लालीगुराँसले बागलुङका वनपाखा रंगीचंगी, घुम्न आउनेको चहलपहल बढ्यो

डम्मर बुढा मगर / रासस
२१ चैत २०८० १३:५१

बागलुङ। वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउन थालेका छन्। वनजँगलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन् । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रंगीचंगी बनेका छन्।

शीतलता प्रदान गर्ने सिरसिर हावा र मनलाई आनन्दित तुल्याउने चराचुरुङ्गीको आवाजले आगन्तुकलाई निम्तो दिइराखेका छन् । बढ्दो गर्मीका कारण तल्लो क्षेत्रबाट घुमफिरका लागि पहाड घुम्न उक्लने पनि बढ्दै छन् ।

पछिल्लो केही दिनयता बागलुङको पर्यटकीय क्षेत्र बेलढुँगा, पातिहाल्ने, सोलेडाँडालगायत क्षेत्रमा घुम्न आउनेको चहलपहल बढेको छ । लामो समयको खडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनैभरि फुलेका छन्।

त्यसले पर्यटकलाई आकर्षित गरिरहेको छ । वनैभरि फूलेका गुराँससँग रम्न तल्लो क्षेत्रबाट लेक उक्लने बढिरहेका छन्। बागलुङ, रोल्पा र रुकुमको सिमानामा रहेको पातिहाल्ने तथा बागलुङ र म्याग्दीको सिमानामा रहेको सोलेडाँडा र बेलढुँगामा दैनिक आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

बाह्रै महिना पर्यटकले पुग्ने यी क्षेत्रमा यो बेला अझ बढी आएको स्थानीय बताउँछन्। सडक सञ्जालले गर्दा सहज रुपमा पुग्न सकिने र ती स्थानमा पुगेपछि शीतलासँगै रमाइलो हुने हुँदा धेरैको रोजाइमा जँगल क्षेत्रका पर्यटकीयस्थल रोजाइमा परेका हुन्।

पातिहाल्ने मध्यपहाडी लोकमार्गमा पर्छभने सोलेडाँडा र बेलढुङ्गा दुवै जिल्लाबाट सडक पुगेको छ । त्यसले पर्यटकलाई सहज बनाइदिएको छ । कतिपय गाडी लिएर त कतिपय पैदल यात्रामार्फत यहाँ घुम्न आउने गरेका छन्।

यस वर्ष यी तीनवटै पर्यटकीय क्षेत्रमा पुस र माघमा हिउँ परेको थियो । पुस र माघ महिनामा हिउँ खेल्न नपाएका पर्यटक यतिबेला गुराँस फूलसँग रमिरहेका छन्। पातिहाल्ने र सोलेडाँडा बुर्तिबाङ बजार नजिक पर्छभने बेलढुङ्गा बागलुङबजार नजिकै छ । बजारबाट गाडीमा एक/डेढ घण्टामै पुग्न सकिने हुँदा धेरै पर्यटक पुग्ने गरेका छन्।

निसीखोला गाउँपालिका–६ का ओमबहादुर बुढा मगरले कात्तिकपछि पातिहाल्ने घुम्न आउनेको सङ्ख्या कम भएको भन्दै गुराँस फुल्न थालेपछि बढेको बताए। माघ महिनामा हिउँ पर्दा एकै दिन पाँच सय बढी पर्यटक आउने गरेको जनाउँदै त्यसपछि चैत पहिलो सातादेखि बढेको उनको भनाइ छ।

उनले भने, “पहिला–पहिला यहाँ चोरबास, पातिहाल्ने र रिगताल क्षेत्रमा धेरै गुराँस फुल्ने गथ्र्यो तर कोही पनि घुम्न आउँदैन्थे, अहिले मोटरबाटोले गर्दा होला मान्छे नआएको दिनै छैन, दिनदिनै गाडी लिएर घुम्न आउँछन्, घण्टौँसम्म यहीँका डाँडापाखासँग रमाएर जान्थे, हामीहरुलाई पनि नौलो लाग्यो, पहिले हामीहरुले गाईबाख्रा चराउने, घाँस दाउरा गर्ने ठाउँमा अहिले मान्छे आउँदै गुराँस टिप्ने फोटो खिच्ने र रमाउने गर्छन्, यस वर्ष हिउँ परेर होला पहिलेको तुलनामा गुराँस कम फुलेको छ ।”

पातिहाल्ने समुन्द्री सतहदेखि तीन हजार दुई सय मिटरको उचाइमा छभने सोलेडाँडा दुई हजार छ सय ३० मिटरको उचाइमा छ । बेलढुँगा दुई हजार छ सयको उचाइमा पर्छ।

उच्च पहाडी क्षेत्रमा रहेका यी पर्यटकीय क्षेत्रमा अन्य समयमा पनि पर्यटक आउने गर्छन्। सोलेडाँडामा बागलुङ र म्याग्दीबाट बढी पर्यटक आउने गरेको स्थानीय रेमबहादुर विकले बताउनुभयो । सोलेडाँडा वरपर लालीगुराँस फुलेर राताम्य बनेको उनको भनाइ छ। बिदाका दिन सबैभन्दा बढी पर्यटक आउने गरेको उनको भनाइ छ।

“हाम्रो पालामा गुराँस फुल्दा त्यत्ति महत्व दिँदैन्थ्यौँ, अहिले त घुम्न आउने मान्छेको भीड लाग्छ, रूखमा चढेर फोटो खिच्छन्, भिडियो बनाउँछन्, साँझ फर्कने बेला टिपेर पनि लैजाने गर्छन्, शनिबारका दिन धेरै आउँछन्”, उनले भने, “मान्छेहरु धेरै घुम्न रुचाउन थाले, पाँच/सात वर्ष पहिले यो ठाउँ सुनसान थियो, अहिले निकै चलहलपहल बढ्यो, लालीगुराँसले पनि पर्यटकलाई आकर्षित गर्‍यो , हामी गाउँका मान्छेलाई त्यति महत्व लाग्दैन ।”

पहाडमा भन्दा तराई क्षेत्रमा अझ बढी गर्मी छ । गर्मी छल्न र लालीगुराँससँग रमाउनका लागि कपिलवस्तुबाट एक साता बिदा लिएर घुम्न आएको विकास गौडेलले बताए। करिब १३ वर्षअगाडि अर्घाखाँचीबाट बसाइँसराइ गरी कपिलवस्तु गएको सुनाउँदै यो समयमा पहाडमा गुराँस फुल्ने हुँदा १० जनाको समूह भएर घुम्न आएको उनले बताए। दुई दिन अर्घाखाँचीमा बिताएको भन्दै तेस्रो दिन मध्यपहाडी लोकमार्ग हुँदै पातिहाल्ने पुगेको उहाँले सुनाउनुभयो । पातिहाल्ने क्षेत्रमा फुलेको लालीगुराँसले आफूहरुलाई लोभ्याएको उनको भनाइ छ।

गौडेलले भने, “यो बेला पहाडमा यात्रा गर्न निकै रमाइलो हुन्छ, वनपाखामा रङ्गीचङ्गी फूलहरु फुलेका हुन्छन्, तराईमा जस्तो गर्मी हुँदैन, सिरसिर हावा चलिराख्दा गर्मीयाम अवधिभर यतै बसौँजस्तो लाग्छ, खर्बाङदेखि लोकमार्ग हुँदै आएका हौँ, निसीखोलाको माथि–माथि त निकै धेरै गुराँस फुलेका रहेछन्, रातमा पनि यतै बसौँ बसौँ भयो, अब गलकोटको टेउवामा रहेको मूर्तिकला अवलोकन गरे फर्किने योजना छ ।”
–––




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *