सूर्य थापाले उठाए भारतीयसँगको भेटमा गंगाको सहभागीताबारे प्रश्न- छोरी महोदयाको कुन भूमिका छ?
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार र विदेश सचिवसँगको भेटमा छोरी गंगा दाहाललाई सहभागी गराएकोमा एमाले नेता सूर्य थापाले प्रश्न उठाएका छन् ।
चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री दाहालले बुधबार स्वकीय सचिव रहेकी छोरी गंगा दाहालसहित भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनय मोहन क्वात्रासँग भेट गरेका थिए ।
एमाले नेता थापाले सोही भेटवार्तामा प्रधानमन्त्रीले के हैसियतका आधारमा छोरी गंगा दाहाललाई सहभागी गराइएको हो ? भन्दै प्रश्न गरेका हुन्।
उनले सामाजिक सञ्जालमा उक्त तस्बिर शेयर गर्दै छोरी गंगा दाहालको भेटमा सहभागीता बारे प्रश्न गर्दै लेखेका छन्, ‘भारतीय भूतपूर्व बुहारी भएको हैसियत र क्षमताको कारण हो परराष्ट्र मन्त्रालयका उच्च अधिकारीलाई विस्थापित गरेको उहाँले ?’
प्रधानमन्त्रीको स्वकिय सचिवसमेत रहेकी प्रचण्ड पुत्री दाहालको पहिलो बिहे एक नेपालीमूलका भारतीयसँग भएको थियो । तर अहिले उनले कोशी प्रदेशका मन्त्री रहेका जीवन आचायसँग दोस्रो बिहे गरेकाले थापाले भूतपूर्व बुहारीको हैसियतले भेटमा सहभागी गराइएको हो ? भन्दै व्यंग्यपरक टिप्पणी गरेका हुन्।
प्रधानमन्त्रीको उक्त भेटमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुपर्नेमा छोरी गंगाको उपस्थितिलाई लिएर नेता थापाले यस्तै कारणले भारतसँगको कूटनीतिक दाउपेचमा निहुरिनुपर्ने अवस्था आउने उल्लेख गरेका छन् ।
उनले माओवादी नेताहरुका छोराहरुको भूमिका यस अघि नै देखि सकिएको बताउँदै प्रचण्ड पुत्री दाहालको भूमिकाबारे प्रश्न गरेका छन् ।
‘माओवादी पृष्ठभूमिका नेताहरूका केही स्वनामधन्य छोराहरूको भुमिका देखिएकै थियोे।’ थापाले अगाडि लेखेका छन्, ‘भ्रष्ट कूलीनतन्त्रमा छोरी महोदयाको कुन भुमिका छ? नयाँदिल्लीमा स्पष्ट भएको छ। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको भेट; हातमा न डायरी छ न त कलम, किन होला गजधम्म त्यहाँ ?’







डिसी नेपाल








Facebook Comment