प्रतिपक्षी दलले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ

डिसी नेपाल
१४ फागुन २०८० १३:३४

काठमाडाैं। सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलले उठाएका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई पुनः रुलिङ गरेका छन्।

विभिन्न माग राखी नाराबाजी गरेपछि संसदको बैठक अवरुद्ध भएपछि सोमबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा सभामुख घिमिरेले प्रतिपक्षी दलले उठाएका विषयमा फागुन १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई पुनः रुलिङ गरेका हुन्।

त्यस्तै दोश्रो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले प्रस्ताव पेश गर्ने विषय संसद्को कार्यसूचीबाट समेत हटाइएको थियो। सभामुखको रुलिङपछि संसदको बैठकको अवरोध हटेको छ।

यसअघि पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले बिभिन्न माग राखेर नारावाजी गरेका थिए। बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल एमालेलगायत अन्य विपक्षी दलका सांसदहरु आफ्नो आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटालाई बोल्न समय दिएका थिए।

सांसद बाँस्कोटाले विपक्षी दलले सदनमा उठाएका समसामयिक विषयमा सरकार गम्भीर नभएको, सभामुखले रुलिङ गर्दा समेत सरकारले कुनै जवाफ नदिएको टिप्पणी गरे।

उनले मिटरब्याज पीडित न्यायका लागि काठमाडौं आउनुपरेको अवस्थामा सरकारले वेवास्ता गरेको, दूधको मूल्य नपाएर किसानले दूध बाटोमा पोख्नुपरेको अवस्थामा समाधानमा कुनै पहल नगरेको आरोप लगाए। सांसद बाँस्कोटाले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विवादित मन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग गरे।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने सभामुखबाट स्पष्ट रुलिङ गरेपछि सम्बन्धित मन्त्रीले जवाफ किन नदिएको भनी प्रश्न गरे। उनले मिटर ब्याज पीडितका समस्या सम्बोधनका लागि कानुन बनेपछि सरकारले कार्यान्वयन गर्न नसक्दा उनीहरुले न्याय नपाएको बताए।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडित जनताले न्याय नपाएको, दुग्ध किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको र लघुवित्त पीडितले न्याय नपाएको उल्लेख गर्दै समस्या समाधानमा ठोस सम्बोधन नभए बैठक अवरोध गर्ने चेतावनी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *