जी-२०, यसको अभ्यूदय, उद्देश्य, विकास र विस्तार

शंकरप्रसाद रिजाल
१० असोज २०८० १४:३३

बिकसित देशहरु धनाढ्य भइकन पनि सुखसँग बस्न पाएनन्, जब संसारमा सन् १९७० को दशकमा भयानक आर्थिक मन्दीले संसारलाई थिलथिलो बनायो।

त्यसमा फेरि सन् १९७३ मा जब अरब लिगका तेल निर्यात गर्ने राष्ट्रहरुको समूह ‘ओपेक’  ले ‘ब्रेटनउड्स’ को विनिमय दर प्रणालीलाई उल्लंघन गरी साउदी अरेबियाले तेल निर्यात गर्न बन्द गरीदियो।

तेल निर्यात गर्न बन्द गरेपछि त संसारमा झन् आर्थिक समस्या र मन्दीको चिसो कठाग्रिँदो हावा बिकसित देशलगायत अन्य विकासोन्मुख मुलुकमा पनि स्वतः पर्न गयो। झन् त्यो भन्दा अल्पबिकसित देशहरुको त हालत के भयो होला?

यो भयंकर आर्थिक सितलहरलाई साम्य बनाउन संसारका औद्योगिक क्षेत्रमा ठूलो तहल्का मच्चाएका छ वटा राष्ट्रहरु अमेरिका, फ्रान्स, ब्रिटेन, जर्मनी, जापान र इटली जस्ता देश मिलेर सन् १९७० मा सबैभन्दा पहिलो जी-६ को शिखर बैठक फ्रान्सको रम्बोलिएट भन्ने स्थानमा अनौपचारिक रुपमा भयो।

यसमा बिशेष रुपले देशको राजनैतिक र आर्थिक क्षेत्रको बारेमा ठूलो छलफल भयो। पछि सन् १९७६ को शिखर बैठकमा अर्को ठूलो देश क्यानाडा पनि यो समूहमा सामेल हुन पुग्यो र यो जी-६ बाट जी-७ मा परिणत हुन पुग्यो।

यसरी बिस्तारै बढ्दै गएको जी-समूह पछि सन् १९९८ मा रुस पनि तत्कालीन राष्ट्रपति गोर्भाचोभको नेतृत्वमा यसमा सामेल भयो र जी-८ को समूह निर्माण हुन पुग्यो।

पछि फेरि सन् २०१४ को मे महिनामा रुसले क्रिमियालाई आफ्नो अधिनस्त बनाएपछि उसलाई जी समूहबाट पुनः हटाउने काम भयो। यसमा रुसले पनि आफ्नो गुमेको क्षेत्र आफ्नो अधिनमा लिँदा ती बिकसित मुलुक रिसाउँछन् भने उसले पनि झोकमा अब आइन्दा कहिले पनि यस समूहमा सामेल नहुने घोषणा गरे पछि फेरि जी-८ को समूह जी-७ मा परिणत भयो।

यसरी गुज्रिँदै  गइरहेको संसार फेरि सन् २००८ मा अर्को वित्तीय संकटमा फस्न पुग्यो। त्यसपछि बिकसित देशका केन्द्रीय बैंकका गभर्नर र अर्थमन्त्रीहरु फेरि एक ठाउँमा बसेर छलफल गर्न थाले।

यसपछि त्यही बिकसित देशका राष्ट्र प्रमुख पनि यो आर्थिक एजेन्डाको साथै अन्य मौसम परिवर्तन, आतंकबाद बिरोधी र संसारका अरु जल्दाबल्दा समस्यालाई अगाडि सारेर जी-समूह अगाडि बढ्यो।

त्यस बखत करिब सन् १९९६ सम्म दक्षिण पूर्बी एसियाका मुलुकहरु थाइल्याण्ड, मलेसिया, इण्डोनेसिया जस्ता मुलुकको एकाएक माथि गएको ‘टाइगर अर्थनीति’  एकैचोटी सन् १९९७ मा ‘कागजी बाघ’को अर्थनीतिमा परिणत भएकाले यी देश थाइल्याण्ड, मलेसिया, इण्डोनेसियासहित दक्षिणकोरिया र फिलिपिन्स जस्ता देशपनि यसमा सम्मिलित हुन पुगे।

यसको साथै यसको महत्वलाई बुझेर ब्राजिल, दक्षिण अफ्रिका, एसियाबाट ठूला देशहरु भारत, चीन र फेरि रसिया र मेक्सिको, अर्जेन्टिना, टर्की, साउदी अरेबिया र ओसनिया क्षेत्रको अस्ट्रेलियालाई सम्मिलित गराएर पछि मात्र यसले जी-२० को समूह बनाउन सफल भयो।

हाल यो जी-२० समूह राष्ट्रहरुको सदस्यहरुमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जापान, दक्षिण कोरिया, मेक्सिको, रसिया, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत, अमेरिका, अफ्रिकन युनियन र युरोपियन युनियन गरी जम्मा २० बाट जी-२१ राष्ट्रहरु रहेका छन्।

जी-२० को पहिलो शिखर बैठक सन् २००८ मा अमेरिकाको वाशिंटनमा भएको थियो। दोश्रो बैठक अप्रिल २, २००९ मा बेलायतमा भएको थियो। तेस्रो बैठक २६-२७ जुन, २०१० मा टोरन्टो क्यानाडामा भएको थियो।

यस बैठकमा पनि सन् २००८ कै आर्थिक मन्दीलाई कसरी माथि उठाउने भन्ने विषयमा व्यापक चर्चा भएको थियो। चौथो बैठक फ्रान्सको केंसमा नोभेम्बर ३-४, २०११ मा भएको थियो। यसमा कृषि बजार सूचना केन्द्रको स्थापनाको बारेमा ब्यापक छलफल भयो।

पाँचौं बैठक नोभेम्बर ११-१२, २०१० मा दक्षिण कोरियाको सोलमा भएको थियो। यसमा बिकासका नीतिको बारेमा छलफल भइ ‘सोल विकास नीति’ भनी घोषणा जारी भएको थियो। त्यस्तै गरि २०११ को शिखर बैठक फ्रान्सको केंसमा भएको थियो।

सातौँ बैठक १८-१९ जुन, २०१२ मा मेक्सिकोमा भएको थियो। आठौँ २००१३ मा रसियामा भएको थियो। नवौं अस्ट्रेलियामा सन् २०१४ मा भएको थियो। दशौं टर्कीको बेलेकमा २०१५ मा भएको थियो। एघारौँ चीनको गुआन्चौमा सन् २०१६ मा भएको थियो।

बाह्रौं जर्मनीको हेमबर्गमा २०१७ मा भएको थियो। तेह्रौंं सन् २०१८ मा अर्जेन्टिनाको ब्युनसआयर्समा, चौधौं अस्ट्रेलिया व्रिस्बेन्नको कÞुइन्स्लेन्डमा सन् २०१९ मा, पन्ध्रौँ बैठक सन् २०२० मा साउदी अरेबियामा, सोह्रौं सन् २०२१ मा इटालीको रोममा, सत्रौं इन्डोनेसियाको नौसा दुवा बालीमा सन् २०२२ मा भएको थियो।

यो सत्रौं बालीको जी-२० को बैठकबाट ‘सबैमिली सबै बलियो बनौं’ भन्ने निश्कर्षका साथ आगामी बैठक भारतमा बस्ने तय भइ बैठक समापन गरिएको थियो।

यही अनुसार फेरि ९-१० सेप्टेम्बर २०२३ मा जी २० को शीखर बैठक भारतको नयाँ दिल्लिको प्रगती मैदानको ‘भारत मण्डपम’ को बिशाल भवनमा भएको थियो।

यो शिखर बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० देशको साथै अन्य राष्ट्र बंगलादेशका प्रधानमन्त्री शेख हसिना, इजिप्टका राष्ट्रपति अब्दल फताहा अल सिसी, मौरिससका प्रधानमन्त्री प्रबिन्द कुमार जुग्नौथ जस्ता राष्ट्र प्रमुखहरुलाई बोलाई बैठकको गरिमा बढाइ दिएका छन् भने स्पेनलाई हरेक बर्ष नियमित रुपमा स्थायी आमन्त्रण गर्ने निर्णय गरिएको छ।

यसको साथै हरेक आमन्त्रित राष्ट्रहरुलाई आफ्नो विचार प्रस्तुत गर्ने मौका प्रदान गरिएको छ। यो पटकको भारतको जी-२० को बैठकमा मोदीले सहअस्तित्वको मर्मलाई हृदयंगम गरी ‘बसुधैब कुटुम्बकम्’ को उच्च भावनालाई प्राथमिकता दिइ दक्षिण अफ्रिकालाई पनि यो समूहमा सामेल गराई जी २० को सट्टा जी २१ बनाई दक्षिण समूहलाई बिशेष प्राथमिकता दिएको देखिन्छ।

यो बैठकको अर्को उपादेयता ‘एक पृथ्वी, एक परिवार, एक भविष्य’ को नारासहित विश्वमा जल्दो बल्दो समस्याको रुपमा रहेको खाद्यान्न सुरक्षा, जलबायु परिवर्तन र उर्जा, बिकास, स्वास्थ्य र बिभिन्न प्रविधिको बारेमा छलफल गर्दै अन्तर्राष्ट्रिय आर्थिक अवस्था, बिकासको लागि चाहिने ठूला श्रोत र साधन, पर्यटन बिकास र बिस्तार, संसारका मानिसलाई उत्पादन र उपभोगमा सामेल गराउन र इन्धन खपत र बचतमा सजग रहन आह्वान गरिएको छ। यो सबैको मुख्य उद्देश्य भनेकै अन्तर्राष्ट्रिय जगतको आर्थिक अवस्थालाई नै मजबुत गराउने हो।

जसरी गतसाल भएको बालीको बैठकको घोषणा अनुसार अन्तर्राष्ट्रिय जगतमा आर्थिक सुधार ल्याउने र त्यसमा दत्तचित्त भई लाग्नुपनि पर्ने भनी बैठक समापन भएको थियो भने यसपटकको दिल्लीमा भर्खरै सम्पन्न भएको जी २० को बैठक अलि बेग्लै किसिमले ‘एक पृथ्वी, एक परिवार र सबैको एकै भविष्यको’ आशा गरी भारतका प्रधानमन्त्री मोदीले सबैको मन जितेर बैठक समापन गरेका थिए।

बास्तवमा नरेन्द्र मोदी भारतका मात्र नभई संसारकै निमित्त एक फुर्तिला नेता बन्न पुगेका छन् जसले ‘जी-२० समूह’ मा पनि र ‘वृक समूह’ मा पनि सम्मिलित भइ दुवै समूहलाई मिलाउन आफू सेतुको रुपमा प्रस्तुत भई एक उदाहरणीय बनेका छन्।

उनी हेर्दा साधारण योगी जस्ता प्रधानमन्त्री भए पनि रुसका पुटिन र अमेरिकाका जो बाइडेन र चीनका राष्ट्रपति स जिनपिङलाई पनि एकैसाथ रिझाउन सक्नु उनको प्रतिभा नै मान्न सकिन्छ।

उनको यो रणनीतिले यी दुवै समूह कहीं एक भई एकाकार हुन गएमा ‘विश्व’ एक परिवारमा परिणत हुन धेरै पर्खिरहनु नपर्ने देखिन्छ। तसर्थ यो मौकालाई हात पार्न पछिल्लो हुने शिखर बैठकमा नेपाललाई पनि पाहुनाको रुपमा आमन्त्रण गरियोस् भन्ने आवाजलाई बुलन्द पार्न मित्र राष्ट्र भारत र चीनलाई हेक्का रहेमा नेपालले पनि जी-२० बाट ठूलो फायदा लिन सक्ने निश्चित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *