कथा : प्रतिशोध

कल्पना पौडेल 'जिज्ञासु'
१८ माघ २०८० १३:३९
124
Shares

आँट हिम्मतको प्रतिबिम्ब थिइन् मीना भलै उनी निम्न वर्गीय परिवारमा जन्मिएकी किन नहुन्। कान्छो भाइ गर्भमा हुँदा परदेश लागेका उनका बाउको कुनै खबर थिएन। बाउको अनुपस्थिति, सामाजिक मनोवृत्तिमा त खजमजिएको थियो नै, झन् उनीहरूको गाँसमा अनिगिन्ती उद्घोष बनेर टाँसिएको थियो।

घरकी जेठी छोरी मीनाका दुई बहिनी पछि जन्मिएको भाइ पनि चार कक्षामा पढ्ने भइसकेको थियो। सामान्य लेखपढसम्म गर्न पाएकी मीनाले भाइबहिनीलाई बाउको माया दिएकी थिइन् साथै बाउको कर्तव्य पनि निभाइरहेकी थिइन्। केही पाखो बारी थियो।

त्यसको उब्जनीले उनीहरूलाई छाक टार्न पुग्ने कुरै थिएन। आमाले मेलापात गरेर पाएको ज्याला खाजाले र मीनाले ले दुःख गरेर पालेका बाख्रा पाठाले उनीहरूको जेनतेन प्राण धानिएको थियो। मेलामा दिएका अर्नि पनि पोल्टामा हालेर ल्याउँथिन् आमा। भाइबहिनी त्यही अनीको बाटो हेरेर प्रतीक्षा गरिरहेका हुन्थे।

मीना त छरछिमेकका तीखा वचनले अघाउँथिन् प्रायः। झन् त्यसमाथि कहिलकाहीँ बाख्रापाठाले फुकेर चौरासी व्यञ्जन नै पुर्‍याइदिन्थे। मन कटक्क काटिए पनि पाठापाठीमाथि जाइलागेर र किच्च हाँसेर सबै पचाइदिन्थिन् मीना।

गाउँमा अन्यय अत्याचारका विरुद्ध त्यतिबेला भन्ने गरिएको महान् जनयुद्धमा होमिएका थिए रे मीनाका बाउ। संसार परिवर्तन आफैँबाट गर्नुपर्छ भन्थे रे! आमाका कथन धेरै सुन्थिन् मीना। संसार परिवर्तन गर्न आफैँ परिवर्तित भएर हिँडेका र हिँडाइएकाहरू कोही केमा परिवर्तन भए कोही केमा परिवर्तन भए लेखाजोखा छैन ।

सामाजिक बेथिति उखेलेर समाज बदल्न हिँडेका मानिस कतिपय माटोमा बदलिए, कतिपय आधा जीवन भोगिरहेका छन् । कोही शहर पसेर नव धनाड्यमा बदलिए । कोही आफू जेका विरुद्ध भनेर ज्यान हत्केलामा राखेर निस्किएका थिए त्यही बनेर बदलिए ।

यसकै एउटा बूँद मीनाका बाबु परदेशी बनेर बदलिए । मीनाको सिङ्गो परिवार गरीबी र पीडाको दलदलमा बदलियो । गाउँका शोषक र सामन्तका विरुद्ध बोलेर समाज बदलिएन बरू तिनै शोषक र सामन्तहरू मीनाको परिवार अनि ती अवोध लालाबालाको शत्रु भएर बदलिएका रहेछन् । मीनाका जेठाबाउले ऋण धनको जालो देखाएर भएको एकखलो खेतको स्वामित्व नै बदलिदिए।

समय बदलिन्छ।  समयसँगै संसार बदलिन्छ। मीनाको शरीर पनि बदलिदै गयो। सानी मीना ठूली भइन्। सम्म छाती चुचुरे थुम्का बने। परिवारमा सबैका पेट बढे। आवश्यकता बढे। निराशा बढे तर हरेक समस्याको समाधान गर्ने उपाय बढेन। झन् घटेर पो गर्‍यो। हरेक अफ्ठ्यारामा मीनाको मन चसक्क घोच्थ्यो, “कमसेकम बाउ घरमा भएका भए!”

मीनाले बाबुको बारेमा बुझ्न आफ्नो हर कोशिस प्रयोगमा ल्याइन्। हरेक साँझ घर बाहिरको पदचाप सुनेर हत्तपत्त बाहिर निस्कने आमाको बेचैनी, सानो भाइको प्रश्नै प्रश्नका डङ्गुर, घरको अभाव, बन्दी बनाएर राख्नुपरेका आफ्नै रहर र चाहना यावत कुराले मीनालाई चिमोटिरहन्थे।

पिँढीमा बसेर पर क्षितिजसम्म नियालीरहेकी आमाका नजर घामका पाइला सँगै झन् लामो छाया बने बहकिन्थे । आमाका शुष्क ओठ र भिजेका परेली सधैँ एकनासका देखिन्थे।

एकदिन पल्लो गाउँको धनपति र उसको छोराले घर तलको चौतारीमा घाँस बिसाएर बसिरहेकी मीनालाई भेटे । मीनाको लागि नौला मान्छे उनीहरूले चिनजानकै जसरी बोलाएर सोधपुछ गरे । केहीबेरको कुराकानी पछि

“ए ऽऽऽ तिमी त आफ्नै मान्छे रहिछ्यौ,” धनपतिले निकै माया दर्शाए । धनपतिको छोरो सुरज भने मीनाका शरीर पत्र–पत्र पल्टाउँदै घुरेर हेर्दै थियो ।”

“तिम्रो बुबा र म निकै मिल्ने साथी थियौ नि ! तर के गर्नु र खै परदेश लागेपछि भेट भएको छैन ।” धनपति पुनः बोले ।

“तिम्रो नाम के नि ?” सुरजले सोध्यो ।

“मीना,” मीना यतिमै सीमित भई ।

“नानी त हलक्क बढिछ्यौ ।

हामी भारतका विभिन्न शहर घुमिरहेका हुन्छौँ । तिम्रा बाउ भेटिए भने जसरी नि ल्याउँछौँ ।” धनपतिले दृढता दर्शाए र उनले छोराको कानमा केही मन्त्रणा पारे।

सुरजले भन्यो, “मीना फेसबुकमा जोड ल मलाई । हामी गाउँका मान्छेहरू साथी बन्नुपर्छ।”

“म त्यस्तो केही चलाउने गर्दिनँ ।” मीनाले मसिनो स्वरमा भनिन्।

“ए ऽऽ किन र ? लेकिन, आजकालको जमानामा पनि …………” ऊ बीचमै रोकियो।

“म सँग मोवाइल नै छैन ।” यति भनेर मीना घाँस बोकेर हिँडी । धनपतिका बाउछोरा गुनगुन गर्न थाले।

“ए ऽऽ नानी सुन त !” धनपतिले आवाज अलि ठूलो बनायो ।

“लेकिन, धनपति काका भेट भएको कुरा आमालाई भन्दिनू । तिमीले पहिचान नगरे पनि मेरो तारिफ तिम्रो आमालाई सबै मालुम छ।”

बेलुका आमाले मीनालाई टोकौँला झैँ गरेर गाली गरिन्। मीनाले केही बुझिनन्। धनपतिको नाम सुनेदेखि आमाको नुर झन् उदासियो। सुत्ने बेलामा आमाले आक्राेश पोख्दै धनपतिको कथा भनिन्, “त्यो गतिलो मान्छे होइन ठूली। मलाई लाग्छ तेरा बाबु परदेश जानु, घर नफर्किनुमा पनि यसकै जाल छ।

यो एक नम्बरको फटाहा थियो गाउँमा। पापी मन भएको। तेरा बाबु अन्याय अत्याचार सहन नसक्ने । पल्लो गाउँमा पीपलबोटेकी बुहारी ताकेको हुनाले पुलिसले समातेको थियो। यता गाउँमा पनि माओवादीको निशानामा परेको थियो। एउटा पुलिस हात लिएछ र रातारात जहान छोराछोरी लिएर भागेको उतिबेला।

पछि गाउँमा चलेको युद्ध रोकिएपछि राजनीतिक दाउपेच मिलाएर फर्कियो। ठूला-ठूला नेतासँग उठबस छ रे यसको र त यसका पुराना अपराध लुकाएर हिँड्छ ।” आमाले मीनालाई सबै कुरा गरिन् र उनीहरूको नजिक नपर्न पनि सुझाइन्।

एकदिन एउटा नौलो केटो घरमा आयो र थचक्क आँगनको डिलमा बस्यो । मीनाकी आमाले बोकेको गाग्री भुँइमा राखेर यो नौलो केटातिर हेरिन्।

“मीनाको घर यही होइन ?” केटो प्रश्न गर्‍यो।

“हो”

“मीना खोइ त ?”

“तल बेंसीमा धान काट्न मेला गएकी छे।”

“ए ! ल त आमा मीनालाई सुरज आएको थियो भन्दिनू। यो झोला मीनालाई दिनू।” आमाले अरू कुरा गर्न नपाउँदै पिँढीमा झोला राखेर केटो झरिहाल्यो।

एक जोर कुर्तासुरुवाल, एउटा मोवाइल र केही पैसा रहेछ झोलामा। बेलुका आमाको अगाडि नै मीनाले झोलाबाट निकाली। भाइबहिनी निदाइसकेका थिए।

आमाले मीनालाई शङ्कालु पाराले हेर्दै सम्झाइन्। “हेर छोरी छोराछोरी बढेपछि पो बढी पिर हुने रहेछ। मलाई त कतकता तिम्रो टाउको माथि कालो छाया मडारिएको जस्तो लाग्दै छ।” अघिपछि ठूलो ठूलो बोलीले गाली गर्ने आमाले आज मीनालाई अनौठो तरिकाले बोझिलो स्वर गरेर भनिन् र सुइया सुस्केरा हालिन्।

समय बित्दै गयो । मीना र सुरज फेसबुकका माध्यमबाट निकै नजिक भए। उनीहरू अबेर रात सम्म च्याटिङमा भुल्थे। मीना र सुरजको सम्बन्धले हद पार गरिसकेको थियो । उमेरले भरिलो बैंसमा प्रवेश गर्नै लागेकी मीनालाई सुरज सपनाको एउटा राजकुमार भएर उपस्थित भइदियो। मीनाको स्वभाव परिवर्तन हुँदै गयो।

आमाले लख काटिन्। मीनाको आँखामा अब सुरजको चित्रले स्थायी बसोबास गर्‍यो। मीनालाई संसार एकातिर र सुरज एकातिर जस्तो लाग्यो । नयाँ कपडा ल्याएको देखेर आमाले बेस्सरी झपारिन् मीनालाई।

त्यसदिन मीना भातै नखाई सुती। सुतेर आफ्ना भएभरका कुरा सुरजलाई बताई । सुरजले आफूभन्दा बढी मीनालाई माया गर्छु भनेर विश्वास दिलायो र छिटो भन्दा छिटो बिहे गर्ने योजना सुनायो।

पाकेको फल बेलैमा नटिपे झरेर जान्छ नत्र, चराले ठुङ्छ भन्ने कुरा धनपतिको छत्रछायामा भारतका गल्ली गल्ली नापेर हिँडेको सुरजलाई थाहा नहुने कुरै भएन। उमेरले भर्खर २१-२२ भए पनि धनपतिको छोरो धनपतिभन्दा एक कदम अगाडि थियो। उसले मीनाको मन तरल बनाउन सकेसम बल लगाइरह्यो । यता मीनाले पनि पखेटा हाल्न राजी भइन्।

भाले नबास्दै बिस्तारै ढोका खोलेर मीना ओरालो लागिन्। बहिनीका सिरानीमा एउटा चिठी लेखेर छाडेकी थिइन् उनले। ढोका घरक्क गर्दा आमाका आँखा खुले। मीना दिसापिसाब गर्न निस्केकी होली भनेर आमा चुप लागिन्। उज्यालो हुँदा मीनाले भेरीको झोलुङ्गे पुल तरिसकेकी थिइन्।

मीनाको मनमा सुरज र उसले देखाएका सपना बाहेक केही थिएन। सुरजप्रतिको आकर्षकले गर्दा भाइबहिनीको भविष्य, आमाको पीडा अनि बाबुको अभावले सिर्जना गरेका सामाजिक अफ्ठ्याराका गगनचुम्बी पहाड सबै बिर्सिइन् मीनाले। मनमा भएको ममता र गाउँको माटो त्यसै भेरीमा नै छाडेर उनी सुर्खेत पुगिन्।

बाटोमा जाँदा उनलाई मोवाइलले नै साथीको भूमिका निभायो। बाटोमा धेरैजसो एउटा हातमा झोला बोकेर अर्को हातले मोवाइल कानमा लगाएर सुरजसँग कुराकानी गर्दै हिँडि । उनी बाटो हिड्दै कहाँ पुगियो ? को को भेटिए, केही हेक्का रहेन। प्रत्येक दोबाटोमा उसले सुरजलाई फोन गरिन् , “अब कता जाने ?”

सुरज मीनालाई लिन हिजै सुर्खेत आएर बसेको थियो। दिनभरको थकाइले चुर मीनाले सुरज भेटिएपछि फूल झै हलुङ्गो महसूस गरिन्। गाउँमा जाडो अझै सकिएको थिएन । सुर्खेतमा भने निकै गर्मी रहेछ । कहिल्यै गाउँ छोडेर नहिँडेकी मीनालाई सबै नौलो थियो।

मीनालाई आफू बसेको कोठामा लग्यो सुरजले। कोठाभित्र पस्नासाथ मीनालाई बाहुपासमा कस्यो । मेसेन्जरमा जति हद नाघेर कुरा गरेपनि भेटमा मीनालाई यो हर्कत सहज लागेन। तर यहाँ अब सुरज बाहेक उनको कोही थिएन । मीनाले आँट गरेरै सुरजलाई पन्छाई र भनिन्।

“शिरमा सिन्दूर नभरी यहाँभन्दा अगाडि नबढ्नुहोला ।” सुरजले सहमतीसूचक टाउको हल्लायो।

“तिमी नुहाएर लुगा फेर, म एकछिन बाहिर निस्किएर आउँछु । ऊ त्यहाँ तिम्रो निम्ति नयाँ कपडा छ झिकेर लगाऊ।” यति भनेर सुरज निस्कियो। मीना नुहाउन पसिन्।  धारा पँधेरामा कसैले देख्ला झैँ कष्टले नुहाउने गरेकी मीनालाई होटलको वाथरुममा नुहाउँदा कल्पना भन्दा बढी आनन्द आयो।

सुरजले वाथरुम प्रयोग गर्ने तरिका, तातो चिसोपानी सबै सिकाएर गएको थियो। आज मीनाको अनुहारमा उन्मुक्त चमक फैलियो। बुट्टेदार काँचको झ्यालबाट अपरान्हतिर पसेको पहेंलो घामको उज्यालोमा उनले आफूलाई निर्वस्त्र नियालिन्।

आफ्ना छातीका मातृत्व ग्रन्थी ओल्टाईपल्टाई छामेर हेरिन्। शिरदेखि पाउसम्म नजर डुलाई देखिने जति हेरिन्। कताकता जीउ सिरिङ्ग भएर आयो, अघि सुरजले अँगालोमा बेरेको सम्झिदा मनमा मिठास भरिएर आयो। आँखा बन्द गरेर आफ्नै हातले शरीरलाई स्पर्श गरिराखिन् ।

अपार आनन्दको सागरमा पौडिएको महसूस गरिन् मीनाले। उनी अर्धबेहोसी झैँ कराइन्, आफैँभित्र केही पोखिएको जस्तो लाग्यो। यस्तो अनुभव उनले कहिल्यै गरेकी थिइनन् । बन्द आँखाभित्र सुरजमात्रै आइरह्यो । यस्तो शारीरिक सुखानुभूति उनले आजभन्दा अगाडि महसूस गरेकी थिइनन्।

नुहाएपछि ज्यान चङ्गा भयो। लुगा फेरेर खाटमा पल्टिइन् मीना। एकछिनमा सुरज एउटा सानो झोला झुण्डाएर आयो र भन्यो, “जाऊँ हिँड अब, म हाम्रो सपना साकार पार्छु, ऊ त्यहाँ पर मन्दिर रहेछ। त्यहाँ गएर सिन्दूर हाल्छु र आजबाट सधैँलाई आफ्नो बनाउँछु।” यति सुन्दा मीनाका आँखा टलपल भए। उमेर कच्चा भए पनि व्यवहारमा थिचिएर यावत कुरामा पाकेकी थिइन् उनी।

नजिकै बसेर ढाड सुम्सुमाउँदै सुरजले फेरि भन्यो, “तिमी चिन्ता नगर, भाइबहिनी र आमाको जिम्मेवारी अब मेरो पनि हो ।” मीनाले सुरजलाई गम्लङ्ग अँगालो मारेर ताता आँसुका भल खसालिन् ।

कुन ठाउँ कताको हो केही थाहा भएन मीनालाई । उनले ठूला गाडी र रेल देखेको आजै हो । गाउँमा सुनेकी त थिइन् तर , रेल यति लामो र ठूलो हुन्छ भन्ने लागेको थिएन । आज सुरजले मीनालाई हात समातेर यो भीमकाय फलामे बहानमा चढायो । मीनाका खुसी र सुख स्वर्गसमान बने । मनमुटु मात्रै होइन हिजोबाट उनले शरीर पनि सुम्पिइन् । त्यागको आनन्द प्राप्ति भन्दा बढी थियो ।

गाउँमा सुनेका गीत जस्तै महसूस भयो मीनालाई । रेल गाडीका पैँया गुड्न लाग्या ………..

रेल अगाडि बढ्दै जाँदा सबै पछाडि छुट्दै गए । सुर्खेतमा भेटेदेखि मुखमा आधा ढाकिने गरी रुमाल बाँधेको सुरजले बल्ल रुमाल फुकाल्यो । बम्बै आइपुगेछ । मान्छेको भीड देखेर मीनालाई अचम्म लाग्यो । यति धेरै मान्छे उसले कहिल्यै देखेकी थिइनन् ।

फरक-फरक कद र फरक-फरक रङ्गका मान्छेहरू विथोलिएका कमिलाको गोलो झैँ अस्तव्यस्त देखिन्थे । सुरजले अटो चढाएर लग्यो । मीनालाई बम्बइका बाटाघाटा र शहर हेर्दै रमाइलो लागिरहेको थियो । उनको जीवनको सबैभन्दा नजिक ठानेको मान्छे आफ्नो साथमा हुनाले अरू कुनै चिन्ता थिएन ।

नहीँं नहीं इतने में नहीं होगा (अँ त्यतिमा त हुँदैन )।

मेंने बहुत तकलीफ किया है। अ‌ौर मेरा पैसा भि बहुत खर्च हुवा है ( मैले धेरै दुख गरेको छु । मेरो पैसा पनि धेरै खर्च भएको छ)

माल बहुत नयाँ है फर्क परेगा तो दुगुना वापस गरुंगा ( सामन नयाँ हो फरक परेछ भने दुगुना फिर्ता गर्छु)

अच्छा है

बहुत कुछ होगा ।।

अच्छा है ।

सुरजले नबुझिने भाषामा कुरा ग¥यो र शिर उज्यालो बनायो। अटो चालकले घरीघरी मीनालाई हेरिरहन्थ्यो केही भन्न खोजे जस्तो गथ्र्यो । मीनाले यतातिर ध्यान नै दिइनन्।

काला काला परबाट ह्वास्सै गनाउने मान्छेहरू । चुरोटको धूवाँ मिसिएको नमीठो गन्ध आउने साँघुरो गल्ली हुँदै उनीहरू एउटा पुरानो घरभित्र छिरे । पान र गुट्खा खाएर थुकेका घिनलाग्दा भित्ताहरू देखेर मीनाले सुख्खा वाक्क गरिन् र हाते रुमाले मुख छोपिन्।

उनीहरू तेस्रो तलाको एउटा कोठामा पुगे । त्यहाँ अस्वभाविक शृङ्गार पोतेकी मोटीमोटी थसुली आइमाई थिई । त्यो आइमाइले बस्न इसारा गरी । सुरजले मीनाको हात समातेर बसाल्यो र आफू पनि सँगसँगै बस्यो ।

एकैछिनमा दुईवटी झण्डै अर्धनग्न केटी देखिए । एउटा निकै कालो वर्णकी सेता दाँत र राता ओठ गरेकी थिई । अर्की गोरी तर अलि डल्ली थिई । उनीहरू दुवैले मीनालाई हेरिरहे । अघिकी मोटी आइमाइले बेस्सरी हकारी उनीहरू दुवै अलप भए । एउटी सानी पातली केटीले दुई कप चिया लिएर आई र गई ।

“मीना तिमी चिया खाँदै गर म पिसाब फेरेर आउँछु ।” यति भनेर सुरज निस्कियो । निकैबेर फर्किएर आएन । अचानक अरू दुई नयाँ केटी आएर एक्कासी नेपालीमा बोल्दै भने, “बेचिइस् केटी तँ पनि हामी जस्तै। यसलाई पनि बिहे गरेर त्यसैले यहाँ ल्याएर बेचेको हो । म चाहिँ आफ्नै फूपुको जालमा परेर यहाँ आएँ । हामी ६ जना नेपाली छौँ तँ समेत सात भयौँ। मीना अलमल परि केही बुझिन।

मीनाका लागि दिन र रात सबै एकै भए। हरेक दिन दशौँजना घीन लाग्दा पुरुषको प्यास बुझाउने जिम्मा दिइएको थियो उनलाई । सुरुवाती दिनमा भारतीय व्यापारी र शहरका धनी मानिस आउने गर्थे । प्रहरीहरू निकै क्रुर भएर जाइलाग्थे।

व्यापारीहरू प्रायःजसोले घर फर्कन सहयोग गर्छु भनेर मीठो जाल बनाउदै लुट्थे । जस्ले जे भने पनि सबै पानीका फोका झैँ हुन्थे । दिन हप्ता हुँदै महिना बितेर गयो मीनाले बाहिर निस्कने मेलो भेटाइनन् बरु चील गिध्दको स्वरूप बदलियो । फोहोरी जँड्याहा भुसतिघ्रेहरू आउन थाले । जस्को जस्तो स्वरुप भए पनि पशु जस्तै हुन्थे तिनीहरू।

बल गरेर त्यहाँबाट भाग्न सम्भावना थिएन । मीनाले बिस्तारै त्यहाँ भएका दिदीबहिनीहरूसँग सल्लाह गरिन् ।बिरामी भएको बहानामा अस्पताल जाने योजना बनाइन् ।अरु केटीहरूले पनि साथ दिए । त्यहाँ अस्पताल जान सितिमिति पाउने सम्भावना थिएन। गर्भ निरोधक ओखती बाहेक अन्य ओखती देख्न समेत पाइदैनथियो। धेरै मेहनत पछि मिनाले अस्पताल जाने मौका पाइन । योजना अनुसार कोठीवालीका लठैतहरूलाई छक्याएर मीना भाग्न सफल भइन्।

चौताराभरी मान्छेहरू थिए । गाउँका भद्रभलाद्मी डाकेर कचहरी राखिएको थियो। धनपति र सुरज दुवैलाई एउटै डोरीले बाँधेर जुत्ताको माला लगाइएको थियो । गाउँका केटाहरूले मुक्का हान्दा बाबुछोराकै अनुहारको नाप नक्सा बिग्रिएको थियो।

बेचिएको झण्डै दुई वर्षपछि नरककुण्ड जस्तो कालकोठरीबाट मीना भाग्न सफल भएकी रहिछिन् । उनले बम्बइमा बस्ने सज्जन नेपाली दाजुभाइ भेटेर यता आएकी रहिछिन् र योजना अनुसार सुटुक्क गाउँ आएर दुवै बाउछोरालाई समाजको अगाडि नाङ्गेझार पार्न सफल भइन्।

धनपति र सुरजका परिवारलाई त्यहाँ बोलाएर मीनाले गाउँलेका अगाडि आफ्ना कुरा राखिन् । मीनाकी आमाले मीना हिँडेपछि गाउँलेका लाञ्छना सहन नसकेर आत्महत्या गरिछन् । आफ्नो कर्तुत थाहा पाएको र पोल खुल्ने डरले धनपति ले सुर्खेत जाँदा भेरीमा हालेर मीनाका बाबुलाई मारिदिएको रहेछ । सबै सुनिरहँदा त्यहाँ उपस्थित कसैको पनि आँखा ओभानो थिएन । चौतारामा बसेको गाउँले कचहरीले दुवै अपराधीलाई प्रहरीको जिम्मा लगाउने निर्णय गर्‍यो ।

आज गाउँमा सामाजिक काम गरेर चेतना फैलाउँदै छिन् मीना मीनाका भाइ बहिनीको निम्ति मातापिता दुवैको जिम्मेवारी बोकेर बसेकी छिन् मीना ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.