दुर्गा प्रसाईँको अभियानद्वारा चितवन-२ मा शम्भु थापालाई उठाउने, थापा भन्छन्- रविलाई हराएरै छाड्छु
काठमाडौं। दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान र हाम्रो नेपाली पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सहकार्य गर्ने भएका छन्। उनीहरुले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा सहकार्यका साथ सहभागी हुने जानकारी गराएका हुन्।
उनीहरुले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारसमेत घोषणा गरेका छ। चितवन–२ मा कालोमोसो अभियानका संयोजक शम्भु थापा, तनहुँ–१ मा विष्णु पराजुली, बारा– २ मा चन्द्रप्रकाश सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ। उपनिर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ।
उम्मेदवार घोषणा कार्यक्रममा सहभागी भएका शम्भु थापालाई नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँले टिकट दिँदै चुनावचिन्ह लौरौ पनि थमाए। त्यसैगरी राजनीतिको वैकल्पिक शक्ति अब आफूहरु बन्ने प्रसाईंले दाबी गरे।
प्रसाईँले प्रचण्ड र केपी ओलीले नागरिकहरुलाई धेरै ढाँटेको आरोप लगाए। अब प्रचण्ड, ओली, रवि र राजेन्द्र लिङ्देनबाट देशले निकास नपाउने उनको भनाई छ। केही आशा गरिएका लामिछाने र लिङ्देनपनि ‘उही पोखरीमा गएर हाम फालेको’ उनको आरोप छ।
‘प्रचण्डबाट पनि यो कुरा पार नलागिसकेपछि र प्रचण्डपनि त्यही ठाउँमा पुगिसकेपछि अब नयाँ पार्टी आउँछ भनेर रविजीको पर्खाइमा बसें। राजेन्द्र लिङ्देन दाईको पर्खाइमा बसेको थिएँ। उहाँहरु पनि त्यही ठाउँमा गएर हाम फालेपछि, त्यही पोखरीमा गएर हाम फालेपछि हामीले यो अभियान चलायौं। कालोमोसो दस्ता खोलेको यी भाई (शम्भु थापा)लाई लगेर थुनिदिए,’ उनले भने।
लघुवित्त, सहकारी र बैंकको कारण आज मान्छेहरु मिटरब्याजमा फसेको उनको आरोप छ। आफूले आवाज उठाएपछि त्यसको पक्षमा गगन थापा, रवि लामिछाने, माधवकुमार नेपाललगायतका मान्छेले आवाज उठाउन थालेको उनको दाबी छ।
प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग गरेको सम्झौता नपत्याउन र विश्वास नगर्न पनि उनले आग्रह गरे। आफूलाई प्रचण्ड र ओलीले आश्वासन दिएर बेवकुफ बनाएकोसमेत उनको आरोप छ।
‘हाम्रा सम्माननीय प्रधानमन्त्रीजी हिजो रुँदै गरेको ठाउँमा पर्खनुस् न पर्खनुस् म छु भन्दै हुनुहुन्थ्यो। तर, विश्वास नगर्नुस्, किन भने मलाई यस्तो…(चुतिया्र) बनाएको छ नी उहाँहरुले, बेवकुफ बनाएका छन्, उहाँ र केपी ओलीले,’ उनले भने।
साथै, राजनीति र व्यापार व्यवसाय आफूसँग सिक्न आउन पनि उनले केपी ओलीलाई आग्रह गरे। ‘केपी ओलीजी ऋण तिर्न सक्नेगरि लिनु नि भन्दै हुनुहुन्थ्यो। उहाँले विजनेस नै गरेको छैन। उहाँलाई राजनीति पनि गर्न आएन, विजनेस पनि गर्न आएन। राजनीति गर्ने हो भने मसँग सिक्न आउन्, देश कसरी चलाउनुपर्छ। व्यापार, व्यवसाय र राजनीति कसरी गर्नुपर्छ भन्ने कुरा मसँग सिक्न आए हुन्छ। हामी राजनीतिको पाठ सिकाउँछौं,’ प्रसाईँले भने।
