एमाले धादिङको अधिवेशनमा धक्कामुक्का

डिसी नेपाल
२१ माघ २०८० ११:२७
88
Shares

काठमाडौं। नेकपा एमाले धादिङको अधिवेशनमा धक्कामुक्का भएको छ। एमाले जिल्ला कमिटी धादिङको नवौँ अधिवेशनमा जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गरेर एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि भएको धक्कामुक्काबाट सन्तोष खनालको हात भाँचिएको छ।

आइतबार एमाले बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागिहरुबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सृजना हुन पुग्यो। जसको फलस्वरुप जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का समेत भयो। सो दिनको भोलिपल्ट माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आकमक र आतंकित परिस्थिति देखा पर्‍याे। यही कममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ।’

वर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठी नेतृत्वको अधिकांश पक्षले केन्द्रीय सर्कुलर अनुसार जिल्ला इन्चार्ज धर्म देवकोटाको अध्यक्षतामा गर्ने मत राखेको थियो। भने प्रदेश सदस्य रमेश आचार्य, प्रदेश कार्यालय सचिव गंगा श्रेष्ठ लगायतले आफूहरूले भनेनुसार अध्यक्ष मण्डलको अध्यक्ष बनाउनुपर्ने दाबी गरेका थिए।

तर प्रदेश अध्यक्ष ढुंगेलसमितको पक्षले जिल्लाको नेतृत्व नमान्ने अवस्था आएपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का समेत भएको थियो। ‘त्यति हुँदाहुँदै पनि पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सूचारु गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् झन् असान्त, असहज परिस्थिति देखा पर्‍याे। तसर्थ यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यो अधिवेशन स्थगित गरिएको छ’ प्रदेश अध्यक्ष ढुंगेलले विज्ञप्तिमा भनेका छन्।

तर, जिल्ला अध्यक्ष त्रिपाठीले भने प्रदेश अध्यक्षको विज्ञप्ति लगत्तै उनलाई काउण्टर दिँदै जिल्ला अधिवेशन जारी रहेका र स्थगित नभएको भन्दै अर्को सूचना निकालेका छन्।

‘केही अनाधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी सामाजिक सन्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको ध्यानाकर्षण भएको छ,’ अध्यक्ष त्रिपाठीले विज्ञप्तिमा लेखेका छन्, ‘बन्द सत्रको कार्यक्रम निरन्तर सन्चालन भइरहेको व्यहोरा अवगत गराउँदै सम्बन्धित सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.