पुस्तक समिक्षा : लेखक घिमिरेको ‘गाउँले दशैं-तिहार, चौरासी व्यञ्जन र सोमरस’ 

डिसी नेपाल
९ फागुन २०८० १०:२७

खाद्य तथा औषधि विज्ञको रूपमा विगत १७ वर्ष देखि क्यानडा लाई आफ्नो कर्म क्षेत्र बनाएका नेपाली मूलका क्यानेडियन वैज्ञानिक तथा अथर्ववेदाचार्य नारायण घिमिरेको वेद र विज्ञानको दृष्टिकोण वाट लेखिएको पुस्तक “गाउँले दशैं-तिहार, चौरासी व्यञ्जन र सोमरस” हालै नेपाल बजारमा आएको छ। पुस्तकमा घिमिरेले दशैंको चमत्कारी मालश्री धुन र त्यसको मानव मनोविज्ञानमा हुने गहिरो प्रभाव बारे लेखेका छन्।

दशैं मा नारी, पुरुष र तेस्रो लिंगी लाई वेदको भावार्थले दिने आशिष मन्त्र र त्यसको चुरो भावना बारे चर्चा छ। हाल सम्म हामीमा नारी र पुरुष लाई मात्र दशैं-मन्त्र रहे जस्तो गरी चर्चा हुने गरेकोमा तेस्रो लिंगीलाई वेदमा व्यवस्था भएको दशैं-मन्त्र समेत पुस्तकले उजागर गरेको छ।

पुस्तकले वैदिक खानपान र तिनका रहस्य उजागर गर्दै दशैं र तिहारमा हाम्रो परम्परामा रहेका मुख्य खानाको पोषण लगायत औषधीय मूल्यको मात्र नभएर त्यसको आध्यात्मिक मूल्य बारे पनि कुरा गरिएको छ। दशैं र तिहार पर्व कसरी हरेक व्यक्तिको लागि फगत पर्व मात्र नरहेर आफैंलाई पुनः आविष्कार गर्ने अवसर हो भन्ने बारे पुस्तकले गहिरो अवधारणा अघि सारेको छ।

प्रसन्नता, मौसम र मेजमानी; सेल रोटी झ्वाइँ पार्ने घ्यू; खसीको मासु किन खाने ? वा नखाने आदि बारे चर्चा भएको यो पुस्तकमा पुर्खाले चिनेको सयपत्री, सयपत्री र मखमलीको माला आदि बारे उल्लेख गर्दै हाम्रा दशैं-तिहारमा उपयोग हुने हरेक वनस्पतिको गुण औषधीय र मानसिक स्वस्थ प्रवर्धन गर्ने बस्तुको रूपमा रहेको रहस्य खोल्न सफल देखिन्छ।

पुस्तकले तिहारको सन्दर्भमा वैदिक सूर्य सिद्धान्तको गहिरो व्याख्या गर्दछ। हाम्रो तिहार सूर्य सिद्धान्तको महिमा गर्न स्थापित भएको गोप्यता खोल्दै पुस्तकमा सूर्य सिद्धान्त अन्तर्गत कसरी हाम्रो सम्पूर्ण शरीर सञ्चालनका ११+२ प्रणालीहरूको सूर्य सिद्धान्त व्याख्या भएको छ सो बारे प्रस्ट दृष्टिकोण दिइएको छ।

अथर्ववेदमा आधारित तिहार; मानव स्वास्थ्यमा प्रकाशको किरणको भूमिका, पौराणिक कथामा यम पञ्चक, वैदिक दीपावली उत्सव, तिहारको दियोले के भन्छ? र तिहारको देन छपन्न भोग व्यञ्जन भन्ने व्यवहारिक अवधारणाले वैदिक ज्ञान बारे हाम्रो समाजलाई चुरो विषय बस्तु बुझ्ने अवसर दिने गरेको छ।

त्यसमा पनि तिहार पर्व कसरी र किन योगको अभ्यास र तालिमको दृष्टिमा महत्त्व पूर्ण छ, दिदी भाइ हरुको नाता कसरी पवित्र छ मात्र नभएर वेदमा सोमरस तथा सोमरस र जीवन विज्ञान वारेको परम्परागत ज्ञान पुस्तौँ पुस्ता हस्तान्तरणमा तिहार पर्व कसरी सहायक हुन पुग्यो भन्ने चर्चा निकै घोचक र रोचक छ।

दशैं आफैंमा आफ्नो अहंकार आफैले पहिचान गरेर नष्ट गर्ने अनि आफूले आफैलाई सुधार्ने अवसर रुपी महान् यज्ञको रूपमा रहेको छ भन्ने प्रस्ट्याउँदै गर्दा दशैं जस्ता हाम्रा परम्परा र संस्कृति कसरी सम्पूर्ण मानव तथा लिंग मैत्री छ सो बारे प्रस्ट गर्छ। मानव उत्थानको लागि प्रेरक प्रकृति मैत्री अवधारणा हाम्रो समाजको भित्री तह सम्म पुर्‍याउन दशैँको भूमिका बारे चर्चा गर्दै पुस्तकले दशैंको देनको रूपमा आएको चौरासी व्यञ्जन तथा खानपानका वैदिक विधि बारे चर्चा गर्दछ।

प्रवासमा रहेर नेपालका हर्बल, वैदिक खानपान बारे बुझ्ने, त्यसलाई वेद र विज्ञानको अवधारणा अन्तर्गत डिकोड गरी आयुर्वेदिक हिलिङमा वैदिक खानपान तथा आयुर्वेदिक औषधिमूलोको समायोजन बिन्दु पहिल्याउने र त्यही ज्ञानको आध्यात्मिक ज्ञान मार्फत सुखको वैज्ञानिक व्याख्या गर्ने क्वान्टम हिलिङ इनोभेसन प्रविधिमा जुरेका घिमिरेको यो पुस्तक पड्दै गर्दा पुस्तकले सोम रस र मनोवैज्ञानिक हिलिङ अन्तर्गतको क्वान्टम हिलिङ बारे अझ धेरै ज्ञान लिने भोक जन्माउने गर्दछ। सानो पुस्तकमा धेरै कुरा अट्न सम्भव नरहे पनि नेपाली समाजमा त्यो पाटोमा अझै गहिरो ज्ञान आएको छैन। आशा गरौं आगामी अंकमा त्यो पाटो समेत समावेश हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *