बारा-२ मा बिहान ६ बजे बस्नेगरी सर्वदलीय बैठक स्थगित
बारा। बारा-२ मा सोमबार बिहान ६ बजे सर्वदलीय बैठक बस्ने भएको छ। सबै मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन गरेर मतगणना गरिने स्थान शिक्षा तालिम केन्द्र, कलैयामा ल्याइसकिएको छ।
सबै दलहरूले बिहान बैठक राख्न आग्रह गरेपछि आज सर्वदलीय बैठक नबसेको हो। भोलि बिहान ६ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जिल्लाको ६ वटा स्थानीय तहको ४४ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका थिए। उक्त मतदाताबाट ३७ हजार ६४ पुरुष र ३१ हजार ८ सय २३ महिला गरी ६८ हजार ८ सय ८७ मत खसेको छ।
उपनिर्वाचन शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन्। उपाध्यायले निर्वाचन क्षेत्रको कुनै पनि स्थानमा विवाद नभएको बताए।
उपाध्यायले विवादरहित ढंगले निर्वाचन सम्पन्न भएको बताएपनि केही मतदान केन्द्रमा भने विवादको स्थिती देखिएको थियो। देवताल गाँउपालिका ७ पिपरपाती जब्दी मतदान केन्द्रमा नक्कली मतपत्रसहित जनता समाजवादी पार्टीका नेता रामसागर यादव पक्राउ पर्दा केही समय मतदान रोकिन पुगेको थियो।
यादवले मत खसाल्ने क्रममा खल्तीबाट अर्को मतपत्र झिक्दै मतपेटिकामा खसाल्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए। उनलाई नियन्त्रणमा लिएलगत्तै जसपाका नेताकार्यकर्ताले विरोध जनाएका थिए। सो क्रममा केही समय विवादको स्थिती भएको थियो।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बारामा लगेको थियो। निर्वाचन सम्पन्न भएपछि यादवलाई रिहा गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
मतदानको क्रममा निर्वाचन क्षेत्रबाट अन्य तीन जना समेत पक्राउ परेका थिए। मतदान आचारसंहिता विपरित गतिविधि गरेको भन्दै प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरु समेत रिहा भएका छन्।
निर्वाचन क्षेत्रको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्रको केही मतदान केन्द्रमा विवाद भएको थियो। यस्तै महागढीमाई नगरपालिका वडा नम्बर २ को इनर्वास्थित मतदान केन्द्रमा भने मतदान अधिकृतले नै संचारकर्मीलाई मतदान केन्द्र परिसरमा प्रवेश गर्न रोक लगाएका थिए। त्यहि क्रममा त्यहा रहेका जसपाका नेता कार्यताहरुले संचारकर्मीहरुमाथी हुलहुज्जत गरि दुर्व्यवहार गरेका थिए।







डिसी नेपाल








Facebook Comment