निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौंः प्रधानमन्त्री प्रचण्ड
बारा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् ।
बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.२ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
उनले भने,‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धि काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र प्रवर्धन गरिनेछ। कोभिडको बेला बन्द भएको नाका सुचारू गरिनेछ। विद्युतीय सिंचाइँ प्रणालीमार्फत् सिंचाइँको व्यवस्था गरिनेछ। उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ।’
साथै उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव देश र संसदलाई चाहिने नेता भएकाले जिताउन आग्रह गरे ।
‘उपेन्द्र यादव देशको नेता हो, संसदका लागि चाहिने नेता हो’, प्रधानमन्त्रीले भने, ‘उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो। मधेशले मात्रै नभएर देशले जित्नु हो। संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो।’
सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.२ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाल लगायतले सम्बोधन गरेका थिए ।







डिसी नेपाल







Facebook Comment