हाम्रो नेपाली पार्टी (लौरो अभियान) का अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले सम्पूर्ण राष्ट्रवादी शक्तिहरु यो देशलाई बचाउन एकजुट हुनुपर्ने उनले बताए। रवि लामिछानेले चितवनका सोझा÷साझा र इमानदार नागरिकको मत बोरामा ल्याएर ‘तीन जना बा’ को पाउमा लम्पसार परेको उनको आरोप छ।
‘उहाँ (रवि)ले सोझासाझा जनताको मतलाई एउटा बोरामा ल्याउनुभयो। बोरामा ल्याएको मतलाई शेरबहादुर बा, केपी बा र नानीका बा’ को पाउमा लम्पसार परेर उहाँले जनताको मतलाई प्रस्तुत गर्नुभयो,’ उनले भने।
साथै, नागरिकता कायम छैन भन्ने थाहा हुँदाहुँदैपनि रविले ‘आईएम रवि’ भन्ने भावनाले जनताको माँझमा भ्रम सिर्जना गरेको उनको आरोप छ।
‘चितवनको जनता झुक्याएर उहाँले उपप्रधानमन्त्री लिनुभयो, विभिन्न मन्त्रीहरु लिनुभयो। त्यत्तिमात्रै गर्नुभएन, उहाँले सोझासाझा चितवनका जनताको मत लगेर आफूले गरेको गल्तीका त्रुटि सच्याउनका लागि साट्नुभयो। अहिले पनि उहाँले त्यही गर्नुभएको छ। रवि लामिछानेले मुकुटो लगाएर सोझासाझ जनतालाई भ्रममा पार्न खोज्नुभएको छ। हामी त्यसलाई पर्दाफास गर्नेछौं,’ उनले भने।
नागरिक बचाउ महाअभियान र हाम्रो नेपाली पार्टी (लौरो अभियान) बाट चितवन– २ मा साझा उम्मेदवार बनेका शम्भु थापाले रविले दुरुत्साहन मुद्दामा भिडले बचाएपछि अहिले सर्वोच्च अदालतलाई पनि च्यालेन्ज गरेको आरोप लगाए। उनी ‘आई एम रवि’ भन्ने भावनाले प्रस्तुत भएको उनले बताए।
‘चितवन–२ का उम्मेदवार ‘उहाँ दुरूत्साहनको मुद्दामा पर्नुभएको थियो। दुरुत्साहनको मुद्दामा असल केटो हो, बचाउनुपर्छ भनेर त्यहाँका विवेकशील नागरिकले अदालत घेराउ गरेर छुट्कारा दिए। नागरिकता छैन मलाई थाहा छ। तर यो भिडले, यो समाजले बचाउछ भनेर ‘आई एम रवि’ भनेर सर्वोच्च अदालतलाई पनि उहाँले च्यालेन्ज गर्नुभयो। आई एम रवि भन्ने कन्सेप्टले उहाँ जानुभयो,’ उनले भने।
रवि लामिछाने सांसद भएपछि उनले चितवनको गरिब नागरिकको पक्षमा काम नगरेको उनको आरोप छ। आगामी उपनिर्वाचनमा त्यहाँबाट आफू निर्वाचित हुनेमा कुनै शंका नरहेको उनको दाबी छ।
‘उहाँले कहिले पनि गरिबहरुको पक्षमा बोल्नुभएन। लघुवित्तको ज्यादतीको पक्षमा बोल्नुभएन। मेरो उम्मेदवारी उहाँहरुको पक्षमा हो। म त्यहाँबाट सांसद भएर जाँदैछु। यो कुरा प्रष्ट हुनुस्,’ उनले भने।
उनले आफूहरुको अभियानका संयोजक दुर्गा प्रसाईँलाई सिंहको संज्ञा दिए । आफूलाई भक्ति थापाको सन्तान भएको दाबी गर्दै उनले आफूलाई डमरुसँग तुलनासमेत गरे।
‘बाघ पाल्ने मान्छेले बाघलाई दाना हाल्न जान डराउनुहुँदैन। यस्ता रविहरु ७७ वटै जिल्लामा अब हामी जन्माउँछौं। तर, इमानदार रवि जन्माउँछौं। हामी दलाल रवि जन्माउँदैनौं। हामी फटाहा रवि जन्माउँदैनौं। हामी नानीका बा’को हुने रवि जन्माउँदैनौं। नानीका बा’हरुलाई अपहरण गरेर मत बेच्ने रवि हामी जन्माउँदैनौं। म भक्ति थापाको सन्तान हुँ। म डमरु हुँ। सिंहको हातमा पुगेको छु। यो देशको सिंह दुर्गा प्रसाईँ हो,’ उनले भने।







डिसी नेपाल







Facebook Comment