दुर्गा प्रसाईं र एमाले आमने सामने, काठमाडौंको सुरक्षा व्यवस्था कडा
काठमाडौं। राजधानीमा एमाले निकट युवा संघ र दुुर्गा प्रसाईंले नेतृत्व गरेको धार्मिक महाअभियानको दुईवटा छुट्टाछुट्टै समूहले विरोध सभा र प्रदर्शन गर्ने भएपछि विहानैदेखि सुरक्षाकर्मीहरु परिचालित भएका छन्।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले क्रमश तीन कुुने र बल्खुमा छुट्टाछुट्टै कार्यक्रमका लागि सुरक्षाकर्मी परिचालित भएका हुन्।
युवा संघले प्रर्दशन नभएको र विरोध सभा मात्रै भएकाले सिधै तीनकुने आउन आग्रह गरेको छ भने प्रसाईंको समूहले विभिन्न आठ वटा रुट तय गरेर राजधानी नै अस्तव्यस्त बनाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

मेडिकल व्यवसायी प्रसाईं र प्रमुख प्रतिपक्ष दल आबद्ध नेकपा एमाले आबद्ध २३ संठनहरूले प्रदर्शनका कार्यक्रम राखेका छन्। यी दुई समूहबीच हुनसक्ने सम्भावित घटनालाई नियन्त्रण गरी सुरक्षा दिन सुरक्षा निकायले सडकमा उपस्थिति जनाएका हुन्।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र बहादुर खत्रीले सडकमा स्ट्राइकिङ फोर्स, रिजर्भ टोली, मोबाइल टोली तम्तयार अवस्थामा राखेको जानकारी दिएका छन्।
‘अहिलेको अवस्था सामान्य छ छिटफूट मान्छेहरु निस्कन थालेका छन्, अराजक गतिविधि नहोस भन्नका लागि अधिकतम संख्यामा सुरक्षाकर्मीहरू सडकमा परिचालन गरेका छौँ’, उनले भने।

नेपाल प्रहरी, सशस्त्र प्रहरी धेरै संख्यामा परिचालन भएका छन्। राष्ट्रिय अनुसन्धानका प्रतिनिधिहरू पनि छन्। एसएसपी खत्रीले दुवै समूहका प्रदर्शनमा सानो भन्दा सानो घटना हुन नदिने उद्देश्यले त्यही अनुरूपको रणनीति बनाएर सुरक्षाकर्मीहरू सडकमा परिचालन गरिएको जानकारी दिए।
‘स्ट्राइकिङ फोर्स, रिजर्भ फोर्स र मोबाइल टोली ठाउँ ठाउँमा राखिएको छ। कम्तीमा पनि १ सय भन्दा बढी स्थान सुरक्षाकर्मीहरूको सुरक्षा घेरामा छ’, उनले भने। प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब १० हजार सुरक्षाकर्मी परिचालन गर्ने सरकारी योजना रहेको छ।
त्यसका लागि विहानैदेखि सुरक्षाकर्मीहरु सिफ्ट अनुसार खटिएका छन्। प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन्।

काठमाडौंमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन्।
प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना संकलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ। प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ।
डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर बनाइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक प्रदेशसिंह हमाल र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ रहनेछन्।

तीनकुनेमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले ड्रोन प्रयोग गर्न संभव नभएको प्रहरीले जनाएको छ। काठमाडौँ प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुई वटा ड्रोन उपलब्ध गराएको छ। प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ।







डिसी नेपाल








Facebook Comment