इलाममा सुहाङ नेम्वाङको चुनाव प्रचारमा नक्कली नागरिकताधारी सक्रिय, केपी ओलीको अगाडि नाचगान

डिसी नेपाल
६ वैशाख २०८१ ११:१७

काठमाडौं। इलाम-२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको चुनाब प्रचारमा नक्कली नागरिकताधारी महिला सक्रिय रहेको पाइएको छ।

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य युवन्तिका राई चितवन जिल्ला अदालतबाट झुटो विवरण पेश गरी नागरिकता लिएको कसूरमा ‘कसूर गरेको मान्न सकिने मनासिब आधार रहेको’ ठहर भइ धरौटीमा छुटेकी महिला हुन्।

बुधबार इलाममा भएको कार्यक्रममा सुहाङको प्रचारका लागि एमाले अध्यक्ष केपी शर्मा ओली श्रमितीसहित गएका थिए। इलाममा भएको चुनाबी सभामा युवन्तिकाले ओलीकै अगाडि ‘पानी मिठो मेरो हजुर इलाम बजारको’ बोलको गीतमा नृत्य गरिन्। उनी नाचेपछि ओलीले आफ्नो सम्बोधनको क्रममा उनी नाचेकै गीतलाई आधार बनाएर ‘बोली मिठो मेरो हजुर सुहाङ नेम्वाङको’ पनि भने।

कार्यक्रममा उद्घोषकले युवन्तिका राई भनेर सम्बोधन गरेका छन्। उद्घोषकले उनलाई ‘राई’ भनेर बोलाउँदा उनले कुनै प्रतिवाद गरेकी छैनन्। अर्थात, उनले आफ्नो थर राई नै भएको स्वीकार गरेकी छिन्। तर, चितवन जिल्ला अदालतमा अन्तिम फैसला हुन मात्र बाँकी रहेको मुद्दामा उनको विवादित नागरिकतामा उनको थर ‘तामाङ’ लेखिएको छ।

नागरिकतामा उनका मातापिता चितवनकै तामाङ भएको र उनी चितवनमै जन्मिएको उल्लेख छ। तर, वास्तवमा उनी इलाममै हुर्किएको बताइन्छ।

उनको बसोवास इलाममा रहेको कुरा इलाममा चुनाब प्रचारमा उनको सक्रियताबाट पनि झल्किन्छ। पछिल्लो समय अदालतमा उनको नागरिकताबारे अन्तिम सुनुवाई उनकै कानुन व्यवसायीबाट पटक-पटक स्थगित गरिएको छ।

चितवन जिल्ला अदालतले पनि उनको नागरिकता मुद्दामा उनलाई धरौटीमा छाड्नका लागि गरेको आदेशमा उनी ‘युवन्तिका तामाङ’ नभइ ‘युवन्तिका राई’ भएको उल्लेख गरेको छ। यो मुद्दामा अन्तिम फैसला भने आउन बाँकी छ।

युवन्तिकाले चितवन जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा आफूहरुलाई जन्म दिने मातापिताको रुपमा बताएर आफूहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि समेत पेश गरेको तर वास्तवमा युवन्तिका आफूहरुकी छोरी नभएको भन्दै चितवनका छविलाल तामाङ र लक्ष्मी तामाङको उजुरीका आधारमा चलेको मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ‘युवन्तिका राई’को रुपमा अभिलेख गरेको छ।

अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा ‘प्रतिवादीले कसूर गरेको मान्न सकिने’ ठहर गर्दै उनलाई डेढ लाख रुपैयाँ धरौटीमा छोडेको छ। राईले झुठ्ठा विवरश पेश गरी वंशजको नागरिकता लिएको भन्दै जाहेरी परेपछि सो आधारमा अघि बढेको मुद्दामा जिल्ला अदालत चितवनले २०७९ फागुन १० गते यस्तो आदेश गरेको थियो।

अदालतले पहिलो पेशीमै ‘प्रतिवादीले कसूर गरेको मान्न सकिने मनासिब आधार रहेको’ ठहर गरेको भए पनि त्यसको एक वर्ष बितिसक्दा पनि अन्तिम फैसला भने आउन सकेको छैन। केही प्रतिवादीहरु फरार रहेको र केही धरौटी बुझाएर तारेखमा रहेको हुँदा यसको अन्तिम फैसलामा ढिलाइ भइरहेको छ।

अन्तिम फैसला हुन बाँकी हुँदा युवन्तिकाले जिल्ला प्रशासन कार्यालय चितवनबाट लिएको नागरिकता खारेज भइसकेको छैन। र, उनले सोही नागरिकताको प्रयोग गरेर विभिन्न लाभ लिइरहेकी छिन् । उनी पेशाले ट्रेकिङ व्यवसायी हुन् र उनले आफ्नो व्यवसायको लागि यही नागरिकता प्रयोग गरेकी छिन्।

उनले यही नागरिकताका आधारमा गाइडको रुपमा सगरमाथा लगायतका हिमालको आरोहण गर्ने गरेकी छिन्। विदेशी पर्वतारोहीको टोलीलाई लिएर जाने यस्ता गाइडहरुका लागि पर्यटन विभागले लाइसेन्स जारी गर्छ। युवन्तिकाले यो लाइसेन्स पनि यही नागरिकताका आधारमा लिएकी छिन्।

पर्वतारोहणमा पनि नेपाली नागरिकलाई विशेष सुविधा दिइन्छ। युवन्तिकाले अदालतबाटै ‘फर्जी ठहर हुन सक्ने मनासिब आधार रहेको’ भनिएको नागरिकताका आधारमा यी सुविधा पनि लिइरहेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *