कांग्रेसको मधेश सम्मेलन उद्घाटनमै विवाद
जनकपुरधाम। सत्तारूढ नेपाली कांग्रेस मधेश प्रदेशको बिहीबारदेखि धनुषाधाममा सुरु भएको प्रथम सम्मेलनको उद्घाटनका क्रममै किचलो देखिएको छ। प्रदेश सभापति कृष्ण यादवले एकलौटी रूपमा पेलेर अघि बढेको भन्दै डा. शेखर कोइराला पक्षले सम्मेलनको उद्घाटन सत्र नै बहिष्कार गरेको छ ।
सभापति यावदविरुद्ध कोइराला पक्ष उत्रिरहँदा सम्मेलनको उद्घाटनमा आसनग्रहणका क्रममा पनि विवाद भएको छ। मर्यादाक्रमलाई लिएर विवाद हुँदा कोइराला पक्षले उद्घाटन सत्र नै बहिष्कार गरेको हो।
केन्द्रीय सभापति शेरबहादुर देउवाको विरोध गर्दै उद्घाटनस्थलमै कोइराला पक्षले पम्प्लेटसहित प्रदर्शन गरेका थिए। आसनग्रहणका क्रममा कोइराला पक्षका नेताहरूले बहिष्कार गरिरहँदा अर्का नेता विमलेन्द्र निधि पनि मञ्चमा बस्न मानेन्।
उनको नाम पटक-पटक उद्घोषकले लिए पनि निधि आसनग्रहणको मर्यादाक्रमलाई लिएर असन्तुष्ट भएर मञ्चमा गएनन्। कतिपयले निधि कोइराला समूहतर्फ जान सक्ने संकेत त गरेको होइन भन्ने गाइँगुइँ गरिरहेका थिए भने कतिपयले कार्यक्रम स्थल जनकपुरधाम भए पनि नेता निधि र धनुषा सभापति योगेन्द्र पजियारलाई मञ्चमा प्राथमिकता दिन नसक्नु भूल भएको टिप्पणी गरिरहेका थिए।
कोइराला पक्षका नेता रञ्जित कर्णले मधेश प्रदेश कार्यसमितिको सम्मेलनमा वरिष्ठ नेता डा. कोइरालालाई विभिन्न बहाना बनाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएका थिए। यसअघि बुधबार प्रदेशका आठ नेताले मर्यादाक्रमलाई लिएर ‘नोट अफ डिसेन्ट’ लेखेका थिए।
स्थानीय तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी थिए।
मधेश प्रदेशका आठ जिल्लाका ८२५ जना प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा प्रदेश समितिको राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए।
सम्मेलन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विविध सवालमाथि गम्भीर छलफल गरी महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल हुने विश्वास मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका सभापति यादवले बताए। आज (शुक्रबार)सम्म चल्ने सम्मेलनमा आठवटै जिल्लाका प्रतिनिधि सहभागी छन्।







डिसी नेपाल








Facebook Comment