कथा

आफ्नै जीवन बाँच आमा

खेमराज पोखरेल
१९ फागुन २०८० ८:०४

आज हामी तीनै बहिनीको बिहे भइरहेको छ। मेरी आमा र हवल्दार साहेबलाई भ्याइनभ्याइ छ। कङ्कालिनी मन्दिर प्राङ्गणमा तीनवटा जन्ती आएका छन्। तर बेहुली भतेर एउटै छ। तीनवटा जग्गे छ। तीनतिर गोडा धुनु छ। कन्यादान गर्नु छ। मान्छे आए आएनन् हेर्नु छ । खाए खाएनन्, हेर्नु छ। पुरै चटारो छ । आमा राम्रो फरियामा झन् राम्री देखिनु भएको छ।

हामी दिदी बहिनीको कसैको पनि बेहुलासँग जात मिलेको छैन। तर बिहे मिलेको छ। मन मिलेको छ। विश्वास मिलेको छ। बाजा बजेका छन्। तीन थरि बाजा बजेका छन्। मेरा बेहुलाले अङ्ग्रेजी ब्यान्ड बाजा ल्याएका छन्। माइला बेहुलाले पञ्चे बाजा ल्याएका छन्।

र कान्छाले तराइको प्यारप्यारे लोकल बाजा ल्याएका छन्। ती बाजाहरू घरिघरि मिसिएर बज्छन्। एउटा अनौठो धुन निक्लिरहेछ। घरि अलग अलग बज्छन्। मानौ ती अलग छन्। ती बाजाले अलग अलग ठाउँमा जानु पर्छ। ती एकै पनि छन्। किनकि ती एउटै घरका पनि हुन्।

घरगाउँले र जन्ती गरेर कङ्कालिनी मन्दिरको आँगन पटामपट भरिएको छ। साथी भाइ आएका छन्। इस्टमित्र आएका छन्। परपाहुना आएका छन्। आफन्त आएका छन्। होहल्ला छ। रमिता छ। तर म परपर हेर्छु, मेरो आफ्नै बाउ आएका छैनन्। बाउपट्टिका आएका छैनन्।

तर पनि अन्माउने बेला भएको छ। हेर्दैछु, बहिनीहरू रुँदै छन्। म सोचिरहेकी छु। मैले रुन हुन्न। मैले बोल्ड हुनुपर्छ। म नै रोएँ भने बहिनीहरूले के गर्लान्! हामी अन्माइएका छौँ। म अन्माइएकी छु। खोई किन हो कुन्नि? आफैँले रोजेको पाउँदा पनि बहिनीहरू रोइरहेका छन्।

मेरा यी ‘बोल्ड’ आँखाबाट पनि आँशु तप्लक्क झरेका छन्। सायद एउटा नबुझिएको अनिश्चित यात्रा होला। निश्चितताबाट नयाँ अनौठो र मीठो अनिश्चितता होला। जे त होला। तर हामी रोइरहेका छौँ। आमा रोइरहनु भएको छ। झड्केला बा हवल्दार साहेब पनि पो रोइरहेका छन्। सायद उनको यो आँशु उत्तरदायित्वबोधका होलान्।
०००००
कक्षा भएन। म अचानक चाँडै घर फर्केकी थिएँ। बहिनीहरू कलेजमै थिए। घरको ओसारीमा बसेर आमा कसैसँग कुरा गरिरहनु भएको थियो। मैले झट्ट र प्रष्ट सुनेँ। आमा भन्दै हुनुहुन्थ्यो-

– माया त मलाई हजुरको पनि लाग्छ। हवल्दारनी साहेब बिती हाल्नु भयो। एक्लै हुनुहुन्छ। एक्लै जीवन बाँच्न कति कठिन हुन्छ त्यो मलाई थाहा छ, हवल्दार साहेब। तर सबै मायामा काया मिसाउन सकिँदो रहेन छ।

मैले झ्याङ्को आडमा छलिएर सुनिरहेँ। पल्ला गाउँका हवल्दार भन्दै थिए-

– तपाईँलाई थाहा छँदैछ। मेरी बुढीले बच्चा पाइन। डाक्टर देखाएँ। उसले बच्चा पाउन नसक्ने कुरो सुनायो। म छाँगाबाट खसेजस्तै भएको थिएँ। बुढीले त्यो दिनदेखि मलाई बिहे गर्न कचकच गरिरही। मैले बरु म मर्छु तर तिमीलाई सौता हाल्दिनँ भनेर अर्को बिहे गरिनँ। सँगै बाँच्ने, सँगै मर्ने बाचा गरेका हामीलाई दैवले देखि सहेन। उसलाई चुँडेर लग्यो।

आमा भन्दै हुनुहुन्थ्यो –

– हवल्दार्नी साहेबले बिहे गर्नु भन्नु भएकै थिएछ, किन नगर्नु भएको त? आखिर लोग्ने मान्छेले अर्को बिहे गर्दा समाजले पनि केही भन्दैन नि।
“हो तपाईँले भनेको कुरा हो। तर मलाई उसको यति माया लाग्थ्यो कि मैले बुढीको ‘हुन्न’ भने मेरो पनि ‘नहोस्’  भनेर परिवार नियोजन नै गरेँ। तर बुढीले अकालमै संसार छोडेर हिँडी। मलाई एक्लै बनाई। अब म को कन्ने केटी बिहे गरेर उसको जीवन बर्बाद गरुँ र?, उसका उच्छवासहरू किन मारूँ?” हबल्दार साहेब भन्दै थिए।

आमा बोल्नु भएन। बरु हवल्दार साहेब नै भन्दै थिए-

“तपाईँले मसँग बिहे गर्न मान्नु भयो भने, हाम्रा तीनवटी छोरीहरू हुनेछन्। हाम्रो संसार हुने छ। स्वर्गमा बास बस्न पुगेकी मेरी बुढीको आत्माले शान्ति पाउने छ। उसले मलाई मर्ने बेलामा पनि भनेकी थिई, ‘मेरो काल आइसकेको छ। म मर्नै आँटेकी छु। यी हेर त, यो मुटु घरि चल्छ, घरि चल्दैन। एउटी बिहे गरेरै बस है, तिमी एक्लो हुन्छौ। तिमीलाई केही आउँदैन। तिमीलाई जीवन बाँच्न धेरै गाह्रो हुन्छ। जीवन बाँच्नु भनेको ख्याल ठट्टा होइन।”
“यो पाप गर्न हुन्न हवल्दार साहेब, तपाईँको र मेरो जात पनि मिल्दैन। समाजले छिःछिः दुरदुर गर्छ” आमा आत्तिनु भएको थियो।

“जात होइन हजुर, मन मिल्नु पर्छ। हाम्रो मन मिल्यो भने, काग कराउँदै छ, पिना सुक्दैछ” हबल्दार फकाउँदै थिए।

म झ्वाट्ट गेट खोलेर आँगनमा पसेकी थिएँ। खोई किन हो मैले कुरा नसुनेकी केही चाल नपाएकी अभिनय गरेकी थिएँ। आमा र हवल्दार साहेब पनि मैले चाल नपाएकीमा ढुक्क देखिन्थे।
०००००

मेरी आमाको कथा डर लाग्दो छ। पीडा छ। प्रताडना छ। हेपाइस् छ। बुर्जुवा सभ्रान्तताको चपेटामा छ। म आमाका जीवन भोगाइका तरेली तरेली आँशुभित्र पस्छु। त्यसैत्यसै एउटा अजङ्गको पहाडजस्तो लाग्छ मलाई मेरी आमा। कसैले चिमोटे पनि अइया भन्न पाउँदैन पहाड।

कसैले खोस्रे पनि नाइ भन्न पाउँदैन पहाड। मन लागेका बेला उसको मालिक आउँछ। खोस्रन्छ। जान्छ। मलाई लाग्छ आमा कति रुनु भयो होला?, एउटा मान्छेका आँखामा कति आँशु हुन्छ होला?, निमेषभर आकाशतिर हेर्छु। पानी पर्न थालेको प्रतीत हुन्छ।

१२ वर्षको उमेरमा एउटा सभ्रान्त ठानिएको पन्डित परिवारमा बिहे गरि दिँदा सायद मेरा मावलीलाई राम्रो लागेको हुँदो हो। भाग्यमानी रहिछे ठानेका थिए होलान्। तर उफ, त्यो बुहार्तन, त्यो पीडा आमाले सहनु भएछ सजिलै।

