विराटनगरमा इस्कोनको रथयात्राकाे राैनक

डिसी नेपाल
८ फागुन २०८० ६:५१

बिराटनगर। इस्कोन विराटनगरको २०८० फागुन ७ गते सोमबारका दिन भव्य रुपमा जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना भएको छ सम्पन्न भएको छ।

गणेशप्रसाद राठीको संयोजकत्वमा सम्पन्न यस रथयात्रा विश्व प्रसिद्ध गुरु तथा भूतपूर्व आर्मी कमान्डर स्वामी पत्री दास प्रभुजी, नेपाली युवामा आधुनिक इन्जिनियर गुरु भनेर लोकप्रिय रुपेश्वर गौर प्रभुजीको पनि विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि पञ्चाली लक्ष्मी नारायण मन्दिरका महन्त स्वामी अच्युत प्रपन्नचार्यले वैदिक सनातन धर्मको रक्षार्थ इस्कोनले महत्त्वपूर्ण भूमिका खेलेकमा प्रशंसा गरेका थिए।

इस्कोन नेपालका अध्यक्ष परमेश्वर अचुदासले विराटनगर धार्मिक ऐतिहासिक सहर भएको उल्लेख गर्दै जगन्नाथ रथयात्राले यस नगरीको महाभारतकालीन गरिमालाई पुनरर्जागरण गर्ने विश्वास व्यक्त गरे। वरिष्ठ चिकित्सक डाक्टर मदन कोइरालाले यस रथयात्राको प्रमुख सल्लाहकारको भूमिका निर्वाह गरेका थिए।

प्रसिद्ध ४ धामहरूमध्ये एक जगन्नाथपुरी धाममा विराजमान भगवान जगन्नाथको रथयात्रालाई संसारका प्रत्येक गाउँ सहरमा पुर्याउने क्रममा सम्पूर्ण विराटनगरबासी आध्यात्मिक लाभका निम्ति नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कनले) यस रथयात्रा आयोजना गरेको हो।

इस्कोनले हालसम्म ७८ भन्दा बढी देशमा जगन्नाथ रथयात्रा आयोजना गर्दै आइरहेको छ। नेपालमा पनि हालसम्म बागमती, मधेस, लुम्बिनी, कोशी प्रदेशका दर्जनौं स्थानहरूमा रथयात्रा आयोजना भइरहेको छ।

विभिन्न कारणवश मन्दिरमा गई भगवानको दर्शन गर्न असमर्थ भक्तजनहरु लाई दर्शन दिन रथयात्राको समयमा स्वयं भगवान जगन्रनाथलाई सवार गराई नगर परिक्रमा गराइन्छ।

यस पावन अवसरमा आफ्नै घर दैलोबाट नै भगवानको दिव्य दर्शन तथा भगवानलाई अर्पण गरिएको प्रसाद ग्रहण गर्ने सुवर्ण अवसर मिल्छ। पौराणिक महत्व अनुसार भगवान जगन्नाथको रथको दर्शन मात्र गर्नाले पनि सांसारिक कलेसबाट मुक्त भई जन्म मृत्युको चक्रबाट पार पाउन सकिन्छ।

प्राचीन समयमा राजा इन्द्रदुम्नले जगन्नाथपुरी धाममा भगवान जगन्नाथको श्रीविग्रह स्थापना गरी वृन्दावनको विप्रलम्ब लीला स्मरण गर्दै रथयात्रा महामहोत्सव आयोजना गरेका थिए। कुरुक्षेत्रमा भगवान श्रीकृष्ण र ब्रजवासीको पुनर्मिलन पश्चात बिछोडको समयमा भगवान श्री कृष्ण सवार रथलाई द्वारका जानबाट ब्रजबसीहरुले रोकेर वृन्दावनतर्फ तानेका थिए।

भक्तजनहरूले पनि यस लीलाको स्मरण गर्दै भगवानलाई पुन आफ्नो हृदयमा विराजमान गराउन विनम्रतापूर्वक प्रार्थना गर्दै रथको डोरी खिच्दछन्।

रथयात्रा इस्कोनका संस्थापक आचार्य ए सी भक्ति वेदान्त स्वामी प्रभुपादले पहिलोपटक सन् १९७० मा पाश्चात्य मुलुकहरूमा आयोजना गरेका थिए। यसै परम्पराको अनुसरण गर्दै इस्कोन विराटनगरले पौराणिक महत्व बोकेको विराटनगरमा भगवान जगन्नाथको रथयात्रा आयोजना गरिएको हो।

जगन्नाथ रथयात्रा राम जानकी मन्दिरबाट बिहान ११ बजे प्रारम्भ भई महेन्द्रचोक, गरिबनाथ शिव मन्दिर, भृकुटी चोक , सत्यनारायण मन्दिर, काली मन्दिर, पञ्चमुखी हनुमान मन्दिर भई सिटी प्यालेसमा सम्पन्न भएको थियो।

रथयात्राको समापन पश्चात् सिटी प्यालेसमा प्रसादम वितरण सांस्कृतिक कार्यक्रम नाटक नृत्य भजन किर्तन तथा स्वामी पत्री प्रभुजी को विशेष आध्यात्मिक प्रवचन एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *