काठमाडौं आएर दुःख पाउनुभन्दा जिल्ला प्रशासन कार्यालय जान मिटरब्याज पीडितलाई सरकारको सुझाव

डिसी नेपाल
१५ फागुन २०८० १७:४६

काठमाडौं। सरकारका प्रवक्ता रेखा शर्माले मिटरब्याज पीडितहरुको सम्बन्धमा सरकार गम्भीर रहेको भन्दै जिल्ला प्रशासन मार्फत समस्याको समाधान हुने बताएकी छन्। मन्त्रिपरिष्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं आएर दुःख पाउनुभन्दा सम्बन्धित ठाउमा गएर समाधान खोज्न सुझाव दिइन्।

शक्तिशाली आयोग बनाएर मिटरब्याज समस्या सम्बोधन गर्ने प्रयास पूर्णरुपमा सफल नभएपनि बाँकी समस्या सरकारको पहलमा नै समाधान गर्ने उनको भनाइ छ।

मन्त्रिपरिषद बैठकले फागुन १६ र १७ गते नेपाल र भारतबीच परराष्ट्रसचिवस्तरीय हुने द्विपक्षीय भेटघाट एवं छलफल तथा भारतको पुनेमा आयोजना हुने आर्थिक संवादसम्बन्धी कार्यक्रमका उद्घाटन सत्रमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिइन्।

मन्त्रिपरिषदले चैत्र १ देखि ९ गतेसम्म अमेरिकामा हुने विश्व बैंक र नेपालबीचका नयाँ खाका, नेपालमा हुन लागेको आइडिएसम्बन्धी दोश्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युतसम्बन्धी बैठकमा अर्थमन्त्री र अर्थसचिवसहितको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ।

बैठकले दुबईमा फागुन १९ गते हुने रोजगार मेलामा सहभागी हुन श्रममन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय पनि गरेको छ भने पर्यटन बोर्डको कार्यकारी समितिमा रहने रिक्त सदस्य मनोनयनका लागि सरकारसमक्ष सिफारिस मनोनयन गर्न समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्। उनले मेडिकल काउन्सिलको रजिष्टार पदमा डा सतिस कुमार देवलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *