अर्थमन्त्री पुनद्वारा पदबहाली

डिसी नेपाल
२३ फागुन २०८० २१:५७

काठमाडौं। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरेका छन्। अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्या बारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए।

‘अर्थतन्त्र शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु। नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ। नयाँ आशा जगाउनका लागि पहल गर्नेछु। तर त्यो त्यति सहज छैन । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ। नयाँ आशा जगाउन सक्छौँ,’ मन्त्री पुनले भने।

आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए। अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने उनले बताए।

अर्थमन्त्री पुनले कार्यभार सम्हालेलगत्तै पहिले निर्णयका रुपमा जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय गरेका छन्। त्यस्तै ग्रीन क्लाइमेट फण्डको पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने निर्णय गरेका छन्।

विसं २०६४ मा संविधानसभा सदस्य बनेका पुन २०६७ मा शान्ति तथा पुनःनिर्माणमन्त्री मन्त्री बनेका थिए। विसं २०६८ मा अर्थमन्त्री बने पनि उनले वार्षिक बजेट ल्याउन पाएका थिए। उनी २०७४ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका थिए।

विसं २०५३ मा तत्कालीन नेकपा माओवादीको रोल्पा र प्युठान जिल्ला समिति सचिव बनेका नेता पुन हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उपमहासचिव हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *