पेरु हुनबाट जोगाएका प्रचण्ड पश्चिम बंगाल बन्ने खतरा

शरद रिजाल
२० चैत २०८० १०:४९

काठमाडौं। नेपालको राजनीतिमा सशस्त्र संघर्षको लामो इतिहासबाट संसदीय राजनीतिमा अवतरण गरेका प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सकारात्मक एवं नकारात्मक दुवै कोणबाट चित्रण गरिन्छ।

उनको दश वर्षे सशस्त्र जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिक यात्रालाई कतिपयले राजनीतिक रुपमा उच्च महत्वका साथ गणतन्त्रका नायकको उपमा दिँदै बुद्धिमतापूर्ण निर्णयको रुपमा प्रशंसा गदर्छन्।

तथापि उनका विरोधीहरुले भने उनले सञ्चालन गरेको दश वर्षे जनयुद्धलार्ई सत्तालोलुपताको तीव्र महत्वकांक्षाले ग्रसित हिंसात्मक युद्धको आक्षेप लगाउँछन्।

यसका साथै केही पूर्वसहकर्मीहरुले समेत प्रचण्डको शान्तिपूर्ण राजनीतिक यात्रालाई धोकाको संज्ञासमेत दिएका छन्। सोही कारणले हालसम्मै उनीहरु प्रचण्डसँग अलग छन्।

उनले २०५२ साल फागुन १ मा सुरु गरेको युद्धका बारेमा जनस्तरमा सकारात्मक एवं नकारात्मक धारणा यथावत नै छ। यसको पक्ष विपक्षमा निर्मित भाष्यका विषयमा नेपाली समाजमा आगामी दिनमा पनि बहसकै रुप लिने नै देखिन्छ।

जनयुद्धको समीक्षा नयाँ पुस्ताले पनि गर्ने भन्दै यसको सौन्दर्यकरण र विद्रुपीकरणको क्रम निरन्तर चलिरहने प्रचण्डको पनि सार्वजनिक स्वीकारोक्ति छ।

तत्कालीन अपरिहार्यता या प्रचण्डलगायतका शीर्ष तहका माओवादी नेतृत्वको सत्ता प्राप्तिको मनोगत चाहनाबाट सञ्चालित भएको हो भन्ने आशंका व्याप्त छ। कतिपय हालका घटनाक्रमले त्यसको अन्तरनिहीत उद्देश्य त्यही नै थियो कि भन्ने आशंकालाई बल पुर्‍षाएको छ। र,केही हदसम्म उजागर भएकै छ।

तर राज्यविरुद्ध सुरु गरिएको युद्धलाई अवतरण गराउन उनले खेलेको भूमिकालाई एक पक्षले प्रशंसायोग्य नै ठान्छन्।

उसो त यसलाई बाह्य र आन्तरिक शक्तिको योजना बमोजिम परिचालित आन्दोलनको आरोप पनि लगाइन्छ। अनेकौं आरोप र आशंकाका बाबजुद् उनले सुरु गरेको जनयुद्ध रक्षात्मक अवस्थाबाट सन्तुलन हुँदै प्रत्याक्रमणको चरणमा प्रवेश गरि शान्तिपूर्ण राजनीतिमा अवतरित भएको पनि दुई दशक पुग्नै लागेको छ।

उनको निरन्तरतामा क्रमभंगता, छलाङ र महाविपत्तिका पदावलीको युद्धकालमा उच्चतम प्रयोग गर्दै दुई चारवटा भरुवा बन्दुकबाट सुरु गरेको युद्ध सात डिभिजन सेना निर्माण गर्न सफल भएकै थियो। नाटकीय रुपमा शक्ति आर्जनका पछाडि देशी विदेशी शक्ति केन्द्रको साथ रहेको कतिपय परिघटनाले पनि संकेत गर्दछ।

चुनवाङबाट तय गरिएको शान्तिपूर्ण यात्रा भारतको मध्यस्थकर्तामा बाह्रबुँदे हुँदै २०६३ मंसिर ५ मा विस्तृत शान्ति समझौता पछि २२५ सिटधारी पार्टीको स्थान बनाएर अहिले ३२ सिटमा खुम्चिएको छ।

जनयुद्धले छिट्टै हासिल गरेको राजनीतिक उचाइ एवं संसदीय राजनीतिक यात्राको सुरुवातमा कायम गरेको बर्चस्व यथावत रहन सकेन। हालको चुनावी परिणामले उनको दलको दूरावस्था झल्काउँछ।

आज प्रचण्डका जनयुद्धका सारथि कोही पनि सँगै छैनन्। माओवादीले युद्धरत अवस्थामा छोटो समयमै उदय र छिट्टै संसदीय राजनीतिमा कमजोर बन्ने दुर्भाग्य व्यहोरेपनि प्रचण्ड निरन्तर सत्तायात्रामा सवार छन्।

