टीआरसी विधेयकमा सहमति जुटाउन आज संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
२१ फागुन २०८० ७:४९

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन आज बिहानै संसदीय समितिको बैठक बोलाइएको छ। प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान पौने आठ बजे बस्दैछ।

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संसोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

हिजो बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा पनि यो विधेयकबारे छलफल भएको थियो । हिजै विधेयक पास गर्ने गरी बोलाइएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले समय मागेपछि स्थगित भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो टीआरसीमा सहमति जुटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुटै छलफल गरे।

यसैबिच प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले नेपालमा विस्तृत शान्ति सम्झौताबाट शुरु भएको शान्ति प्रक्रियाको औपचारिक यात्राले पुर्णता पाउन थालेको बताएका छन्। उनले वर्तमान सरकार सरोकारवाला सबै पक्षलाई साथमा लिएर टीआरसीलार्ई तार्किक निष्कर्षमा पुर्‍याउन खटिरहेको बताएका छन्।

समितिको बैठक बस्नु केही घण्टाअघि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै मल्लले राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति निर्माण गर्न गरेको आह्वानलाई अर्थपूर्ण रुपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *