बोलीमा मात्रै मिठा किन हुन्छन् कम्युनिस्टहरू?

पूर्ण ओली
२५ साउन २०८० १०:५६
328
Shares

कम्युनिष्टहरुले जातभात मान्दैनन्। धर्म मान्दैनन्। गरिब र धनी सबैलाई समान बनाउँछन्। साधारण लवाइखुवाइ गर्दै उच्च सोच बिचार राख्छन्। देश र गरिब जनताको अगाध माया गर्छन्। राष्ट्रियतामा कहिले सम्झौता गर्दैनन्।

राष्ट्रलाई आत्मनिर्भर बनाउँदै स्वाभिमानका साथ अघि बढ्छन्। किसान र मजदुरको हित हुने काम मात्र गर्छन्। जनताको हितमा मात्र गर्ने र आफ्नो नाममा कुनै सम्पति राख्दैनन्।

सधैंभरि किसान र श्रमिक बर्गसँगै बसेर काम गर्ने गर्छन्। आफू नैतिकवान बन्दै कडा अनुशासनमा बस्ने गर्छन् भन्ने भनाइ जनतामा पारिएको थियो। त्यो सबै भ्रममात्र रहेको यथार्थ अब सबैमा प्रष्ट हुँदै आएको छ।

माओवादी अध्यक्ष प्रचण्डले कम्युनिष्टका हावादारी नारा र मिठो सपना बाँडेर धेरैलाई कम्युनिष्ट बनाए। अनि कडा अनुशासनमा राखेर राज्य बिरुद्ध बिद्रोह गर्न उक्साए। सबभन्दा पहिला रोल्पा रुकुमका गरिब र अशिक्षित मगर जातिलाई यस द्वन्द्वमा फसाए।

कुनै बिशेष दल, धर्म, बर्गका निहत्था ब्यक्तिको हत्या गराएर सामाजिक द्वन्द्व सुरु गरे। आफैं ब्राम्हण जातिको भएर बाहुन जातिको बिरुद्ध आन्दोलन अघि बढाए।

सबै जातजाति मिलेर एउटै गाउँ समाजमा आत्मीयपूर्बक बसेका नेपालीलाई जातीयताको नाममा आन्तरिक द्वन्द्वको बिजारोपण गरे। अझैपनि केही प्रदेशमा जातीयताको नारा घन्की रहेको छ। यो जातीयताको नारामा माओवादीको समर्थन भएको देखिन्छ।

कम्युनिष्टलाई सत्तामा जान अमूल्य मत दिएर जिताउने जनतालाई पूरा बिर्सिएर कम्युनिष्ट भनाउँदाहरु शिर्फ आफ्ना परिवार र आसेपासेलाई मात्र अबसर दिइरहेका छन्। संबैधानिक तथा बिभिन्न महत्वपूर्ण नियुक्ति पनि मोलमोलाई गरि बेच्ने काम गरिरहेको देखिन्छ।

सनातन देखिको परम्परा संस्कृति मानेर आएका सबै धर्मालम्बीको बिरुद्ध द्वन्द्व सुरु गर्न हिन्दु धर्मको विरुद्ध जेहाद छेड्दै क्रिश्चियन धर्मलाई प्रोत्साहन गर्न थालियो। जसले गर्दा एउटा परिवार भित्र पनि बिभिन्न धर्म भइदिँदा परिवारको सद्भाव भाँडिन थाल्यो।

नेपालका हिन्दु मन्दिरको तोडफोड गर्न लगाउने प्रचण्डले भारत भ्रमणमा नरेन्द्र मोदीको आदेशमा दक्षिण भारतको महांकाल मन्दिरमा धोती लगाएर पूजा गरे।

भारतीय बिस्तारबादी र अमेरिकन साम्राज्यबादी भनेर नारा जुलुर र तोडफोड गर्ने कम्युनिष्ट आज उनै भारत र अमेरिकाको हितमा मात्र काम गर्ने किन भए? प्रधानमन्त्री भएपछि पहिलो बिदेश भ्रमण भारत नै जान्छु भनेर कबुल गर्ने प्रचण्ड भारतको निगाह भएपछि भारत गए।

त्यहाँ उनले नेपालको हितमा ठोसरुपमा बोल्न सकेनन्। त्यसपछि अर्को छिमेकि मित्र राष्ट्र चीन जानु पर्नेमा अहिले अमेरिका पहिला कि चीन पहिला भनी हल्ला गरिरहेका छन्।

यो चीन प्रतिको बेवास्ता हो। जसले गर्दा दीर्घकालमा नेपालको हित गर्दैन। नेपाली युवाहरु भारतीय सेनामा भर्ना भएर हाम्रा छिमेकी देश चीन र पाकिस्तानसँग युद्ध गरिरहेका छन्।

बिदेशी भर्तीकेन्द्र बन्द गराउन आन्दोलन गर्ने प्रचण्ड तीन पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले यस बिषयमा कहिले कुनै देशसँग बार्ता गरिएको सुनिएन। नेपालको संसदमा यस बिषयमा न कहिल्यै बहस चलाइयो।

पहिला भारतीय र बेलायती सेनामा मात्र भर्ना हुन जाने नेपाली युवा अहिले युद्ध भइरहेका युक्रेन र रसियन सेनामा भर्ना हुन थालिसकेका छन्। यसलाई रोकथाम गर्ने कुनै पहल सरकारले गरेको छैन।

बेरोजगार युवाहरुलाई स्वदेशमा रोकेर राख्ने रोजगार दिनेतर्फ कुनै ठोस कार्यक्रम र योजना सरकारले दिन सकेको छैन। सरकारी शिक्षण संस्थामा गुंणस्तरीय शिक्षा नियमित रुपमा गराउन सकेको भए धेरै बिद्यार्थी स्वदेशमा बस्ने थिए।

बिश्वबिद्यालय लगायत सामुदायिक शिक्षण संस्थाहरुमा राजनीतिकरण गरेर अनुशासनहिनता बढेपछि शिक्षाको गुणस्तरमा धेरै गिरावट आइसकेको छ। जस्को कारण राम्रो शिक्षा लिन बिद्यार्थी बिदेशीन बाध्य भएका छन्।

स्वदेशमा रोजगार गर्न नपाएर युवाहरु बिदेशका फ्याक्ट्रीमा पसिना बगाउन जान बाध्य भएका छन्। कृषकका खेतबारी सिचाईंको अभावमा बाँझो भइरहने र उत्पादित सामान पनि बजार पुग्न सक्दैनन्। पुगिहाले पनि भारतीय सस्तो खाद्यान्न र तरकारीसँग प्रतिस्पर्दा गर्न नसकेर बिक्री हुन पाउँदैनन्।

अहिले किसानको एउटै भनाइ छ कमसेकम नेपालमा उत्पादन हुने खाद्यान्न तथा तरकारी फलफूललाई प्रोत्साहन गर्न बिदेशबाट आउने यस्ता बस्तुको आयतमा प्रतिबन्ध लगाइयोस् या कढाइ गरियोस्। यति गरेमात्र पनि नेपाली किसानका उत्पादनले बजार पाउने थियो।

कम्युनिष्ट सरकारले कहाँनेर गरिब किसान र श्रमिक बर्गको हित हेर्‍यो? कम्युनिष्टहरु सत्तामा पुगेपछि जनतासँग गरेको बाचालाई बिर्सेर शिर्फ दलाल र पुँजीपति व्यापारी बर्गको हितमा मात्र तल्लीन भएको कुरा अहिले प्रष्टरुपमा देखिएको छ।

कुनै दिन बर्ग शत्रु सफाय गर्ने भनि धनी र पुँजीपतिलाई मार्न सुरु गरेका झापाली कम्युनिष्ट अहिले किसान र श्रमिक बर्गलाई पूरा बेवास्ता गर्दै दलाल पुँजीपतिका सेवामा तल्लीन देखिएका छन्।

यसमा एमाले, माओबादी मात्र होइन अरु ठूला भनिएका कम्युनिष्ट पनि दलाल पुँजीपति ब्यापारीको सेवामा लागेर गरिब जनतालाई अरु गरिब बनाइरहेका छन्। आज गरिब जनताले समयमा उपचार पाउन नसकेर मृत्यु अंगाल्न बाध्य छन्।

सत्तामा भएका कम्युनिष्ट महँगा अस्पताल, नर्सिङ होमदेखि बिदेश उपचारको सहुलियत पाइरहेका छन्। यही हो गरिब जनताको सेवा? त्यही भएर इमान्दार युवाहरु स्वदेशमा बस्न नसकेर खाडीमा रगत पसिना बगाउन बाध्य भइरहेका छन्।

कम्युनिष्टलाई सत्तामा जान अमूल्य मत दिएर जिताउने जनतालाई पूरा बिर्सिएर कम्युनिष्ट भनाउँदाहरु शिर्फ आफ्ना परिवार र आसेपासेलाई मात्र अबसर दिइरहेका छन्। संबैधानिक तथा बिभिन्न महत्वपूर्ण नियुक्ति पनि मोलमोलाई गरि बेच्ने काम गरिरहेको देखिन्छ।

अहिले देशमा ठूला ठूला भ्रष्टाचार काण्डका छानविन भइरहेका छन्। त्यसमा भरिया र साधरण मानिस मात्र पक्राउ परिरहेका छन्। ठूला दलका ठूला नेताहरुको नाम जोडिए पनि उनीहरुलाई सोधपुछ समेत गरिएको छैन। अनि कसरी गरिब जनताको हित गर्छ कम्युनिष्टहरुले?

यसको मतलब नेपाली काँग्रेस जनताको हितमा काम गर्छ भन्न खोजेको होइन। सबभन्दा पहिला राष्ट्रघात र भ्रष्टाचारका ठूला काण्ड सुरु गर्ने काँग्रेस नै हो। उसैलाई पछ्याउँदै कम्युनिष्टहरु पनि पछि लागेका हुन्।

त्यसैले भ्रष्टाचार काण्डका फायल खोलिए पनि यसका प्रमुख नाइकेहरु पक्राउ पर्दैनन्। यसपालि जनदवाव धेरै परिरहेको छ । जनता अझैपनि ठूला नेतालाई कारवाही हुनेमा बिश्वस्त छैनन्।

त्यही भएर नक्कली भुटानी शरणार्थी काण्डमा नाम आएर पनि आरजु देउवा, मन्जु खाँण, राजेश बज्राचार्य, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरालाई पक्राउ गरिएको छैन।

त्यस्तै ललिता निवास काण्डका प्रमुख ब्यक्ति माधवकुमार नेपाल र बाबुराम भट्टराइलाई छानविन सुरु गरिएको छैन। छानविन गरिए पनि यी दुई ठूला नेता जेलमा पुग्ने संभावना कम नै छ। किनकि अदालत पनि दलीय भागबण्डामा चलेका छन्।

अहिलेको क्विटल सुन काण्डमा माओबादी नेता कुष्णबहादुर महराका बाबु छोराको नाम जोडिएको छ। उनीहरुलाई सोधपुछ समेत गरिएको छैन। नियम कानुन गरिब तथा निर्धाको लागि मात्र हो? त्यो पनि कम्युनिष्ट नेता प्रधानमन्त्री भएको बेलामा?

त्यसैले कम्युनिष्ट पार्टीको नाम राखेर गरिब जनतासँग मत माग्ने समय अब सकिएको छ। त्यसैले नयाँ जोससहितका इमान्दार, राष्ट्रप्रेमि दल र नेतालाई जनताले साथ दिने समय आएको छ। जसको सुरुवात पनि भइसकेको छ।

त्यसैले पुराना सोच ब्यबहार र भनाइ अब को राजनीतिमा म्याद सकिएका दवाइ भइसकेका छन्। त्यसैले यी खुंखार भ्रष्ट तथा राष्ट्रद्राेही नेतालाई पाखा लगाउँदै इमान्दार क्षमतावान तथा राष्ट्रबादी युवा नेताले देशको बागडोर सम्हाल्नु पर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.