बाबुरामलाई फकाउँदै वर्षमान

डिसी नेपाल
६ असार २०८० १२:५६
1.5k
Shares

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई समाजवादी मोर्चामा सहभागी नगराएपछि रुष्ट बनेका छन्।

समाजवादी मोर्चा निर्माणको चर्चाको सुरुवाती चरणमै यसको अवधारणा अनुरुप गृहकार्य गरिरहेका भट्टराईलार्ई अन्तिम समयमा चार दलीय समाजवादी मोर्चामा सहभागी नगराएपछि उनी सत्ता गठबन्धनका घटकप्रति असन्तुष्टी व्यक्त गरिरहेका छन्।

उनले सामाजिक सञ्जालमार्फत सत्ता राजनीतिको जोड घटाउका लागि मोर्चा बनेको भन्दै सार्वजनिक टिप्पणी गरिरहेका छन्।

उनले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति गएको चुनावमा उदार बन्दै आफ्नो निर्वाचन क्षेत्र नै उनलाई सुम्पिएका थिए। तर उनै प्रधानमन्त्री दाहालले भट्टराईलाई मोर्चामा सहभागी गराउन अनुदार रहेको बताइन्छ।

संसदीय अंकगणितको आधारमा उपेन्द्र यादवको जसपालाई सहभागी गराउँदा सत्ता गठबन्धनमा बार्गेनिङ पावर बढाउन सजिलो हुने मनशायले बाबुरामलाई भन्दा उपेन्द्र यादवको पार्टीलाई प्राथमिकता दिएर मोर्चामा समाबेश गराइएको स्रोत बताउँछ।

उपेन्द्र यादवले बाबुरामको नेसपालाई अलगै दलको हैसियतमा स्वीकार गर्न तयार नभएपछि उनी समाजवादी मोर्चामा सहभागी भएनन्। उनले माओवादी केन्द्रकै हिस्सा भएको बताउँदै माओवादीकै निर्वाचन चिन्ह लिएर चुनावमा होमिएकाले अलगै दलको रुपमा स्वीकार्न तयार नभएकाले बाबुरामलाई सहभागी गराउन नहुने अडान राखेका थिए।

केही समय अघि सम्म एउटै पार्टीमा रहेका बाबुराम उपेन्द्रबीच पार्टी विभाजन भएर अलग बनेपछि विगतको तिक्तता हालसममै कायमै रहेको बताइन्छ। सोही उपेन्द्रको अडानकै अगाडि निरीह बन्दै प्रधानमन्त्री दाहालले मोर्चामा बाबुरामलाई सहभागी बनाउन सकेनन्।

संसदीय राजनीति भन्दा बाहिरै रहेका पूर्वसहकर्मी विप्लवलाई भित्र्याएर बाबुरामलाई बाहिरै राखेर समाजवादी मोर्चा गठन गरिनुमा उपेन्द्रकै अवरोधले मुख्य भूमिका खेलेको बताइन्छ।

गत निर्वाचनमा चुनावी क्षेत्रको अभावमा रनभुल्लमा परेका प्रचण्डलाई बाबुरामले गोरखा २ दिएर राजनीतिक रुपमा उद्धार गरेका थिए। तर यसको बदलामा आफैंलाई उपेक्षा गरेपछि बाबुराम रुष्ट भएर बसेका छन्।

बाबुरामले संसदमा रहेका दलहरु नागरिक उन्मुक्ति, जनमत र प्रभु शाहको आम जनता पार्टी लगायतलाई समेट्दै नयाँ मोर्चा गठनको तयारी थालेपछि  माओवादीका उपमहासचिव वर्षमान पुनले उनीसँग भेटवार्ता गर्न लागेका छन्। बुधबार दिउँसो २ बजे बाबुरामकै निवास टोखामा पुगेर पुनले भेटवार्ता गर्न लागेका हुन्।

स्रोतका अनुसार समाजवादी मोर्चामा सहभागी नगराएरै गरिएको उपेक्षाप्रति बाबुरामले वर्षमानसँग भेट गरेर गुनासो गर्न चाहेका थिए। उनको भेट गर्ने आकांक्षा अनुरुप वर्षमान बाबुरामलाई भेट्न उनकै निवासमा जान लागेका हुन् ।संसदको बैठक सकाएर वर्षमान टोखा पुगेर भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतको दाबी छ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.