ग्यास बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व-पश्चिम महेन्द्र राजमार्ग

डिसी नेपाल
१५ पुष २०८२ २०:५२
352
Shares

रौतहट । आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन। महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना भएपछि राजमार्ग अवरुद्ध भएको हो।

भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको यूपी १७ एटी २११४ नम्बरको ट्याङ्कर आज बिहान दुर्घटनामा परेको हो। दुर्घटनापछि राजमार्ग खुलाउने प्रयास भए पनि प्राविधिक समस्याका कारण सफल हुन नसकेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिए।

उहाँका अनुसार बिहान ९ बजेदेखि ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगञ्ज शाखाको प्राविधिक टोलीले बुलेट हटाउने प्रयास गरिरहेका छन्, तर अझै केही समय लाग्ने देखिएको छ। बुलेट हटाउन छ वटा क्रेन प्रयोग गरिएको छ।

दुर्घटनापछि बुलेटबाट ग्यास चुहावट भएपछि प्राविधिक रूपमा टाल्न नसक्दा समस्या थप जटिल बनेको प्रहरीको भनाइ छ।

दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते हुनुभएको छ। हाल पूर्वतर्फबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरमै थन्किएका छन् भने केही सवारीसाधन चन्द्रनिगाहपुर–गौर सडक हुँदै बालचनपुर, जङ्गल सहिया भएर करिब ३५ किलोमिटर लामो वैकल्पिक मार्ग प्रयोग गरी आवतजावत गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *