सन्दर्भ : फागुन-१

जनयुद्धको रहस्यमयी परिघटना : बैद्यको भारतमा गिरफ्तारी, भारतकै रोहवरमा बाह्र बु्ँदे समझदारी

शरद रिजाल
१ फागुन २०८० १०:५३

काठमाडौं। नेपालमा राजनीतिक उलटफेर गराएको माओवादीको दश वर्षे जनयुद्धका सन्दर्भमा सबैका आ आफ्ना बुझाइ र दृष्टिकोण अहिले पनि कायमै छन्।

माओवादीले सञ्चालन गरेको जनयद्धको उपज आजको विकसित राजनीतिक अवस्था भएपनि त्यस अवधिमा घटेका कतिपय घटनाक्रमलाई सर्वसाधारण एवं जानकारहरु स्वचालित आन्दोलनको रुपमा विश्वस्त हुन सकिरहेका छैनन्। उनीहरु बाह्य प्रभावबाट सञ्चालित भएको भन्दै आशंका व्यक्त गर्ने गर्छन्।

यद्यपि आजको राजनीतिक परिवर्तनको एक घटकको रुपमा सो युद्धलाई विस्तृत शान्ति सम्झौता मार्फत स्वामित्व ग्रहण गर्दै राज्यबाट सम्बोधन गरिएको छ।

माओवादीको युद्धको उपज वर्तमान व्यवस्था प्राप्ति गरिएको दावा गरिरहँदा यसको सञ्चालनका क्रममा उठेका प्रश्नहरु आज पनि अनुत्तरित रहेका छन्।

अनेकौं अन्योल र अस्पष्टताका बीच सरकारको नेतृत्व गरेको माओवादीले जनयुद्ध सुरु गरेको दिन फागुन १ मा बिदा दिने निर्णय गरेको थियो। माओवादीले तत्कालीन सरकारविरुद्ध २०५२ साल फागुन १ गते जनवादी क्रान्ति लक्षित सशस्त्र युद्ध सुरु गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष माघ २९ गते बिदा दिने निर्णय गरेको थियो। तथापि सर्वोच्च अदालतले बिदा दिने सरकारको निर्णय पुस १३ गते बदर गरिदिएको थियो।

आज माओवादीले सुरु गरेको जनयुद्ध २९ औं वर्ष पार गरेको छ। यसबारे विभिन्न मतभेद र असहमति रहेपनि  माओवादी शान्तिप्रक्रियामा आएको १७ वष भइसकेको छ। आज(मंगलबार) २९ औं जनयुद्ध दिवस औपचारिक कार्यक्रम गरी मनाउँदै छ।

माओवादीको जनयुद्धका क्रममा शीर्ष नेताहरुको बासस्थान भारतमा रहेकाले कतिपयले भारतकोे प्रत्यक्ष प्रभाव रहेको आरोप लगाउने गर्दछन्। तर कम्युनिष्टहरु अन्तर्राष्ट्रियवादी भएकाले जहाँ पनि आश्रय लिन सकिने माओवादी नेताहरुको तर्क छ।

शान्ति प्रक्रियामा आए यता प्रकाशित भएका कतिपय पठन सामग्रीमा समेत माओवादी युद्धमा भारतको प्रत्यक्ष भूमिका रहेको दाबी गरिएको छ।त्यसबखत माओवादीमै सहभागी भएका कतिपय नेताहरुले पनि भारतको सरकारी संरक्षणमा शीर्ष नेताहरु रहेको अभिव्यक्ति दिने गरेका छन्।

यसमध्ये माओवादी जनयुद्धमा सहभागी भएका भरत दाहाल एक हुन्। उनी माओवादी जनयुद्धको सुरुवाती चरणमा सहभागी भएपनि केही वर्षपछि पार्टी परित्याग गरेका थिए।

हाल राजनीतिक विश्लेषकका रुपमा सञ्चार माध्यममा छाउने दाहालले भारतीय उत्तर प्रदेश सरकारको कृषि मन्त्रालयको सरकारी निवासमा दाहाल भट्टराईसँग युद्धकालमा भेटवार्ता गरेको दाबी गर्दै आएका छन्।

नेपालका सात दल र माओवादीको बीचमा बाह्रबुँदे सहमति भएको स्थल भारतमै माओवादीका दुई शीर्ष नेताको गिरफ्तारीले माओवादी जनयुद्ध सञ्चालनमा भारतको शंकास्पद भूमिकालाई लिएर निरन्तर प्रश्न उठ्ने गरेको छ।

त्यसलगत्तै माओवादी आन्दोलन भारतीय पक्षद्वारा सञ्चालित रहेको बुझेरै आफूले पार्टी परित्याग गरेको उनी सार्वजनिक रुपमा बताइरहेका छन्।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादीले सुरु गरेको जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा भारतबाट धमाधम कार्यकता पक्राउ गर्दै नेपाल सुर्पुदगी गर्ने र कतिपयलाई उतै जेलमा राख्ने कार्य पनि निकै चलेको थियो।

यही क्रममा २०६० तिर माओवादीका दुई शीर्ष नेता मोहन वैद्य भारतको सिलगुडीमा र अर्का वरिष्ठ नेता सिपी गजुरेलको चेन्नइमा भएको गिरफ्तारीलाई लिएर आशंकायुक्त प्रश्न उठ्ने गरेको छ।

यी नेताद्वयको पक्राउपछि जनवादी गणतन्त्रको लक्ष्यसहित सुरु गरिएको माओवादी जनयुद्ध २०६२ मा रुकुमको चुनवाङमा बसेको बैठकमार्फत निर्दिष्ट उद्देश्यबाट विमुख भई लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अंगाल्ने निर्णय गरेको थियो।

युद्धरत माओवादीको सोही चुनवाङ बैठकको निर्णय बमोजिम तत्कालीन सात दलसँग २०६२ मंसिर ७ मा नयाँदिल्लीमा गरिएको बाह्र बुँदे सहमतिले २०६२-६३ को जनआन्दोलन हुँदै २०६३ मंसिर ५को बिस्तृत शान्ति सम्झौताले नै आजको राजनीतिक व्यवस्थाको दिशानिर्देश गरेको हो।

नेपालका सात दल र माओवादीको बीचमा बाह्रबुँदे सहमति भएको स्थल भारतमै माओवादीका दुई शीर्ष नेताको गिरफ्तारीले माओवादी जनयुद्ध सञ्चालनमा भारतको शंकास्पद भूमिकालाई लिएर निरन्तर प्रश्न उठ्ने गरेको छ।

हाल प्रधानमन्त्री रहेका माओवादीका तत्कालीन सुप्रिम कमाण्डर दाहालले शान्ति प्रक्रियामा आएपछि पत्रकार विजयकुमार पाण्डेलाई दिएको अन्तरवार्तामा बाह्रबुँदे सम्झौतामा भारतको सकारात्मक भूमिका रहेको घुमाउरो तवरले स्वीकार गरेका छन्।

प्रत्यक्ष संलग्नता नरहेको दाबी गर्दै दाहालले बाह्र बुँदे सहमतिको तारतम्यका क्रममा भारतले आफ्नो निगरानी खुकुलो पारेको सहजै स्वीकार गरेका थिए।

आज पनि बाह्र बुँदे सहमति गराउन भूमिका खेलेको भारतले माओवादीका तत्कालीन दोस्रो वरियताका नेता वैद्यको गिरफ्तारीमाथिको कारणबारे शंका यथावत छ। यसको बास्तबिकता आजसम्म उजागर हुन सकेको छैन।

माओवादी आन्दोलनलाई नजिकबाट नियालिरहेकाहरुले यी नेताद्वयको गिरफ्तारीलाई संशयको दृष्टिले अहिलेसम्म हेरिरहेका छन्। यसलाई नियोजित रुपमा गराइएको रहस्यमय घटनाका रुपमा औंल्याउँछन्।

भारतमा पक्राउ गरिएका माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले आफूहरुको भारतमा भएको गिरफ्तारी शंकास्पद भएको तर्क गर्छन्। पार्टीभित्रैको शंकास्पद भूमिकाले वैद्य र आफ्नो गिरफ्तारी भएको निष्कर्ष निकालिएको उनी बताउँछन्।

हाल क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेता रहेका गजुरेल भन्छन्, ‘२०६० तिर उहाँ(वैद्य) सिलुगडीबाट र म चेन्नइबाट भएको गिरफ्तारी पछि नै माओवादी आफ्नो निर्दिष्ट उद्देश्यबाट विमुख भएर चुनवाङ हुँदै लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा तय गरेको हो।’

उनले अगाडि थपे, ‘हाम्रो गिरफ्तारीलाई लिएर पार्टी नेतृत्वकै योजनामा भएको यथेष्ट पुष्टि हुन नसकेपनि कतिपय घटनाक्रम र नेतृत्वले अंगीकार गरेको राजनीतिक मार्गले त्यस्तै संकेत गर्दछ।’

उनले चुनवाङ बैठकले संसदीय यात्रा तय गरेको बताउँदै नेता वैद्यसहित आफूलाई भारतमा पक्राउ गरी सोही स्थानमा भारतकै रोहवरमा १२ बुँदे सहमति गराउनु निकै रहस्यमय रहेको जिकिर गरे।

जनयुद्धको सुरुवातमा तय गरिएको मार्ग परिवर्तन गरेर संसदीय राजनीतिमा अवतरण गर्न आफूहरु नभए सहज हुने पार्टी नेतृत्वको निष्कर्षसहित भारतीय पक्षबाट गिरफ्तारी गराएको गजुरेलको आँकलन छ।

कतिपय भारतीय शुभचिन्तक राजनीतिक दलका नेताहरुले आफ्नो रिहाइपछि पार्टीकै शीर्ष तहका नेताहरुबाट गिरफ्तारी गराइएको प्रबल सम्भावना रहेको आशंकायुक्त अभिव्यक्ति आफूलाई सुनाइएको उनले स्मरण गरे।

उनले भने, ‘रिहाइपछि हामीलाई कतिपय भारतीय शुभचिन्तक तथा मित्र पार्टीका नेताहरुले गिरफ्तारीमा पार्टीकै शंकास्पद भूमिका रहेको औंल्याए पनि यसको ठोस प्रमाण जुट्न नसकेकाले यकिनका साथ भन्न सकिँदैन। ’

गिरफ्तारीमा नेतृत्वकै संदिग्ध भूमिका रहेको उजागर भए पनि आधिकारिकता पुष्टि गर्ने प्रमाणिक आधार नहुँदा किटानका साथ उल्लेख गर्न असहज भएको उनको ठहर छ।

भारतमा शीर्ष नेता वैद्य र गजुरेलसहित युद्धकालमै अन्य नेताहरु पनि पक्राउ परेका थिए। ती पक्राउ गरेका नेताहरुलाई नेपाल सुपुरदगी गरिएको थियो। तर गजुरेल र वैद्य भने शान्तिप्रक्रिया सुरु भएपछि भारतबाटै रिहा भएका हुन्।

भारतमा नेता कार्यकर्ताहरु ठूलो मात्रामा पक्राउ पछि माओवादीले अन्तरपार्टी कारबाही पनि चलाएको थियो।भारतको पटनामा ठूलो संख्यामा नेता कार्यकर्ताको गिरफ्तारी भएपछि पार्टीकै अर्का नेता बाबुराम भट्टराई पक्षीय नेताहरुलाई दाहाल पक्षले आरोप लगाएको थियो।

यसले पनि माओवादीमा भट्टराई र दाहालबीच आन्तरिक किचलो उत्कर्षमा पुगेर भट्टराई पक्षीय कतिपय नेताहरुले पार्टीको आन्तरिक कारबाही समेत भोगेका थिए।

त्यतिबेला भट्टराई पक्षमा रहेका कतिपय नेताहरुको शंकास्पद भूमिका रहेको भन्दै पार्टीभित्रै कतिपयलाई निलम्बन र यातना समेत दिइएको विषय सार्वजनिक भइसकेकै हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *