साहित्य

कथा : हुचिल र डायलेमाको मृत्यु

खेमराज पोखरेल
१३ जेठ २०८० ६:३७

बाजे मलाई भन्दै थिए, ‘तैँले जीवन चिनिनस् हौ केटा!’

बाजे मेरा साक्खै हजुरबा हुन्। मलाई सधैं कचकच गर्छन्। उनी कचकच गरिरहन्छन् म ‘कौन पुछे खेसडीका दाल’ भनिरहन्छु।

उनको सधैंसधैंको एउटै रटान, उनको कुराले ‘इरिटेट’ भएको हुन्छु म। बिनाबित्थामा दिमाग खल्बल्याइदिन्छन् बूढाले। तर दिमागभित्र यति प्रेसर पर्छ कि म सोचिरहेको छु। सोचिरहेको हुन्छु, खासमा ‘के हो जीवन?’

एकदिन अचम्म भयो। एकाबिहानै अचम्मको नौरङ्गी हुचिल मेरै बगैंचाको तित्रीको रुखमा बस्यो। आहा हुचिल! म रौसिएँ। कराएँ। र, चिच्याएँ, ‘हुचिल! हुचिल !! हुचिल !!! नौरङ्गी हुचिल।’

म कराएको सुनेर गाउँले मान्छेहरू भेला भए। मान्छेका हातमा लौरो, खुकुरी र बन्दुक थिए। मान्छेले भन्न थाले, ‘खोइ हुचिल?’

म हुचिलतिर औंला ठड्याएर देखाउन थालेँ। तर अचम्म! हुचिलले रूप फेर्यो र भयो उल्लु। एक छिनपछि त उल्लु पनि विलय भयो। र म गाउँका मान्छेका नजरमा भएँ ‘उल्लु’।

ऊ दिउँसो नदेख्ने राति मात्र देख्ने उल्लु थियो। म रतन्धो थिएँ। राति नदेख्ने दिउँसो मात्र देख्ने उल्लु थिएँ। क्या विडम्बना यार! कस्तो नमिलेको उसको र मेरो सान्निध्य।

हुचिल हावामा कावा खाँदै आउँथ्यो। आइरहन्थ्यो। एकान्त पर्यो कि आइहाल्थ्यो। म मान्छेलाई देखाउन खोज्थेँ। ऊ पुनः उल्लु भइहाल्थ्यो। यसरी ऊजस्तै म पनि लगातार उल्लु भइरहेँ। हुँदाहुँदा ऊ आएको सूचना नै दिनछाडेँ। बाघ आयो, बाघ आयो भन्ने लोककथाको पात्रजस्तो भएँ म।

एक दिन बिहानीपख ऊ वेगवान् गतिले हुत्तिएर आयो। नडराई मेरै समीपमा बस्यो। मैले यसपटक हल्ला गरिनँ। बरु उसलाई बेस्कन गाली गरेँ। लौरो टिपेर झटारो हान्न थालेँ। ऊ मेरो झटारो छल्दै झन् हाँस्न थाल्यो।

अनि मैले गाली गरेर भनेँ, ‘साले असत्ती आफू रूप फेरेर उल्लु बन्छस्। अनि मलाई मान्छेका सामुन्ने ‘उल्लु’ बनाउँछस्। मैले तेरो कुनचाहिँ तोरीबारी फाँडेको थिएँ ए पापी हुचिल!’

ऊ हाँस्यो। लबस्तरो हँसाइ हाँसिरह्यो। अनि भन्यो-‘न रिसा न मनुवा। म स्वर्गबाट आएको हुँ। जसलाई पायो त्यसलाई देखाउनु मेरो दिव्य रूप? तँसँग पो मेरो दोस्ती भएको छ। किनभने तैले जीवन बुझ्न खोज्दैछस्। अक्सर भेडामान्छेहरूले कहाँ जीवन बुझ्न खोज्छन् र?, आफूअनुकुलको व्याख्या गर्छन् जीवनको। कम्तीमा तँ त जीवन बुझ्न खोज्दै छस् नि त। त्यसैले तँ मेरो यार होस्।’

‘उइस् गफाडी, स्वर्ग पुगेपछि पनि कोही यो कहालीलाग्दो मत्र्यमण्डलमा झर्ला? कल्पवृक्ष उतै छ, मनचिन्ते व्यवस्था उतै छ। अप्सरा उतै छन्। सोमरस उतै छ। जा मैले पत्याइनँ।’ मैले शंशय व्यक्त गरेँ।

