बालकथा : प्यारो तारी

राधिका दाहाल
२७ साउन २०८० ६:३५
364
Shares

पानी सिमसिम परिरहेको थियो। आज तीन दिन भइसक्यो पानी परेको। पानी रहने त छाँटै छैन हरे शिव! अमितकी आमा भन्दै थिइन्।

‘ए अमित ग्वालीमा गएर गाईलाई घाँस हालिदेउ त’।

‘हवस मामु म होमवर्क सिध्याएर जान्छु’ ।

‘हैन गाई भोकाइ सक्यो पहिला घाँस हालेर आइजन अनि पढ्नु, ग्वालीमा जाँदा छाता लिएर जानु है’।

अमित पढ्दै गरेको पुस्तक त्यत्तिकै छोडेर ग्वालीमा गयो। अनि माली र कैली गाईलाई घाँस हालिदियो। गाईको सानो बाच्छी थियो।

कैलो रंगको जीउ र टाउकोमा सेतो तारो भएको। त्यसलाई सबैले तारी भन्दथेँ। अमित तारीलाई सुम्सुम्याउँदै थियो। माली र कैलीगाई घाँस खादै थिइन्। त्यही बेला पैनिमा एक्कासि स्वाँं…! गडड ..! गरेको आवाज आयो। बारी तिर पनि पानी जम्न सुरू भयो। ग्वालीमा पनि पानीको भेल पस्यो।

अमितको मामु घरको छतमा गएर कराउन थाल्नु भयो। ‘अमित छिटो आइज यता। एउटा लौरो टेकेर आइज’ ।
तर

पल्लाघरका माधव काका बाख्रालाई खोले दिन टाट्नोमा आउनु भएको रहेछ।

‘काका ! काका ! यता आउनु न’। काकाले बाख्रालाई काँधमा बोकेर आउनु भयो।

‘काका मैले यो तारी बाच्छी फुकाउन सकिन’।

‘अमित तिमी गाईको दाम्लो समाउ। म बाच्छीलाई पनि काँधमा बोक्छु’।

‘हवस काका’।

अमितले दुबै गाईको दाम्लो समायो। पानीको बेग धेरै भएको हुनाले उसका खुट्टा टेकिन छाडे तर दुबै हातले दुबै गाईको दाम्लो छोडेन।

गाईहरू पनि लरखराउँदै थिए। बल्ल तल्ल गाईले अमितलाई घरको आँगनमा ल्याए। आँगनभरि पानी जमिरहेको थियो।

‘काका माथि हाम्रो छतमा लैजाउँन तारी र सिगारी बाख्रीलाई, त्यहाँ यिनीहरूलाई पानीले बगाउँदैन’।

’ल ! ल’! भन्दै काकाले तिनीहरूलाई छतमा लानु भयो।

अमितकी मामुले भन्नु भयो। ‘बाबु यस्तो ठूलो पानी, भेलबाढी आउला जस्तो लागेको थिएन। राम! राम! सखापै पार्‍याे। धन्न बाबुले अमितलाई र गाईहरूलाई ल्याइदिनु भयो। म त आत्तिए नि! धेरै धेरै धन्यवाद बाबु’। ‘त्यही त भाउजु एक्कासि कताबाट यस्तो बाढी आयो? सर्वनाश गर्ने भयो यो बाढीले’।

अमितको बुबा कतार गएको दुई वर्ष भएको थियो। उतैबाट पैसा पठाएर एउटा सानो पक्का घर बनाउँदै गरेको थियो।

अमितले भन्यो- ‘काका यी गाईलाई पनि छतमा लैजाउँन। पानीको भेल बढेको बढेइछ’। ‘सकिँदैन यही उभिन्छ’ काकाले भन्नु भयो। ‘म दाम्लो तान्छु काका र मामुले तलबाट ठेल्नु न, उ हेर्नु त त्यहाँ कसको गाई बगाए ल्याउँदै छ भेलले’।

‘लु भाउजु त्यसै गरौं’ माधव काकाले भन्नु भयो।

गाउँ भरिका सबै मानिसहरू रूँदै कराउँदै अग्लो ठाउँ खोज्दै कोही छतमा कोही रूखमा चढ्दै थिए।

अमितले छतबाट चिच्याएर सबैलाई भन्दै थियो–‘गाई, भैंसी, बाख्रा, सबैलाई छतमा छिटो ल्याउनुन, उ हेर्नु त कस्को पाडो बगायो। काका पाडोलाई समाउनुन’। दुईजना काकाहरूले दाम्लो समाएर पाडोलाई तान्नु भयो।

परतिरबाट स्कुलको सर आउँदै हुनुहुँदो रहेछ। बगाउँदै गरेको बाच्छाको दाम्लो च्याप्पै समाएर तान्नु भयो। सबै जम्मा भएर गाई भैंसी बाच्छा बाच्छी बाख्राहरूलाई छतमा लगे।

पैनीपारीबाट खेमदाजु र भाउजूले टेवललाई उल्टो पारेर टेवलमाथि गोपाल, सुरज र रिमालाई राखेर एकातिर दाजुले र अर्कोतिर भाउजुले बोकेर ल्याउँदै गरेको देखेर अमित ‘छिटो आउनु न’ भन्दै बेस्सरी चिच्यायो।

गाउँमा ठूला मानिसहरू कोही नानीहरूलाई ढाडमा बोक्दै, कोही पानीमा डोहोर्याउँदै, कोही टाउकोमा बोक्दै आउँदै थिए। सबैको घरको खाना नाना बाढिले बगाइरहेको थियो। ठूला मानिसहरू साना मानिसहरूलाई बचाइरहेका थिए।

अमित त्यहाँ भएका सबै काका काकीलाई भन्दै थियो- ‘सबैले मोवाइल प्लास्टिक भित्र राख्नु है पानीले भिजाउला’?

चार पाँच दिनसम्म बाढीले हैरान पार्‍याे। बिस्तारै पानी रहन थाल्यो। भेलबाढी कम हुनथाल्यो। सबै मानिसहरू आआफ्ना घरमा गएर बाढीले पुर्याएको नोक्सान हेर्दै बाँकी सामान मिलाउन सक्ने जति मिलाउन थाले। घर सफागर्न थाले। अमित र उसका साथीहरूले पनि आफूले सकेको जति सहयोग गर्न थाले।

‘मेरो प्यारो तारी तिमीलाई झण्डै बाढीले बगायो नि’ भन्दै अमितले तारीलाई अँगालो मार्‍याे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.