तनहुँ-१ मा स्वर्णिमकाे फराकिलाे अग्रता कायमै
काठमाडाैं। तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।
पछिल्लाे मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो अग्रता फराकिलाे बनाउँदै लगेका छन्।
वाग्लेले १२ हजार ७ सय ५ मत पाएर अग्रता बढाइरहेका छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६ सय ४७ मतसहित पछ्याइरहेका छन्।
तेस्रो स्थानमा रहेको नेकपा एमालेका सवेन्द्र खनालले ४ हजार २ सय २० मत पाएका छन्।
हिजाे सम्पन निर्वाचनमा तनहुँ-१ मा ६३ हजार ७५७ मत खसेको थियो।
गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ।
यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ५२ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ।
भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन्। भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन्। त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ।
देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन्। देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन्। आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन्। बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन्। बन्दीपुरमा ११ मतदानस्थल र२२ मतदान केन्द्र छन्।
व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता छन्। व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन्।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो।
उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् ।







डिसी नेपाल








Facebook Comment