उसले मैले भनेको कुरा सुन्दै सुनेन। बरु आफैँ एकनासले नेता बोलेजस्तो बोलिरह्यो । खासमा ऊ मलाई कन्भिन्स गर्न चाहन्थ्यो। भन्दै थियो, ‘म साँचो बोलेको अपराधमा स्वर्गबाट निकालिएको हुँ। स्वर्गबाट निकाला भएको हुँ। बुझिस् मनुवा, पापी छ स्वर्ग। चाकरी चाप्लुसी खोज्छ स्वर्गले। खाने खाइरहेका छन् अमृत। पावरफुललाई छ कल्पवृक्ष, शासकजनलाई छ मनचिन्ते व्यवस्था। तर निमुखा, ‘फ्री’ मा काम गर्छन्। फ्रिज हुन्छन्। अमृतको आशामा सधैं अतृप्त छन्। अप्सराले आफ्नो यौवन पनि भन्न पाउँदैनन्। दिनदहाडै ‘रेप’ हुन्छन्। शताब्दी बितिसके, स्वर्ग सप्रेन। मैले समानताका लागि विद्रोह गरेँ। स्वतत्रताका लागि जेहाद छेडेँ। अनि म निकाला भएँ। स्वर्ग निकाला! बुझिस् मनुवा?’

यस्तो सुनेर म ट्वाँ परेँ। अनि भनेँ, ‘गफाडीमाको राजा रहेछस् तँ। स्वर्गका गफ लाउँछस्? हाम्रै मत्र्यमण्डल पनि त पापी छ। चाकरी चाप्लुसी खोज्छ। यहाँ पनि खानेले डकार आउन्जेल खाइरहेका छन्। पावरफुललाई जताततै मालामाल छ। शासकजनलाई छ मनचिन्ते व्यवस्था। देखवटी लुछाचुँडी गर्छन्। तर मिलीमिली लुछिरहेका छन्। निमुखाजन हातमुख जोर्न वैदेशिक रोजगारीमा पुगेका छन्। वैदेशिक रोजगारीमा नपुग्नेको झन् बिजोग छ। ती ‘फ्री’ मा काम गर्छन्। तैँले भनेँ झैँ फ्रिज हुन्छन्। केही झर्ला र खाऊँला भनेर आसैआसमा सधैं अतृप्त छन्। छोरीचेलीले आफ्नो यौवन पनि भन्न पाउँदैनन्। दिनदहाडै ‘रेप’ हुन्छन्। शताब्दी बितिसके। व्यवस्था फेरिइसके, तर समस्या ज्यूँका त्यूँ छन्। यो मत्र्यमण्डल पनि झन् सप्रेन। समानताका लागि विद्रोह गरिस् भने दश लाखे सहिद हुन्छस्। स्वतत्रताका लागि साँच्चै जेहाद छेडिस् भने यहाँ त मारिन्छस्। मारिइनस् भने निकाला हुन्छस्। बुझिस् नौटङ्की हुचिल?’

ऊ बोल्दै थियो, ‘मत्र्य, स्वर्ग र पाताल वा यसो भनूँ तीन लोक, चौध भुवन म कावा खाँदै घुमेको छु। कुरा बुझिस् मनुवा? यी सबै एउटै वाइह्यात कारिगरले बनाएको हो। एउटै सामग्रीले बनाएको हो। एउटै कुबुद्धिले बनाएको हो।’

म ठानिरहेको थिएँ कि यो हुचिल पागल छ। ‘गुहु गोबर’ एकै देख्छ। तर बोलेको थिइनँ।

ऊ त अन्तर्यामी निस्कियो। भन्न थाल्यो- ‘परफेक्टली बुझ्यौ मनुवा, यथार्थमा गुहु-गोबर हो र गोबर नै गुहु हो। बुझाइ मात्र फरक हो। नाम मात्र फरक हो। यी दुवै हगाइ एउटै प्रक्रियाले बनेका हुन्।’

हुचिलले भन्यो, ‘मनुवा! म तिमीलाई अर्काको मन जस्ताको तस्तै पढ्न सक्ने शक्ति दिन्छु।’

हुचिल त उडेर गयो। हुचिलका कुराले मेरो मथिङ्गल हुँडलियो। आफ्ना सुसेधन्दाले आफैंलाई कोसेर सिध्याउन आँटे मलाई। म भित्रभित्र कोत्रिइरहेको छु।

मेरी पूर्वगर्लफ्रेन्ड देखा परी। भन्न थाली, ‘त्यति धेरैपल्ट सहवास गर्‍याैं  हामीले। न तिमीले मसँग कुनै डिमान्ड गर्‍याै, न मैले। कस्तो स्वर्गजस्तो थियो हगि हाम्रो सम्बन्ध। किन हामी सधैं एक हुन सकेनौँ प्रिय?’

म हुँडलिएर नै थोत्रे सोफामा पल्टिएको थिएँ। मेरी पूर्वगर्लफ्रेन्ड देखा परी। भन्न थाली, ‘त्यति धेरैपल्ट सहवास गर्यौँ हामीले। न तिमीले मसँग कुनै डिमान्ड गर्‍याै न मैले। कस्तो स्वर्गजस्तो थियो हगि हाम्रो सम्बन्ध। किन हामी सधैं एक हुन सकेनौँ प्रिय?’

‘त्यो कुरा बित्यो। अब म परिवारभित्र छु। त्यो कुरा नसम्झाऊ। अहिले मेरी कर्कसा श्रीमती आइपुग्छे। अनि झन् भाँडभैलो हुन्छ। बरु तिमी जाऊ अहिले।’ मैले भनेँ।

ग्र्लफ्रेन्डले भनी, ‘म आकारमा कहाँ छु र प्रिय?, तिमी तल्लो जातका हौ रे। म माथिल्लो जातकी हुँ रे। तिमीसँगको सहवासको कुराले मेरो घरका मान्छेको परिवेशमा आगो लाग्यो। अनि आफ्नो इज्जत जोगाउन मट्टीतेल छर्किएर डढाएर मलाई मारे नि। त्यसैले सशरीर तिम्री हुन नपाए पनि मेरो आत्मा तिम्रै वरिपरि नै घुम्दै छ। घुमिरहन्छ। र, यसै मौकामा तिमीसँग यसो बोलेको नि। तिमी ढुक्क होऊ। तिम्री श्रीमतीले मलाई देख्दिनन्। मलाई सुन्न पनि सक्दिनन्।’

‘के एक्लै बर्बराइरहनु भएको हो हँ तपाईँ?, संसारमा काम नलाग्ने मान्छे कसैले खोज्यो भने म तपाईँलाई देखाइदिन्छु। यस्तो टोक्ने न बोक्ने मान्छेसँग कसरी जुनी बिताउने होला हे भगवान्।’ श्रीमती कराउँदै भित्र पसी।

म मारिएकी मेरै गर्लफ्रेन्डको आत्मावचन र श्रीमतीका ‘अनसोल्भ्ड अल्टिमेटम’ हरूका चक्करमा घुम्न थालेँ। पुराना कुरा ‘फ्ल्यासब्याक’ भए। अल्टिमेटमका सहस्र लिस्टहरूको घनचक्करमा जीवन लत्रिइरहेको थियो मेरो। हुचिलले सुनाएको गुहु र गोबरको कुरा दिमागमा आयो।

गुहु नै हो भन्ने ठानी अल्टिमेटमका सहस्र लिस्टका सर्तलाई सतीदेवीसँगै दक्षप्रजापतिका अग्नियज्ञमा दाहसंस्कार गर्न उचित लाग्यो। परिणाम, सम्बन्ध खरानी हुनेवाला थियो। सोचँे, हद्द भए नदीका दुई किनारा होला, कहिले पनि नभेटिऊँला। आहा परिणामको कल्पनाले मात्र पनि ममा ‘एक्साइटमेन्ट’ बढायो।

तर यथार्थमा त श्रीमतीले बार्गेनिङ् गरिरहेकै थिई। उसको मन पढिरहेको थिएँ म, ‘म तिम्रो छोराकी आमा हुँ। मेरो भावनालाई दागबत्ती दियौ भने तिमीलाई छोराले ‘टेन्सन’ दिने छ। समाजले तिमीलाई टेन्सन दिने छ। तिम्रो जीवनले नै तिमीलाई पनि दिने छ । त्यो टेन्सनमा न तिमी मजाले निदाउन सक्ने छौ । न तिमीलाई शान्ति हुनेछ।’

