झापामा एकदिने गजल लेखन प्रशिक्षण सम्पन्न

डिसी नेपाल
२८ माघ २०८० २२:४६

झापा। झापाको बिर्तामोडमा १ दिने गजल लेखन प्रशिक्षण सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा स्थानीय संस्थाहरू वीरता रिडर्स र गोपीकृष्ण स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न प्रशिक्षण गजलकार, समालोचक घनेन्द्र ओझाले प्रदान गरेका थिए ।

करिब सय जना सहभागी प्रशिक्षणमा गजलका आधारभूत तत्त्वबारे जानकारी दिइएको थियो। ‘वर्तमानमा अत्यधिक लेखिने विधा हो गजल’, ओझाले भने, ‘तर, गजलबारेका अन्योलले सर्जकमा भ्रम बढिरहेको छ, यसलाई चिर्न आवश्यक छ। यसका लागि अध्ययन, खोज र अभ्यास सँगसँगै गर्न जरुरी छ।’

उनका अनुसार गजल लेख्न जति सजिलो छ भनिन्छ, बुझेर लेख्न धेरै गाह्रो छ। पछिल्लो समय बढी विवादमा रहेको बहरको आवश्यकताबारे प्रष्ट्याउँदै ओझाले भने, ‘बहर भन्नु लय हो । गजल गेय विधा भएकाले यसमा लय अनिवार्य हुनुपर्छ । गजलको गायन शास्त्रीय हुने हुँदा लामो (दीर्घ) र छोटो (ह्रस्व) उच्चारणको एकरूपता कायम गर्न बहरको निर्माण भएको हो । यस कारण गजलको काफियाजतिकै अतिआवश्यक तत्त्व बहर हो।’

बहरमा लेख्दा पिङ्गल छन्दमा भन्दा केही सहज हुने भए पनि बहरका लचकताका नियमहरू बुझेर मात्र लचकताको प्रयोग गर्न ओझाले सुझाए । उनले भने, ‘बहरमा लेख्न राम्रो भाषिक ज्ञान, वर्णविन्यासको ज्ञान त अनिवार्य हुन्छ, यसका अतिरिक्त ३ वटा कुरामा विशेष ध्यान दिनुपर्छ- संस्कृत तत्सम शब्दमा छुट लिन पाइँदैन, नाम पदमा र अन्य अर्थ दिने अवस्थामा पनि छुट लिन पाइँदैन ।’

लचकता सिद्धान्त नभई नियम मात्र भएको र सकेसम्म लचकताको प्रयोग नगर्न गजलका विद्वानहरूले सुझाएका उनको भनाइ थियो।

वीरता रिडर्सका सहसंयोजक केशव मैनालीले झापामा पठन र लेखन संस्कृतिको प्रवर्द्धनका लागि समयसमयमा यस्ता कार्यक्रम गरिरहने बताए।

आयोजक वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले संयोजन गरेको प्रशिक्षण कार्यक्रममा झापाका विभिन्न स्कुल, क्याम्पसका शिक्षक-विद्यार्थी, स्थानीय स्रष्टाहरूको ठूलो सङ्ख्यामा सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *