सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल, भोलि मन्त्रिपरिषद् विस्तार हुने
काठमाडौं। मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।
हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ वटा मन्त्रालयको समेत कार्यभार छ। तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरुप प्रधानमन्त्रीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन्।
बैठकमा कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललगायतको उपस्थिति रहेको प्रेसविज्ञ तिमिल्सिनाले जानकारी दिए।
सो अवसरमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका थिए। सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि सरकारको पूर्णता जरुरी रहेको भन्दै प्रधानमन्त्रीले सत्तारुढ दलका शीर्ष नेतालाई आग्रह गरेको बुझिएको छ।
काँग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन। काँग्रेसबाट थप चार मन्त्री र अन्य दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन्।
विवादको कारण नेपाली काँंग्रेसले थप मन्त्रीहरुको नाम पठाउन नसकिरहेको अवस्थामा नारायणप्रसाद एनपी साउद भने परराष्ट्र मन्त्री बन्ने भएका छन्।
देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको काँग्रेसका एक नेताले बताए। प्रधानमन्त्री प्रचण्डले साउदको नाम राष्ट्रपति कार्यालयलाई बुझाइसकेका छन्।
आइतबार ३ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई पद तथा गोपनीयताको सपथ दिलाउने कार्यक्रम पनि तय भइसकेको छ।
कांँग्रेसले अन्य मन्त्रीको नाम भने पछि पठाउने भएको छ। शेखर कोइराला र गगन थापा समूहले सरकारको सहभागितामा सम्मानजनक स्थान खोजेपछि काँग्रेसको तर्फबाट नाम पठाउन ढिलाई भएको हो।







डिसी नेपाल








Facebook Comment