श्रीमतीको मामलामा म ‘केयरलेस’ हुँदैथिएँ। याने कि च्याप्टर क्लोज हुनै आँटेको थियो, छोरो देखापर्‍याे। ऊ मसँग नबोली नबोली दायित्व सिकाउँदै थियो। उसले मलाई पटकपटक संकेतले भन्ने गरेको छ, ‘ए बाउ, तिम्रा रमाइलाका लागि मलाई जन्मायौ। नजन्मन म रोएँ। चिच्याएँ। तर तिमीहरूले उभिन्डो पारेर पनि निकालिछाड्यौ मलाई। तिम्रा स्वार्थका कारण म यो भुमरीमा परेँ। यो मायावी भवसागरमा न डुब्नु न उत्रनुको दोसाँधमा अभिषप्त बाँचिरहको छु। यसको क्षतिपूर्ति तिमीले तिर्नैपर्छ। तिमीले मेरो बोझिलो दायित्व बोकि नै रहनुपर्छ। तिमी प्रताडित भइ नै रहनुपर्छ । लोग्ने हुनाको दायित्व नबोकेर आमाको भावनालाई दागबत्ती दिएझैँ मलाई चितामा पुर्‍याउन सक्तैनौ तिमी।’

उसको संकेतले मलाई पिरोल्न थाल्छ। र पनि आफूलाई ‘रक हर्टेड’ बनाउँछु। मनमनै गाली गर्छु, ‘भुसतिघ्रे! मेरो सहारा हुन्छ कि भनेको त कुलाङ्घार नै पो हुनेभयो। न ढुङ्ग्रो, न पुङ्ग्रो।’

उसका यस्ता संकेतले म हजारपल्ट स्खलित भएको छु। अनि मेराअगाडि ठिंग उभिएको छ आफ्नै बाउको कृशकाय शरीर। बाउ बोल्थेनन् तर नजरले अथ्र्याउँथे, ‘नाथु, मैले मेरा बूढा बाउको हेरचाह गरिरहेकै छु। म पनि जमानामा तँजस्तै हट्टाकट्टा थिएँ। तेरा हजुरबाउका, हजुरआमाका, तेरी आमाका, तेरा, तेरा भाइबैनीका र आफन्तका शरीरमा रगतमासु हाल्दाहाल्दै रित्तिएँ र पो त अहिले कृशकाय भएँ। कुरो बुझिस्?’

यी कुराले म ‘अनरेस्ट’ भएर पारि आकाशमा हेर्नथालेको छु। एकातिर नीलो आकाश थियो। अर्कोतिर बादलमा घामका डढेला डामहरू थिए। कतै तितरु बादलहरू पनि थिए। जूनको सिँयाल ताप्न निस्केका जोडी आस्थाहरू शीतलताको आसमा झुन्डिएका थिए। म किंकत्र्तव्यमूढ हुन्छु। सोचिरहन्छु बाजे ठिक कि बाउ ठिक? म ठिक कि श्रीमती ठिक? छोरो ठिक कि त्यो हुचिल ठिक?

त्यसैबेला बाजे मलाई कराउँछन्, ‘बिल्टौवा, जीवन चिनिनस् हौ केटा तैँले!’

रिस उठेर आयो। तर बोलिनँ। हजुरबासँग मुखमुखै लाग्न पनि भएन। परपर हेरेँ। हुचिल त मेरोसामुन्नेमा बसेर मेरै रमिता पो हेर्दै थियो। मेरो उछित्तो पो गम्दै थियो। केही बेरमा हुचिल मेरानजिकै आयो र मलाई भन्नथाल्यो, ‘जीवन बुझ्छु भनेर लागेको छस्। असम्भव छ यो जीवन बुझ्न।मान्छे जोगी भएर हिँडेको छ। तपस्या गरेको छ। सोचेको छ। तप गरेको छ। जप गरेको छ। पाएँ भनेको छ। पुस्तक लेखेको छ। छापेको छ। रोयल्टी थापेको छ। पिछलग्गु बनाएको छ। पिछलग्गु बनेको छ। जिन्दावाद, मूर्दावाद भनेको छ। तर जीवन? उफ जीवन जस्ताको त्यस्तै छ। जीवन ‘डायलेमा’ हो बुझिस् मनुवा। डायलेमा भनेको यताबाट हेरे पनि ठिक, उताबाट हेरे पनि ठिक।’

मेरो कन्पारा तातेर आयो। ‘गफ नगर ए पापी पंक्षी, हाम्रा यत्रा ऋषिमुनिले तपस्या गरेर ज्ञान प्राप्त गरेका छन्। जुनीजुनीका मोक्षबारे सविस्तार पत्ता लगाएका छन्। जिन्दगीका परिभाषा खुलाएका छन्। अठार पुराण सुन् ए हुचिल, तैँले पनि मोक्ष पाउँछस्। यतैको कुरा गर्छस् भने पनि हाम्रो नेपाली सरहदमा जन्मेका गौतम बुद्धको ज्ञानको संसारमा हराउन सक्छस्। अनुयायी भएर यतै रमाउन सक्छस्। बेवकुफ छस् तँ, भन्छस् जिन्दगी डायलेमा हो।’

ऊ पनि रिसायो। र, भन्यो, ‘भो त्यो पापी गौतम बुद्धको नाम नले मनुवा। उसले राज्य छोड्यो किनभने उसमा राज्य हाँक्ने सामथ्र्य थिएन। एक छिन यशोधरालाई सम्झी। उसको बैँसलाई सम्झी। मनुष्यको चोला व्यहोर्न नसकेर भागेको भगुवा हो त्यो। यशोधराको बैँसको पापी हो त्यो। छोरालाई जिउँदै टुहुरो बनायो त्यसले। र त उसको राज्य नै नास भयो। वंश नै नास भयो। कपिलवस्तु नै समाप्त भयो।’

ए बाबा, कस्तो खालको हुचिल हो यो। यसले त साँच्चै तीन लोक चौध भुवन जानेको रै’छ । घुमेको रै’छ।

मेरा हजुरबाको जीवन बुझ्ने सल्लाह यसलाई पनि थाह होला कि। मलाई बुझाइदिन्छ कि भन्ने लाग्यो। ‘हे पक्षी तिमी त तीन लोक चौध भुवन घुमेका रै’छौ। बुद्धदेखि आइन्सटाइनसम्म जानेका रै’छौ। हिन्दूदेखि इस्लामसम्म सबै पढेका रै’छौ। कृपा गरेर मलाई बताइदेऊ, ‘जीवन भनेको के हो?’ मैले नम्र भएर सोेधेँ।

मेरो प्रश्न सुनेर ऊ हाँस्नथाल्यो। अनि भन्नथाल्यो, ‘धूर्त मान्छे, आफूलाई अप्ठ्यारो पर्दा कस्तो मिठो बोली निकाल्छ अनि सर्दो पर्यो भने मलाई लात्तले हानेर निकाल्छ। र पनि सुन् म भनिदिन्छु, ‘जीवन भनेको डायलेमा हो। बुझ्नु भनेको भ्रम हो। भ्रमलाई साँचो भनेर हिँडेको छस् तँ त म के गरूँ?’

मैले पनि भनेँ, ‘यति त मलाई पनि थाहा छ नि, केही गाँठी कुरा भन न, पक्षीराज!’

उसले आफ्नो घाँटी तान्यो र यताउता हेर्दै फेरि भन्नथाल्यो, ‘हे मनुवा, तेरो हजुरबाउलाई पनि भ्रम छ कि उसले मात्र जीवन भोगेको छ। तर ऊ द्वैध चरित्रको छ। ऊ भन्ने बेलामा भन्छ, ‘नाति हत्कडी हुन्, पनाति ठिँगुरा, झ्यालखान हो धन’ र उत्ति नै बेला ऊ छोरानातिले बुढेसकालमा पाल्दैनन् कि भनेर चिन्तित हुन्छ। र तँलाई भन्छ ‘जीवन चिनिनस् हौ केटा!’

उफ् मलाई पसिना आउनथालेको थियो। कचकचे भए पनि मेरा प्रिय हजुरबालाई जेतेमेते भनेको मलाई चित्त बुझेको थिएन। तर पनि म चुप लागेँ। अब योबाट बाउ, स्वास्नी, छोराको कैरन झार्नु पर्‍याे  भन्ने मनसुवा आयो र शान्त भएर भने, ‘अनि मेरा बाउको मप्रतिको असन्तुष्टिचाहिँ के हो नि पक्षीराजै?’

उसलाई लाग्यो होला उसका कुरा म पत्याइरहेको छु। त्यसैले ऊ अलिकति रौसियो। अलिकति हौसियो। अनि भन्न थाल्यो, ‘तेरा बाउ बिचरा, नाम पनि गोवद्र्धन, काम पनि गोवद्र्धन र बुद्धि पनि गोवद्र्धन नै भएका मनुवा हुन्। उनका बाबुले जोरिदिएको सम्पत्ति छ। त्यही सम्पत्तिको जगेर्ना गर्न हम्मेहम्मे छ। कमिलालाई मुतको पहिरो भएको छ उनलाई। गाई पालेका छन्। खाँटी दूध खाएँ भन्ने पनि घमण्ड छ उनमा। आफ्नै बारीको फर्सीको मुन्टा टिपेर खाएकोमा उनी धाक लगाउँछन् र त्यही हो संसार भनिठान्छन्। उनी लिलिपुटियन साम्राज्यको एक लठुवा रैती हुन्। इनारभित्रको भ्यागुता हुन्। भोक्ता हुन्। उनी पनि ठूलो डायलेमामा बाँचेका छन्।’

‘अनि मेरी श्रीमतीको अल्टिमेटम?’ हतारहतार सोधेँ।

यो सुनेर उसले मेरो मगको पानी खोसेर जुठै खायो। मुख कुल्ला गरेझैँ मुखभित्र हल्लायो। गालगोल गर्यो। अनि मेरो पिकदानीमा पिच्च थुक्यो। उसको यस अतिक्रमणले मलाई हुनसम्मको रिस उठेको थियो। तर श्रीमतीको अभिषप्त डसाइबाट मुक्ति पाइन्छ कि भन्ने लालसा पलाएर आयो। अनि सहेँ। वज्र खपेर सहेँ।

उसले भन्यो, ‘तेरी श्रीमती र तँ दुवै डायलेमामा छौ। तेरी श्रीमतीलाई थाहा छ कि रात पर्नेबित्तिकै तँ उसको योनीको वरिपरि घुम्छस्। सो प्राप्तिका लागि तँ उसका सबै सर्तसहितका अल्टिमेटम मान्छस्। ऊ त तँसँग झन् बार्गेनिङ् गर्छे। एकप्रकारले भन्ने हो भने ‘बार्टर ट्रेड’ गर्छे। उसका लागि यो गजब मौका हो। तँ दुःखी हुन्छस्। तर फेरि तँसँग कुनै उपाय हुन्न। तँ निहुरमुन्टी न लाउँदै योनिभित्रै विलय हुन्छस्। तर तँ यतिबेला घरकी श्रीमती हुत्याएर परका सेता तिघ्रा सुमरूँला भन्ने ठानिरहेको हुन्छस्। किनकि तैले र तेरी पूर्वगर्लफ्रेन्डले मायाले बिनासर्त प्रेमभावमा सहवास गर्यौ। सम्भोग गर्यौ। तर त्यसको मूल्यका लागि तेरी पूर्वप्रेमिकाले ज्यान नै दिनु पर्यो। सम्झिन यार। अर्को जीवित गर्लफ्रेन्डको ताकमा छस् भने त्यो बाटो कति दूरुह छ भन्ने कुरा तँलाई पत्तै छैन। तेरो सर्वस्व खन्याइसक्दा पनि त्यो ब्ल्याकहोल भरिन्न। तृप्तता आउन्न। तैले यत्ति जाबो कुरा पनि बुझेको छैनस्। तेरोबारेमा यही डायलेमा हो।’

‘अनि श्रीमतीको?’ मेरो मूल प्रश्नको जवाफ उसले अझै दिएको थिएन।

‘ तेरी श्रीमतीमा सांस्कृतिक डायलेमा छ। ऊ सम्झन्छे कि उसले तेरो घर चलाएकी छे। उसले तेरो वंश चलाइदिएर तँलाई गुन लाएकी ठान्छे। उसले तँलाई यौन दिन्छे। तँ पाउँछस्। यो दिने र लिने सांस्कृतिक यौनव्यापार मनोविज्ञानले ऊ ग्रसित छे ऊ। दिएर ऊ व्यापार गरेको ठान्छे। व्यापार गरेपछि फाइदाको कुरो आइहाल्छ। त्यसैले उसले जीवनमा प्लस खोज्छे। डिमान्ड थप्छे। तँ माइनस महसुस गर्छस्। यो डायलेमाले जीवन थाहै नपाई स्वाहा हुन्छ।’

‘अनि नालायक छोरो?’ मैले हठात् प्रश्न गरेँ।

‘तेरो छोरो नयाँ युगको प्रतीक हो। ऊसँग नयाँ खाले अप्ठ्याराहरू छन्। ऊ सुन्दरी गर्लफ्रेन्ड राखेर बसेको छ। उसकी अहिलेकी गर्लफ्रेन्ड तेस्री हो। उसलाई केही फरक पर्दैन। उसका अगाडि नयाँनयाँ अवसरहरू पनि छन्। नयाँ चुनौतीहरू पनि छन्। नयाँ जिजीविषा छन्। जुन कुरो तिमीहरू बुझ्दैनौ। अनि ऊ विद्रोह बोल्छ। आनुपातिक यथार्थ बोल्छ। तर यथार्थ समाजलाई पच्दैन। अनि तिमीहरू नालायक भनिठान्छौ उसलाई। तर उसको यथार्थले पनि जीवन त चल्दैन। यो कुरा उसले धेरैपछि मात्र बुझ्छ, त्यतिबेला समय भड्किसकेको हुन्छ। त्यो बेला उसका लागि जीवनबोध ‘मरेपछि खा बाबै केरा’ हुन्छ। यो डायलेमा पालेर अहिलेको पुस्ता बसेको छ। त्यही पुस्ताको प्रतिनिधि हो तेरो छोरो।’

त्यसपछि हुचिल उडेर गयो। तर ममा एउटा डायलेमा याने कि भ्रमको कीला झन दह्रो बनाएर गयो। अब त मैले हजुरबाका गनगन पनि साँचो देख्नथालेको छु। बाबुको आस पनि जायज लाग्नथालेको छ। तत्क्षण छोरोलाई निक्खर आधुनिक देख्छु। श्रीमतीको अल्टिमेटम पनि ब्रह्मवाक्यझैँ लाग्नथालेको छ। श्रीमतीको चोलाको तुनोलाई परमार्थ बुझ्न/ठान्न थालेको छु। सोच्दासोच्दै म आफ्नै श्रीमतीभित्र एकाकार हुन्छु।

कस्तो आश्चर्य, खोइ मेरो स्वरूप? रन्किएर घरबाट बाहिर निस्कन्छु। चक्रपथमा नारायणगोपालको सालिकलाई दाहिने पारेर एक चक्कर लगाउँछु। धूवाँ र धुलोले कालो ढुंगाका नारायणगोपाललाई सेते चुनिलो बनाएको थियो। धुलिलो बनाएको थियो। यो चुनिलो र धुलिलो सत्य हो कि कालो ढुंगा सत्य हो।

डायलेमा जब्बर भएर आयो। देशलाई अरूले झैँ गाली गर्दै नाकमा मेडिकेटेड मास्क लगाएर हिँड्दै शंखपार्क पुगेँ। शंखपार्कभित्रका शिवलिंगलाई एकोहोरो हेरिरहेँ। लिंग सोझै योनिमा जाकिएर बसेको थियो। मान्छे त्यही योनि र लिंगको क्रीयालाई पूजा गर्दैथिए।

झन्डै साँझ पर्नथालेको थियो। युगल जोडी जीवनको सार्थकता खोज्न शंखपार्कका झ्याङमुनि जिप्टिँदै थिए। मनमनमा भनेँ, अहो यिनीहरू पनि त्यही उदाङ्गिएका तिघ्रालाई जीवन ठान्छन् होला। तिघ्राको घर्षणलाई लक्ष्य मान्छन् होला। सायद एकअर्कालाई तीन तारा झारिदिने वाचा गर्दै होलान्।

युगौँयुगसँगै बाँच्ने प्रण गर्दै होलान्। मैले आफ्ना कुर्कुरे बैँसका उच्छवासहरू सम्झिए। ‘थुइक्क जिन्दगी, जीवनको योभन्दा ठूलो डायलेमा के हुनसक्छ?’
‘बिल्टुवा भइस्। जीवन चिनिनस् हौ केटा तैँले।’ घर पुग्दा बाजे कचकच गरिरहेका थिए। र, मैले ‘डायलेमाको मृत्यु!’ अनुभव गरिरहेको थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *