बाबुरामले सम्झिए टोपबहादुरकी श्रीमतीले किनिदिएको टोपी
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले तत्कालीन जनयुद्धकालीन भूमिगत अवस्थाबाट वार्ताको समयमा सार्वजनिक हुँदा लगाइएको टोपीको अन्तर्य खुलाएका छन्।
उनले बिहीबार सामाजिक सञ्जालमा त्यस अवधिमा ‘बाबुराम टोपी’को रुपमा ब्राण्ड बनेको उक्त टोपी पहिरिँदाको अन्तरकथा सार्वजनिक गरेका हुन्।
उनले टोपी लगाइएको क्षणको स्मरण गर्दै उक्त टोपी तत्कालीन माओवादीमा आफ्नो विश्वासपात्र रहेका नेता टोपबहादुर रायमाझीको श्रीमती माया रायमाझीले किनिदिएको बताएका छन्।
२०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेपछि भूमिगत भएका भट्टराईले २०५९ मा युद्धविराम पछि सरकारसँग वार्ताकालको समयमा सार्वजनिक हुँदा लगाएको टोपी निकै चर्चीत बनेको थियो।
माओवादीमा भट्टराईका विश्वासपात्रका रुपमा चिनिएका रायमाझीकी श्रीमतीसँग तत्कालीन अवस्थालाई मध्यनजर गर्दै पोशाकको व्यवस्था गर्न आग्रह गर्दा उनले नै सो टोपी ल्याइदिएको बताएका छन्।
जनयुद्धकालदेखि शान्तिप्रकियामा आइसकेपछि पनि माओवादीभित्र भट्टराई पक्षका रुपमा रायमाझी परिचित थिए। तथापि पछिल्लो समय नयाँ शक्ति गठन गर्न भट्टराईले माओवादी छाडेपछि भने रायमाझीले उनलाई साथ दिएनन्।
माओवादीमै रहेका रायमाझी २०७५मा उनको दलले एमालेसँग एकता गरेपछि नेकपामा पुगेका थिए।यद्यपि पार्टी एकता दुई वर्ष पनि टिक्न नसकेर अलग भएपछि उनी एमालेमै रहेका थिए।
एमालेको सचिव रहेका रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएपनि अहिले नक्कली शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा पुगेपछि निलम्बित भएका छन्।
२०४७ सालदेखि नेकपा(मसाल)हुँदै एकताकेन्द्र र त्यसपछि बनेको माओवादीले सुरु गरेको जनयुद्धको कठीन समयमा समेत भट्टराई र रायमाझी सँगसँगै एकअर्काका निकटस्थका रुपमा रहेका थिए ।
भट्टराईले सोही जनयुद्धकै समयमा सरकारसँग वार्ताका लागि सार्वजनिक हुँदा उनै रायमाझीकी श्रीमतीले किनिदिएको टोपीको अन्तरकथाबारे यस्तो लेखेका छन्-
‘बाबुराम टोपी’ को अन्तर्कथा
२०५९ माघ–फागुनको कुरा हो। तत्कालीन माओवादी र सरकार वीच युद्धविराम घोषणा भयो!
मेरो नेतृत्वमा माओवादी वार्ता टोली गठन भएर काठमाण्डौमा खुला हुने निर्णय भयो।
खुला हुने दिन कुन भेषमा प्रस्तुत हुने? भन्ने प्रश्न उठ्यो! वार्ता भंग भएर फेरि भूमिगत हुनुपर्ने हुनसक्थ्यो।
टोपबहादुर रायमाझीकी पत्नी माया रायमाझी संगै हुनुहुन्थ्यो! मैले भने– ‘ लौ बैनी, तपाईंले आइडिया निकाल्नोस् त! जे मनलाग्छ बजारबाट ल्याउनोस्।’
उहाँले यही टोपी सहितको ड्रेस किनेर ल्याउनुभयो! हामी चैतमा काठमाण्डौमा यही टोपी सहित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सार्वजनिक भयौं!
चार महिना पछि वार्ता भंग भएर हामी पुनः भूमिगत भयौं!
टोपी चाहिं ‘ बाबुराम टोपी’ को ब्राण्ड बनेछ !







डिसी नेपाल








Facebook Comment