कोशीमा सभामुख चयन : प्रदेशसभामा निर्विरोध, राप्रपाभित्र विरोध
काठमाडौं। कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएपछि पार्टीमा विरोध चुलिएको छ।
प्रदेशसभामा सर्वसम्मत भएका विष्टको सभामुखमा दिएको उम्मेदवारीलाई लिएर राप्रपाभित्र किचलो उत्पन्न भएको हाे। उनको उम्मेदवारी पार्टी निर्णय विपरित भएको भन्दै राप्रपाका कतिपय नेताहरुले असन्तुष्टि जनाइरहेका छन्।
यस अघि पटक-पटक कोशीमा सत्ता राजनीतिका अस्वभाविक क्रियाकलापमा सहभागी नहुने घोषणा गरेको राप्रपाले सभामुखमा उम्मेदवारी दिएपछि केन्द्रका नेताहरुले असन्तुष्टि जनाएका थिए। मंगलबार सभामुखको निर्वाचनमा सत्तागठबन्धन र एमालेले उम्मेदवारी नदिएपछि राप्रपाका विष्ट निर्विरोध भएका हुन्।
राप्रपाका केन्द्रीय निर्देशन समितिको अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले कोशीमा सभामुखको उम्मेदवारी र चयन पार्टीविरोधी भएको बताइरहेका छन्। उनले नवनियुक्त सभामुख विष्टलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन्।
तथापि उनको विरोधका बाबजुद राप्रपाले विष्टको सभामुख चयनको स्वामित्व लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठ बताउँछन्। उनले कोशीमा दिएको उम्मेदवारीको कतिपय नेताहरुले विरोध गरेपनि पार्टीले संस्थागत रुपमा असहमति जाहेर नगरेको जिकिर गरे।
उनले डिसी नेपालसँगको कुराकानीमा भने,‘संवैधानिक निकायका पदहरुको उपयोग गरेर व्यवस्था विरुद्धको आन्दोलन जारी राख्ने पार्टीको वैधानिक नीति हो । त्यही अनुरुप कोशीमा भएकाे सभामुखको चयनमा पार्टीले अन्यथा निर्णय गर्दैन।’
उनले कतिपय पार्टीभित्र कतिपय असन्तुष्टि उजागर भएपनि संस्थागत रुपमा नवनियुक्त सभामुख विष्टविरुद्ध कुनै अप्रिय कदम नचाल्ने जनाए ।
उनले भने, ‘व्यक्तिगत रुपमा नेताहरुले असहमति व्यक्त गर्नुभएको हुनसक्छ । तर पार्टीले संस्थागत रुपमा उहाँविरुद्ध कुनै कार्य गर्दैन।’
राप्रपाले कोशी प्रदेशकाे सभामुखमा उम्मेदवारी दिने निर्णयप्रति सुरुमा असहमत भएपनि अहिले स्वामित्व लिने अनौपचारिक निर्णय गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ।







डिसी नेपाल








Facebook Comment