सुरुङ मार्ग बनेपछि नुवाकोटेले काठमाडौंमा घर बनाउनु पर्दैनः अर्थमन्त्री डा महत

डिसी नेपाल
१७ मंसिर २०८० २०:३१

नुवाकोट। अर्थमन्त्री डा प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको बताएका छन ।

शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री डा.महतले भने,  ‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसंख्या पनि छ।’

राजधानी काठमाडौंसँग जोडिएर पनि नुवाकोट पछाडि परेको जिल्ला रहेको उल्लेख गर्दै उनले अन्य जिल्लको तुलनामा शिक्षामा कम जोड  दिएको औंल्याए। उनले भने,  ‘त्यहाँका अगुवाहरुले शिक्षामा लगानी गरे । पढ्ने लेख्ने कामलाई प्राथमिकता दिए । तर काठमाडौं वरिपरीकाको आम्दानीको मूल श्रोत जग्गाजमिन थियो।’

उनले अगाडि भने, ‘काठमाडौंमा राणाहरुको जो नजिक थिए, राणालाई रिझाएका थिए, ती व्यक्तिहरुले चाकरी गरेवापत पुरस्कारका रुपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौं पुर्याउन सक्ने ठाउँको जमिन उनीहरु माग्थे । काठमाडौंसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरु धेरै भए।’

काभ्रे, धादिङ र नुवाकोटका जनता प्रशस्त उब्जानी गर्ने र ठूलो हिस्सा काठमाडौं पुर्याउने काममा केन्द्रित रहेको उनको भनाई छ। शिक्षाको विकास ०४६ पछि मात्र गति लिएको उनले बताए । मन्त्री महतले भने,  ‘काठमाडौंको नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेका थिए ।’

अब काठमाडौंबाट नुवाकोटलाई अझ नजिक बनाउने बताउँदै काठमाडौं–छहरे सुरुङ मार्गको काम भइरहेको जनाए। उनले एक अर्ब बजेट पनि राखेको जानकारी दिए। सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन।’, उनले भने।

प्रकाशशरण महत अर्थमन्त्री हुँदा पनि बजेट राखेको जनाउँदै उनले सुरुङ खन्न तयारीस्वरुप अध्ययन भइरहेको बताए। उनले भने,  ‘त्यसका लागि भौर्गविक अध्ययन चाहिन्छ । यसका लागि हामीले चिनियाँ सरकारसँग अनुरोध गरेका छौं।  उहाँहरुले प्रारम्भिक अध्ययन गर्न गर्नुहुनेछ। उहाँहरुले सम्भावित दुई तीनवटा विकल्प दिनुहुनेछ।’

अर्थमन्त्री डा. महतले अध्ययन सम्पन्न भएपछि काठमाडौं–छहरे सुरुङमार्ग निर्माण प्रकृया अघि बढ्ने बताए ।  ‘चार महिनामा अध्ययन सम्पन्न गराउने हामीले अठोट लिएका छौं । त्यसपछि चीन सरकारले थप विकल्पहरु दिनेछ । त्यसपछि सुरुङ मार्गको प्रकृया अगाडि बढ्छ।’

‘नेपाल सरकारले वातावरण अध्ययन गरेपछि अन्तिम अध्ययन गरेर काम अगाडि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे।  एकले अर्कोलाई देखाउने हाम्रो प्रशासन संयन्त्र यही, तर म यसमा लागिरहेको छु’ उनले भने,  ‘सुरुङ मार्ग निर्माण सम्पन्न भयो भने काठमाडौंमा घर बनाइराख्नु पर्दैन । एक घन्टाको बाटो १० मिनेटमा पुगिन्छ । काठमाडौंमा काम गरेर नुवाकोट घर फर्किन सकिन्छ । यसले बसाइसराइ रोक्छ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *