माओवादीको विधान सम्मेलन

महेश्वर दाहालको प्रस्ताव : केन्द्रीय सदस्यको सम्पत्ति पार्टीकरण गरौं

डिसी नेपाल
२ फागुन २०८० १५:०२
68
Shares

काठमाडौं। नेकपा(माओवादी केन्द्र)को मंगलबारदेखि जारी प्रथम विधान सम्मलेनमा पार्टीको आगामी मोडालिटीका विषयमा छलफल भइरहेको छ ।

२० वटा समूहमा विभाजन गरेर जारी छलफलमा पार्टीको आगामी संरचना र पार्टी विधानमा समेटिनुपर्ने विषयमा सहभागीहरुले आफ्ना धारणा राखिरहेका छन् ।

पार्टीको प्रचार विभाग उपप्रमुख एवं सिन्धुली जिल्ला इन्चार्ज महेश्वर दाहालले पार्टीका केन्द्रीय सदस्यहरुको सम्पत्ति पार्टीकरण गर्न सुझाब दिएका छन्। उनले बैठकमा सात बुँदे प्रस्ताव प्रस्ताव पेश गर्दै आगामी विधानमा ती विषय समेट्न जोड दिएका छन्।

सात बुँदे प्रस्तावको दोस्रो बुँदामा लेखेका छन्,‘केन्द्रीय सदस्यहरुको परिवारको सम्पति पार्टीकरण गरेर सामूहिकतामा जान बल गरौं । यदि तत्काल सकिँदैन भने श्रीमती परिवारका सदस्यको सम्पत्ति छुट्याएर कमसेकम केन्द्रीय सदस्यहरुको सम्पत्ति पार्टीकरण गर्ने कार्य आजदेखि नै कार्यान्वयन गरौं।’

उनले विगत जनवादी क्रान्तिको चरणमा सम्पत्ति पार्टीकरण गरिएको स्मरण गराउँदै केन्द्रीय सदस्यहरुको तत्कालीन अभियानले त्याग र वलिदानको भावना विकास भएको उल्लेख गरेका छन्।

उनले सत्ता र पार्टी कार्य सञ्चालनका लागि नेताहरुको अलग अलग कार्य विभाजन गर्न पनि जोड दिएका छन्। उनले वृहत वामएकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद त्यागेरै भएपनि पहल गर्न आवश्यक रहेको प्रस्तावित सात बुँदेमा औंल्याएका छन्।

नेता दाहालले विधान सम्मेलनमा पार्टीको जनयुद्धकालीन कार्यदिशा एक्काइसौं सताब्दीको जनवाद अंगीकार गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

उनले भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले विधान सम्मेलनको पूर्वसन्ध्यामा वैकल्पिक केन्द्रीय सदस्य थप गरिएको प्रति असहमति जाहेर गरेका छन्।  विधान सम्मेलनलाई अवज्ञा गरि वैकल्पिक सदस्य थप गरिएको उनको ठहर छ।

यस्तो छ दाहालको सात बुँदे प्रस्ताव

१. विधानको प्रस्तावनामा स्पष्ट भाषामा समाजवादी दर्शन र मूल्य मान्यतालाई उल्लेख गर्न आवश्यक छ जो हाम्रो विधानको आधार हो र हुनुपर्छ । हाम्रा मुख्य उद्देश्य र दिशा यसले निर्धारण गर्न सक्नुपर्छ । जुन उद्देश्यले सामाजिक, आर्थिक लक्ष्य स्थापित गर्न सकियोस ।

२. सकेसम्म केन्द्रीय सदस्यहरुको परिवारको सम्पत्ति पार्टीकरण गरेर सामूहिकतामा जान बल गरौं । यदि तत्काल यो सकिदैंन भने श्रीमती, परिवारका अन्य सदस्यको सम्पत्ति छुट्याएर कमसेकम केन्द्रीय सदस्यहरुको सम्पत्ति पार्टीकरण गर्ने कार्य आजदेखि नै कार्यान्वयन गरौं । पार्टीलाई समाजवादीकरण दिशामा लैजान पहल गरौं । नयाँ जनवादी क्रान्तिको तयारीमा पार्टीले केन्द्रीय सदस्यहरुको एक हिस्सा सम्पति पार्टीकरण गरेको हो । केन्द्रीय नेताहरुको यो पहलले पार्टी कार्यकर्ता र जनतामा त्याग, वलिदानको भावना विकास भएको हो । समाजवादी यात्रामा जानका लागि फेरि कमसेकम केन्द्रीय सदस्यहरुमा त्यो त्याग भावनाको विश्वास पैदा गर्न अत्यावश्यक छ । क्रान्तिकारी विचारसँगै क्रान्तिकारी आचरणलाई पनि जोड दिऔं ।

३. इतिहासका अनुभव र एक्काईसौ शताब्दीको जनवादको विकासको कार्यान्वयन ढिला भएको छ । जनयुद्धकालमा पारित गरिएको यो विषयलाई ठोस, मूर्तिकृत गर्दै कार्यान्वयन जरुरी छ । त्यसमा लेखिएको छ, अनुभवले सावित गरेको छ कि राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीका तमाम नेता तथा कार्यकर्ताहरु राज्यसत्ता सञ्चालनमा मात्र संलग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई क्रमशः नोकरशाही, पदलोलुप र सुविधा सम्पन्न वर्गमा परिणत गर्ने खतरा तीब्र र प्रबल बनेर जान्छ।

यस प्रकारको खतराको तीब्रता र प्रबलतासँगै पार्टीको जनसमुदायसँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलगथलग बन्दै जान्छ । त्यो प्रक्रिया आफ्नो विकासको एउटा निश्चित विन्दुमा पुगिसकेपछि त्यो अनिवार्य रुपले प्रतिक्रान्तिमा बदलिन पुग्दछ । प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नका लागि दुई लाइन संघर्ष र निरन्तर क्रान्तिको सिद्धान्तअनुसार पार्टीलाई सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने संगठनात्मक विधि र मान्यतामा अझै विकास गर्न जरुरी छ ।

यसका लागि पार्टीभित्र चल्ने दुई लाइन संघर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरुदेखि कार्यकर्ताहरुसम्मको एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को हिस्सा सत्ता संचालनमा लाग्ने र निश्चित अवधिको अन्तरमा कार्यविभाजनमा हेरफेर गरी सिंगो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यक छ ।

अहिले उत्पीडित वर्गको राज्यसत्ता कब्जा नगरेको अवस्थामा त झन प्रमुख नेतृत्वसहित पदाधिकारी, स्थायी समितिका नेताहरु नै सरकारमा पटक पटक जाने, लामो समय रहँदा कम्युनिस्ट पार्टी र आन्दोलनलाई धेरै नै ठूलो क्षति पुर्याएको छ । नेपालमा मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनलाई नै दिशा दिनका लागि पार्टी अध्यक्ष प्रचण्डले सबैभन्दा बढी मेहनत गर्नुपर्ने बेला छ यतिबेला ।

फराकिलो कम्युनिस्ट अन्तर्राष्टिय बनाउनु पर्छ । नयाँ, विकसित रिम बनाउनु पर्छ । यसका लागि अध्यक्षले तत्काल प्रधानमन्त्री त्यागेर अरु कमरेडलाई अगाडि सारेर एक्काईसौं शताब्दीको समाजवादी कार्यदिशा निर्माण गर्न पहल बढाउनु पर्छ । एकपटक मन्त्री भइसकेकाहरुलाई हटाएर सबै नयाँ कमरेडहरुलाई मन्त्रीमण्डल लैजाऔं । अनुभवी कमरेडहरुलाई बरु नयाँ मन्त्रीहरुलाई गाइड गर्नका लागि पार्टीमा एउटा संयन्त्र बनाऔं ।

४. यतिवेला नेपालमा वामपन्थी पार्टी र आन्दोलन ठूलो संकटमा छ । समाजवादमा जाने शर्तमा, समाजवादी कार्यदिशा निर्माण गरेर एमालेसहितका सबै वामपन्थी शक्ति र व्यक्तिहरुसँग एकताका लागि पहल बढाऔं । अधिकतम लचिलो बनेर माओवादी पार्टी र आन्दोलन पुनर्गठनका लागि हात अगाडि बढाऔं । सरकार, सदन र सडकलाई एकीकृत र व्यवस्थित रुपमा लैजानुपर्छ । सडक र संसारलाई बलियो बनाउनु पर्छ । लाखौं नेपाली श्रमिकहरु संसारभरि नै रहेकाले पनि त्यहाँको संगठनात्मक कामलाई पनि विशेष जोड दिन आवश्यक छ ।

५. पार्टीभित्र प्रत्यक्ष निर्वाचनमा जान जरुरी छ । अध्यक्षसहित सबै पदाधिकारी, स्थायी समिति, केन्द्रीय सदस्य र सबै तहको निर्वाचन प्रत्यक्षरुपमा गरौं । यसले पार्टीमा नयाँ नेतृत्वको विकासका लागि ढोका खोल्नेछ ।

६. पार्टीभित्र भएका सबै अनियमितता रोक्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने ।

७. विधानको पूर्वसन्ध्यामा वैकल्पिक केन्द्रीय सदस्य थपेर यो विधान अधिवेशनलाई नै पंगु बनाइयो । जो जो कमरेडहरू बन्नुभयो, न्याय नै भएको छ तर प्रक्रिया गलत अपनाइयो । अहिले केस थपेर विशेष अधिवेशन पन्छाएको भन्ने देखिदैंन ?

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.