उनको चातुर्यताको उपज झनै कमजोर बन्दा पनि सत्तायात्रा भने लम्बिँदै गइरहेको छ। सुरुमा ठूलो दलको हैसियतले सत्तायात्रा गर्दा छोटो समयमै बाहिरिएका उनी अहिले कमजोर तेस्रो दलको हैसियत कायम हुँदा पनि सत्तायात्रा बढेको छ। यसलाई उनको विशिष्ट क्षमताको उपजको रुपमा पनि अर्थाइन्छ।

२०६४ देखि हालसम्म निरन्तर सत्तामा रहँदा पनि क्षयीकरण व्यहोरेको माओवादीको सत्तायात्रा कायमै छ। तर पार्टीको ओरालो यात्रा रोकिएको छैन। त्यसैले पेरुको नियतिबाट जोगाएर शान्तिपूर्ण अवतरण गराएका प्रचण्डको आगामी अवस्था पश्चिमबंगाल हुने खतरा भने यथावतै छ।

तर यसको कारक नेपालको मिश्रित निर्वाचन प्रणाली भएकाले त्यसको प्रचण्डले मनग्ये लाभ लिइरहेका छन्। त्यसैले त उनले समानुपातिक प्रणाली माओवादी युद्धको उपलब्धी भन्दै गर्व गर्छन्।

उनले युद्धरत आफ्नो दललाई दश वर्षकै अवधिमा शान्तिप्रक्रियामा ल्याएपछि मुलुकमा थप धनजनको क्षति हुनबाट जोगिएकै हो।

उनले चलाएको युद्धले त्यस समयमा भएको क्षतिको औचित्य र आवश्यकता पुष्टि गर्न सकस परेको छ। नीतिगत परिवर्तन देखाएर प्रयत्न गरिए पनि जनस्तरबाटै सर्वस्वीकार्य बन्न असमर्थ भएको छ।

संवैधानिक रुपमा भएका केही नीतिगत परिवर्तन र मुलुकको शासकीय स्वरुपमा आएको बदलाव बाहेक जनताले हालका उपलब्धीको अपनत्वबोध गर्न सकेका छैनन्।

पेरु हुनबाट जोगाए

तत्कालीन नेकपा (माओवादी) ले जनवादी क्रान्ति गर्ने भन्दै जुनसुकै उद्देश्यका लागि सशस्त्र संघर्ष सुरु गरेपनि त्यस समय विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको थियो।

सोभियत संघको अवसान र विश्वका विभिन्न मुलुकमा चलेका कम्युनिष्ट क्रान्तिहरुले असफलता व्यहोरिरहेका थिए। अझै चिनियाँ क्रान्तिमा विश्वास गर्ने माओवादीहरुको सशस्त्र संघर्षले त कतै पनि गति लिन सकेको थिएन। जसले दीर्घकालीन जनयुद्धमार्फत जनवादी क्रान्ति गरेर शासन सत्तामा आफ्नो आधिपत्य कायम गर्न चाहन्छन्।

त्यस समयमा निकै कमजोर थियो। अन्यत्र कतै पनि दीर्घकालीन जनयुद्धले सफलता हासिल गर्न सकिरहेको थिएन। चिनियाँ नेता माओत्सेतुङको जनवादी क्रान्तिको सिद्धान्त अनुरुप सुरु गरिएको दक्षिण अमेरिकी मुलुक पेरुमा लामो समयसम्म चलेको जनयुद्धले असफलता व्यहोरेको थियो।

त्यहाँको शीर्ष नेता डा.अभिमायल गुज्मन रेत्सन(गोञ्जालो)को गिरफ्तारीसँगै सशस्त्र युद्धको अन्त्य भइसकेको थियो।

सन् १९८० मा पेरुमा गोञ्जालोको नेतृत्वमा सुरु गरिएको जनयुद्धले अनेकौं आरोह अवरोह पार गर्दै विजयको सन्निकट पुगेको बेला १९९२ मा भएको उनको गिरफ्तारी पछि क्रान्तिले गम्भीर धक्का खाएको थियो।

गोञ्जालोको नेतृत्वमा गठित पेरु कम्युनिष्ट पार्टी (साइनि ङ पाथ) ले सुरु गरेको जनयुद्ध मूल नेतृत्वमा रहेका उनको गिरफ्तारी पछि त्यहाको क्रान्ति अघि बढ्न सकेन।

नेपालमा पनि माओवादीलाई तत्कालीन समयमा कतिपयले पेरूकाे नियति व्यहोर्ने टिप्पणी गर्दथे। तर अनेकौं परिस्थितिका बाबजुद प्रचण्डले आफू र आफ्नो दललाई कत्लेआम हुनबाट जोगाएर शान्तिपूर्ण राजनीतिको मूलधारमा हिँडाउन सफल भएका छन्।

अन्य शीर्ष नेताहरु पनि एक पछि अर्को गर्दै पक्राउ परेपछि ८० प्रतिशत भूमि कब्जा गरेको साइनिङपाथले अन्ततः राजधानी लिमा कब्जा गर्ने क्रममा गोञ्जालोको पक्राउले सशस्त्र संघर्ष पराजय व्यहोर्दै अन्त्य हुन पुग्यो। अहिले त्यहाँ उक्त दलको कुनै अस्तित्व नै नरहेको बताइन्छ।

उत्कर्षमा पुगेको पेरुको क्रान्ति गोञ्जालको गिरफ्तारीसँगै असफल भएको थियो। लामो समय जेलमै रहेका उनकोे दुई वर्ष वर्ष अघि निधन भइसकेको छ।
स्मरणीय छ, प्रचण्डले गोञ्जालोको निधनपछि विश्वमा क्रान्तिको एउटा मोडेलको अन्त्य भएको बताएका थिए। तर उनले गोञ्जालो गिरफ्तार भए पछि नै नेपालमा जनयुद्ध थालेका थिए।

नेपालमा पनि माओवादीलाई तत्कालीन समयमा कतिपयले सोही नियति व्यहोर्ने टिप्पणी गर्दथे। तर अनेकौं परिस्थितिका बाबजुद प्रचण्डले आफू र आफ्नो दललाई कत्लेआम हुनबाट जोगाएर शान्तिपूर्ण राजनीतिको मूलधारमा हिँडाउन सफल भएका छन्।

भलै, उनले यसबाट युद्धमा भन्दा पनि निकै ठूलो क्षति व्यहोरिरहेका छन्। यदि युद्धलाई निरन्तरता दिइरहेको भएपनि बदलिएको विश्वको भूराजनीतिले संकटपूर्ण अवस्था निम्तिनेमा उनी जानकार थिए।

जनयुद्धको निर्दिष्ट लक्ष्य हासिल हुने परिस्थिति नभएपछि सम्भावित जोखिमको भयले शान्ति प्रक्रियामा आउने निर्णय बाध्यात्मक रुपमा लिएको बताइन्छ।

राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति सन्तुलन मिलाएर प्रचण्डले युद्धकालीन पार्टीलाई आजको शान्तिपूर्ण धारमा ल्याउने उनको सामथ्र्यलाई उच्च राजनीतिक कौशलताको रुपमा चित्रित गरिन्छ। यसलाई उनको रुपान्तरणकारी क्षमताको रुपमा समेत औंल्याइन्छ।

अब पश्चिम बंगाल बन्ने खतरा

भारतको पश्चिम बंगालमा १९७० को दशकमा भारतीय कम्युनिष्ट पार्टीबाट विभाजित चारु मजुमदारको आन्दोलनले कम्युनिष्ट जग बसालेको थियो। नक्सलवाडीबाट आन्दोलनलाई आदर्श मान्दै अहिले पनि भारतमा भारतीय कम्युनिष्ट पार्टी(माओवादी) युद्धरत छ।

सोही पश्चिम बंगालमा संसदीय राजनीति अबलम्बन गर्दै भारतीय कम्युनिष्ट घटकमध्येकाे एक भाकपा (मार्क्सवादी) ले सन् १९७७ देखि सन २०११ सम्म शासन गरेकाे थियो। पश्चिम बंगालकाे मुख्यमन्त्री भएर ज्योति वसु र बुद्धदेव भट्टाचार्यले शासन गरेका थिए।

भारतमा पवन चाम्लिङ  सिक्किमकाे २५ वर्ष मुख्यमन्त्री भए भने पश्चिम बंगालमा ज्योति बशुले २३ वर्ष मुख्यमन्त्री भएर लामो समय मुख्यमन्त्री हुने कीर्तिमानी कायम गरेका थिए।

तर अहिले पश्चिम बंगालमा ज्योति बशुको कम्युनिष्ट पार्टी पत्तासाफ भएको छ भने सिक्किममा पनि चाम्लिङ सत्ता च्युत भएका छन्। यद्यपि चाम्लिङ कम्युनिष्ट होइनन्। उनले अहिले पनि राजनीतिक सक्रियता कायमै राखेका छन्।

पश्चिम बंगालमा ज्योति बशुको निधन भएपछि भाकपा (मार्क्सवादी) अस्तित्व रक्षाको संकटमा छ । उनको दललाई तृणमुल कांग्रेसले विस्थापन गर्दै हाल सरकार सञ्चालन गरिरहेको छ। अहिले पश्चिम बंगालमा तृणमुलकी ममता बेनर्जी मुख्यमन्त्री छिन्।

करिब ३४ वर्ष त्यहाँ शासन गरेको ज्योति बशुको कम्युनिष्ट पार्टीले राजनीतिक पतन व्यहोरेको छ।। यता नेपालमा पनि सदैव सत्तामा रहिरहँदा पनि प्रचण्डको दल माओवादी केन्द्र कमजोर बन्दै गइरहेको छ।

२०६४ देखि हालसम्म निरन्तर सत्तामा रहँदा पनि क्षयीकरण व्यहोरेको माओवादीको सत्तायात्रा कायमै छ। तर पार्टीको ओरालो यात्रा रोकिएको छैन। त्यसैले पेरुको नियतिबाट जोगाएर शान्तिपूर्ण अवतरण गराएका प्रचण्डको आगामी अवस्था पश्चिमबंगाल हुने खतरा भने यथावतै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *