आर्थिक संकटमा पनि पाकिस्तानले बढायो आणविक हतियार

डिसी नेपाल
७ वैशाख २०८१ ११:००

काठमाडौं । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिएको छ । अमेरिकी गुप्तचर अधिकारी लेफ्टिनेन्ट जनरल जेफ्री क्रुसले अमेरिकी कांग्रेसलाई यो जानकारी दिएका छन् । क्रुसका अनुसार गत वर्ष भारतसँग बढ्दो विवादका बीच पाकिस्तानले आफ्ना आणविक हतियारलाई आधुनिक बनाएको थियो ।

उनको दाबीअनुसार पाकिस्तानले आफ्नो आणविक सामग्री र आफ्नो कमाण्ड र नियन्त्रणको सुरक्षा बढाएको छ। अक्टोबर २०२३ मा, पाकिस्तानले २२०० किलोमिटर मार हान्न सक्ने मध्यम दुरीको अबबिल ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गर्‍यो।

केही दिन अघि मात्र एक वरिष्ठ परमाणु वैज्ञानिक तथा लेफ्टिनेन्ट जनरल किदवईले भारतलाई धम्की दिएका थिए । इस्लामावादको रणनीतिक अध्ययन संस्थानमा आफ्नो सम्बोधनका क्रममा उनले पाकिस्तानको आणविक कार्यक्रम भारतमा केन्द्रित रहेको बताएका थिए ।

पाकिस्तानको आणविक हतियारलाई आधुनिकीकरण गर्ने जानकारी यस्तो समयमा आएको छ जब पाकिस्तानको नवगठित सरकारले आईएमएफसँग अर्को बेल आउट प्याकेजको माग गरेको छ। पाकिस्तानका अर्थमन्त्री मोहम्मद औरङ्गजेब हाल वासिङ्टनमा छन् । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नयाँ ऋण प्याकेजको बारेमा यहाँ कुरा गरिरहेका छन्।

यसअघि अमेरिकी परमाणु वैज्ञानिकहरूले पाकिस्तानसँग हाल १७० आणविक हतियार रहेको रिपोर्ट सार्वजनिक गरेका थिए । जुन २०२५ सम्ममा २०० पार गर्न सक्छ। प्रतिवेदनलाई ‘२०२३ पाकिस्तान न्यूक्लियर ह्यान्डबुक’ नाम दिइएको छ ।

स्वीडेनको थिंक ट्याङ्क एसआईपीआरआईका अनुसार विश्वमा १२ हजार ५१२ आणविक हतियार छन्। जसमध्ये ९,५७६ आक्रमण गर्न तयार छन्। चीनले विश्वभर आफ्नो आणविक हतियारको भण्डारलाई तीव्र गतिमा बढाएको छ। प्रतिवेदनका अनुसार विश्वका ९० प्रतिशत आणविक हतियार रुस र अमेरिकासँग छन् ।

योसँगै चीन र पाकिस्तानले भारतको तुलनामा तिब्र गतिमा आफ्ना आणविक हतियारको संख्या बढाएका छन् । विश्वभर आणविक हतियारको दौड सुरु भएको छ ।

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति हाल ८ अर्ब डलर रहेको छ, जुन करिब डेढ महिनाको सामान आयात बराबर हो । देशसँग कम्तिमा ३ महिनाको सामान आयात गर्न सक्ने पैसा हुनुपर्छ । पाकिस्तानको जीडीपी २०२४ मा २.१ प्रतिशत मात्रै बढ्ने सम्भावना छ। अहिले एक डलरको मूल्य २७६ पाकिस्तानी रुपैयाँ बराबर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *