा राखेर चितवन जिल्लामा २०७९ फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा चैत ६ गतेदेखि लागू हुने गरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्ला दर्ता स्थगन गरिएको आयोगका प्रवक्ता पौड्यालले जानकारी दिए।
अन्य जिल्लामा भने मतदाता नामावली संकलन कार्य २०७९ माघ २ गतेदेखि यथावत जारी रहेको छ।








डिसी नेपाल







Facebook Comment