कस्तो बाध्य हुन्छ हगि स्वास्नीमान्छे सहन। र समाज भनिदिन्छ सजिलै-आमा सहनशील हुनुपर्छ। आमा पृथ्वी हो। खने पनि सहनु पर्छ। खोस्रे पनि सहनु पर्छ। लछारे पनि सहनु पर्छ। पछारे पनि सहनु पर्छ। जे परे पनि सहनु पर्छ। माइतमा भए बाउको अधीनमा बसेर सहनु पर्छ।

घरमा भए लोग्नेको अधीनमा बसेर सहनु पर्छ। पछि छोराको अधीनमा बसेर सहनु पर्छ। यी शास्त्रका वाइह्यात कुरा झिकेर मेरो आमाको लोग्नेको सभ्रान्तता सामन्त भएको थिए। सामन्त, याने क्रुर सामन्त जहाँ स्वास्नीमान्छेको केही मूल्य छैन।

बिहे भएको अर्को वर्षदेखि लगातार वर्षेनी तीन छोरी पाउनु पर्दा आमा सायद कस्ती हुनुभएको थियो होला। अहिले म ठान्दै छु। अनुमान गर्दै छु। हाम्रा अबोध अनुहारमा हेरेर मुस्कुराउनु हुन्थ्यो होला। र एउटा सुन्दर सपना देख्नु हुन्थ्यो होला।

र जस्तै हेपाइस् भए पनि सहँदै जानु हुन्थ्यो होला। र पनि म त्यसबेलाको परिवेशलाई धन्यवाद दिन्छु। कम्तिमा छोरी भएर पनि बाँच्न त पाइयो। धन्य छ प्रभु, छोरी पहिल्याएर भ्रूण हत्या गर्ने विकसित विज्ञान त्यतिबेला थिएन। र सायद बाँचियो।

आमालाई एकदिन त्यो पन्डित लोग्नेबाट भनियो रे-–
“जेठी, तैँले छोरी छोरी पाइस्। छोरो पाउन नसक्ने भइस्। घरकै काम पनि राम्रोसँग गर्न नसक्ने भइस्। यस्तो तालले कसरी घर खान्छेस्। म अर्को बिहे गर्छु। आखिर छोरा नभै कुल तर्दैनन्। वंश धान्नु पर्यो। पिन्डपानीको संस्कार पनि चलाउनु पर्‍याे।”

सायद यो आमासँग अनुमति लिइएको होइन। निर्णय सुनाइएको थियो।

मेरी आमाका लोग्नेले आचार्य गरिसकेछन्। पन्डित, याने घागडान पन्डित। वेशासनमा बसेर खरर पुराण भन्ने नामुद पन्डित। शास्त्रको व्याख्या गरेर धर्म अधर्म छुट्याउने पन्डित। न्याय अन्यायको छ्यानविवेक गर्ने पन्डित।

र एकदिन आमाले सुन्नु भयो कि उहाँले सौता पाउनु भयो। तात्पर्य छोरा पाउनु थियो। सौता हालेपछि पन्डितजीले सहर बसाइँ सरे कान्छी बुढीसँग। कान्छी याने मेरी कान्छी आमा। मेरी सौतेनी आमा। तर अचम्म कहिल्यै भेट भएन। उनी पनि पढेलेखेकी। एम.ए. गरेकी।

काठमाडौँको एउटा संस्थामा काम पनि गर्ने। पढ्दा, पढ्दा उमेर छिप्याएकी। अलिकति थोरै अपाङगता पनि भएकी। सायद यही कमजोरी भेटे होला पन्डितजीले। सायद मेरी सौतेनी आमालाई पनि लाग्यो होला। यो पन्डितको अफर ठिक छ। मलाई खोई किन हो सौतेनी आमासँग रिस उठेन।

सायद उनलाई बिहे गर्न रहर लाग्यो होला। बुढिँदै गएको जीवनमा पनि भोलि पाल्ने पोस्ने उत्तराधिकारीको आवश्यकता ठानेको होला। आखिर रीतिथितिअनुसार लोग्नेमान्छेले अर्को बिहे गर्नु जायज हो भन्ने संस्कृतिको प्रभाव होला।

त्यसो भएर नै होला मेरी सौतेनी आमाले आफू महिला हक अधिकारसँग सम्वन्धित संस्थामा काम गर्ने भए पनि अर्की महिलाकै लोग्ने खोसेको होला। तर पनि एउटा प्रश्न समाजसँग गरिरहेकी छु। महिला अधिकारका बारेमा लड्ने मेरी सौतेनी आमासँग प्रश्न गरिरहेकी छु।

वा भनूँ एउटा प्रश्न परिवेशसँग गरिरहेकी छु कि के महिलाले पुरुषको नामबिना सन्तान पाउन हुन्न? खोई महिलाको प्रजनन् अधिकार? खोई मेरी सौतेनी आमाको अर्काको लोग्ने खोस्न हुन्न भन्ने चेत?

०००००

लोग्नेबिनाको संयुक्त परिवारमा बुहार्तन। गाई, बाख्रा, भैँसी, खेती, भकारा, घाँस, पात, संस्कार, चलन, खटन पटन। र त्यसमाथि घरका मान्छेको उक्साहटमा पाइने लोग्नेको कुटाइ। हुँदो नखाँदोसँग आइलाग्ने अपगाल। यो कुरा भोग्ने मान्छेलाई मात्र थाहा हुन्छ होला।

सायद आमाले आत्महत्या गर्नु हुन्थ्यो होला। तर ओसारीका डीलमा नाङ्गै भुतुङ्गै खेलिरहेका, हाँसिरहेका, रोइरहेका, जुधिरहेका हामीलाई देखेर मर्न आँट पुग्दैनथ्यो होला। फाटेका चिथ्रा लगाएरै भए पनि सरकारी स्कुल पढ्दै गरेका हामीलाई देखेर सुदुरभविष्य सुन्दर देख्नु हुन्थ्यो होला। र मर्ने ‘आइडिया ड्रप’ गर्नु हुन्थ्यो होला। यही मृत्युको दोसाँधमा आमा कहिले मर्नु हुन्थ्यो होला। कहिले बाँच्नु हुन्थ्यो होला।

एकदिन आमाले सुनाउनु भएको थियो –

“ठूली, मेरो जीवनमा ती पर्धान बा भावी पल्टिए। तेरा बा घर आउनु भएको थियो। घरका सासू, ससुरा, नन्द, देवर आदिले तेरा बालाई पोल लगाए। उहाँ आउनु भयो र दुवाली झिकेर हिर्काउन थाल्नु भयो। म रोइरहेकी थिएँ। चिच्याइरहेकी थिएँ। जब उहाँ आउनु हुन्थ्यो यो कुटाइ नियमित थियो”
“अनि के भयो आमा?” मैले सोधेकी थिएँ।

“प्रधान बा त्यही बाटो आउँदै रहेछन्। आएर छुट्याए। र प्रधान बाले यो जेठीलाई तुरुन्त अंश दिएर छुट्टीभिन्न गराऊ। सधैँको रडाको। नत्र म तिमीलाई पुलिसमा जाक्छु, भने” आमाले भन्नु भएथ्यो।

“अनि त्यसपछि के भयो आमा?” अज्ञानजस्तै भएर कान्छी बहिनीले प्रश्न गरेकी थिई।

“भिठाबारी भए पनि मैले अंश पाएँ। त्यसैमा खनजोत गरेर मैले तिमीहरूलाई हुर्काएँ। त्यसपछि भने मैले प्रत्यक्ष कुटाइ खानु परेन”

मैले आमाको अनुहारमा हेरें। एउटा सन्तोष थियो। सायद भाग्यलाई धन्यवाद दिइरहनु भएको थियो। हामी तीनै दिदी बहिनी अँगेनाको डिलमा बसेर आगो ताप्दै आमालाई नै हेरिरहेका थियौँ। आमा अलि लजाएजस्तो गरी सारीको सप्कोले मुख छोपेर हाँस्नु भयो।

“के भयो आमा ? किन हाँस्नु भएको?” माइली बैनीले सोधी।

“हेरन, तिमेर्का बाउ कान्छीले पनि दुइटा छोरी पाएपछि फेरि पाउन मानिन भनेर मसँग आएर एउटा छोरा पाइदेन हौ, पो भन्थे”

हामी सबै हाँसेका थियौँ। अनि आमाले भन्नु भएको थियोः “मैले लाट लाग्न दिइनँ। कस्तो हुन्छ निर्लज्ज हुन्छ यो लोग्नेमान्छेको जात”
हामी अलिकति हाँस्यौँ। अलिकति रिसियौँ। कान्छी बहिनीले त दारा नै किटी। अनि आमाले भन्नु भएथ्योः

“तिमीहरूको बिहेदान गरेर पठाउन पाए म ढुक्कसँग बराहक्षेत्र गएर बस्थेँ। भगवानकै सेवा गर्थेँ।”

मैले भनेथेँः “आमा हामीले आफैँले खोजेका छौँ। तपाईँले चिन्ता गर्नु पर्दैन। हामीले तपाईँलाई बराहक्षेत्र होइन कर्मक्षेत्र पुर्याउने विचार गरेका छौँ। सायद आमाले बुझ्नु भएन।

०००००

म बि.बि.एस. तेस्रो वर्षमा पढ्थेँ। बहिनीहरू बि.बि.एस.कै प्रथम वर्षमा। मैले बहिनीहरूसँग सल्लाह गरेँ। हवल्दार साहेबसँग सल्लाह गरेँ। अरूसँग त सल्लाह गर्नु पनि थिएन। सुटकेस तयार पार्यौं। खसीको मासु पकायौं। चाम्रे पकायौं।

हवल्दार साहेब दौरा सुरूवालमा सजिएर आएका थिए। कोट पुरानै भए पनि सुहाएको थियो। ह्यान्डसम देखिएका थिए। सँगै बसेर मासु भात खायौँ । आमालाई राम्रो फरिया लगाइदियौं। मेकअप गरिदियौं। आमा छक्क पर्नु भएको थियो। अलिकति लजाउनु भएको थियो।

हवल्दारले आमाको सिउँदोमा सिँदुर हाले। सधवा भए पनि आमाले सिँदुुर लगाएको हामीले देखेका थिएनौं। राम्रो रातो फरिया लगाएर मेला भरेको देखेका थिएनौं। उहाँको अनुहारमा आभा कहिल्यै देखेका थिएनौं। सायद सधवा नामकी विधवा हुनुहुन्थ्यो होला।

भाग्यले सधवा र कर्मले विधवा हुनुहुन्थ्यो। आज पहिलो पल्ट हाम्री आमा पनि यति राम्री हुनुहुन्छ भन्ने ठम्याएका थियौं। नत्र त आमालाई बैँस कहिले आयो कहिले गयो, त्यो पनि पत्तो भएन होला।

मान्छे कोही थिएनन्। कसैकसैलाई त बोलाइएकै थियो। नातेदारलाई खवर गरिएको थियो। तर कोही आएनन्। म सोचिरहेकी छु। सायद बैनीहरू पनि सोच्दा हुन्। सोचिरहेका होलान्। अहिले कुनै बिधुर बाको कन्नेकेटीसँग हामी छोरीले बिहे गराइदिएका भए हाम्रो वाहवाही हुन्थ्यो।

हामी सायद प्रगतिशील पनि कहलिने थियौं। अहिले आमाको बिहे गराएकोमा समाज बैरी भएको छ। घरपट्टिका बैरी भएका छन्। मावलीले मुख फुलाएका छन्। समाज कुरा काटेर सन्तुष्ट छ। सरकार त खोई कहाँ थियो कुन्नि? र मनभित्र विद्रोह पलाएको छ। समाजसँग जिज्ञाशा बढेको छ।

स्वास्नीले छोडेका लोग्नेको बिहे गरिदिँदा जाति मान्ने समाज लोग्नेले छोडेकी स्वास्नीको याने आमाको बिहे गराइदिँदा किन असहज मान्छ यो दुनियाँ? यो कस्तो समानता हो?

हवल्दार साहेबले हामी तीनै दिदी बहिनीलाई एकैपल्ट अँगालो हाले र भनेः

“मेरा छोरीहरू, अब तिमीहरू टुहुरा छैनौ। म बाउ छु, आमा त छँदैछन्। घर पनि छ। आऊ छोरीहरू हामी सबै मिली एउटा सुन्दर संसारको निर्माण गरौँ”

हवल्दार साहेबसँग आमा पछिपछि हिँडिरहनु भएको थियो। हवल्दार रोइरहेका थिए। आमा रोइरहनु भएको थियो। हामी रोइरहेका थियौं। तर सायद यी आँशु हर्षका थिए कि!

मैले अनायास भनेँछु-

“हो आमा, मान्छेले आफ्नै जीवन बाँच्नु पर्छ । आफ्नै जीवन बाँच आमा”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *