भक्ति

हृषीकेश ढकाल
८ वैशाख २०८१ ९:०९

वन्दे महापुरुष! ते चरणारविन्दम् ।।
नम: शिवायै च नम: शिवाय ।।

“भक्ति के हो ?”

भक्ति शब्द संस्कृत सेवार्थ “भज” धातुबाट बनेको हो। जसको अर्थ आफ्ना आराध्यदेवको शरण, आश्रय लिनु, सहारा लिनु‌ हो। आफूलाई भगवत् सेवामा लगाउनु, अर्पित हुनु भक्ति हो।

सांसारिक बन्धनबाट मुक्त हुने सजिलो, राम्रो मार्ग भक्तिलाई मान्नु पर्छ। आफ्ना आराध्यदेवसँग जोडिनु, उहाँप्रति आस्था हुनु, प्रेम हुनु, उहाँको पूजा गरिनु, अनुरागी हुनु, धर्मनिष्ठ हुनु अथवा मुक्तिको माध्यम नै भक्ति हो। भक्ति शब्दको शाब्दिक अर्थ यसै गरी सम्झनु पर्छ।

शारीरिक अंग, मन, वचन र कर्मद्वारा सधैँ भगवत् सम्बन्ध भै रहनु भक्ति भन्न सकिन्छ।

शरीरको माध्यम भन्नाले आफ्ना हातले ईश्वरको सेवा र पूजन गर्नु, गोडाले तीर्थाटन गर्नु, कानले ईश्वरको महिमा श्रवण गर्नु र दर्शन पाएका ईश्वरको प्रतिमामा आफ्ना दृष्टिहरू अडिरहनु हो। मनको माध्यम भन्नाले ईश्वरमा निरन्तर ध्यान र मनन गर्नु अनि ईश्वरको दिव्य लीला स्मरण र चिन्तन गर्नु हो।

शब्द भन्नाले आफ्ना मुख या बोलीले ईश्वर भज्नु र ईश्वरको महिमा, स्तुति पठन अनि कीर्तन गर्नु हो।

नेपालकी प्रसिद्ध कर्णाली नदीको मूल जल प्रवाह भई भारतको अयोध्यामा पुग्दा अर्का दुई नामले प्रसिद्ध हुन्छिन्; सरयू वा घाघरा। यस पवित्र सरयू नदी किनार, देवरिया भन्ने ठाउँमा श्रीरामानुज वैष्णव (विशिष्टाद्वैत) परम्परामा श्रोत्रीय ब्रह्मनिष्ठ-ब्रह्मलीन अवस्थामा प्रतिष्ठित (अवस्थित) एक ठूला सन्त हुनुभो; श्री देवरिया बाबा या देवरहा बाबा।

उहाँले एकजना पत्रकारलाई अन्तर्वार्ताको जवाफ दिने क्रममा भक्तिको महिमा र अर्थ यसरी बताउनु भएको थियो;
“भक्तिको महिमा भारी छ।

तदर्पिताखिलाचारिता तद्विस्मरणे परमव्याकुलतेति।।”

श्रीनारद भक्ति सूत्रको यस दिव्य श्लोकबाट उहाँले भक्तिको भारी अर्थलाई सहज रूपमा प्रस्ट्याउनु भएको थियो;

“जुन ईश्वरमा आफ्नो सम्पूर्ण समर्पण हुन्छ अनि थोरै समयलाई पनि उनै ईश्वरको विस्मरण हुनासाथ परम व्याकुलता हुन्छ भने भक्ति त्यही नै हो। भक्तिको महिमा भारी छ। भक्ति भनेको स्वतन्त्रता हो।

भक्ति सबैभन्दा उच्चतम स्वतन्त्रता; ईश्वरको मूल हो। त्यसैले भक्ति सबै सुखको खानी हो। भक्ति निष्काम, स्वार्थरहित हुनु पर्दछ। भक्तिका दुई सन्तान छन्; ज्ञान र वैराज्ञ। भक्ति हुँदा ज्ञान र वैराज्ञ पनि सजिलै आउँछन्।

ज्ञानबाट मुक्ति हुन्छ। भक्तिबाट मुक्ति हुन्छ नै। वैराज्ञ, ज्ञान, योग, प्रेम र तप यी पाँच कुरा आवश्यक हुन् ईश्वर प्रेमका लागि। पाँचै भएको त राम्रो तर यदि हुन नसक्दा एकलाई दृढ गरेर ईश्वर भजन गर्न सके डुंगा नदी पार पुग्ने निश्चित नै छ।

जो यस्ता ज्ञान, वैराज्ञ आदि सब गुणका धाम हुनुहुन्छ त्यस्ता प्रभुलाई आँखा-मन भरिने गरि म दर्शन गर्दछु। सबै धर्मस्थलले श्रीराम नै भज्दछन्। जसले सप्रेम उहाँकाे श्रीनाम-गुण-महिमा गाउँदछन्, उनले यो भवसागर सजिलै तर्न सक्ने कुरामा संशय छैन। भगवन्नामले आफ्नो प्रताप स्वत: प्रकट गर्छ नै । त्यही भएर भगवन्नामको प्रताप यस कलियुगमा प्रत्यक्ष छ।”

पत्रकार : “हजुरले बताउनु भएका मध्ये सबै भन्दा सजिलो मार्ग कुन हो ?”

श्रीबाबा : “भक्ति ।”

भक्तिका प्रकार :

भक्ति नौ प्रकारका हुन्छन्, यसलाई नवधा भक्ति भनिन्छ;

श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवनम् ।
अर्चनं वन्दनं दास्यं सख्यमात्मनिवेदनम् ॥

श्रवणका परीक्षितजी, कीर्तनका श्रीसुकदेवजी, स्मरणका भक्तप्रह्लाद, पादसेवनका श्रीभरतजी, अर्चनका पृथुराजा, वन्दनका अक्रूरजी, दास्यका श्रीहनुमान्‌जी, सख्यका अर्जुनजी र आत्मनिवेदनका बलि राजा नवधा भक्तिका मार्ग निर्देशक हुन् ।

श्रवण: ईश्वरको लीला, कथा, महत्व, शक्ति, स्रोत इत्यादिको परम श्रद्धा सहित अतृप्त मनले निरन्तर सुन्नु नै श्रवण भक्ति हो ।

कीर्तन: ईश्वरको गुण, चरित्र, नाम, पराक्रम आदिको आनन्द एवम् उत्साहका साथ कीर्तन गर्नु कीर्तन भक्ति हो ।

स्मरण: निरन्तर अनन्य भावले परमेश्वरकाे स्मरण गर्नु, ईश्वरको महात्म्य र शक्तिको स्मरण गर्दै उहाँमा मन्त्रमुग्ध हुनु स्मरण भक्ति हो ।

पाद सेवन: ईश्वर चरणको आश्रय लिनु र उहाँलाई आफ्नो सर्वस्व सम्झनु चरणसेवन भक्ति हो ।

अर्चन: मन, वचन र कर्म द्वारा पवित्र सामग्रीले ईश्वर चरणको पूजन गर्नु अर्चन भक्ति हो ।

वन्दन: भगवान् को मूर्ति अथवा भगवान् को अंश रूपमा व्याप्त भक्तजन, आचार्य, ब्राह्मण, गुरुजन, साधु-सन्त, माता-पिता आदिलाई परम आदरसत्कारका साथ पवित्र भावले नमस्कार गर्नु या उनको सेवा गर्नु वन्दन भक्ति हो । वन्दन आठ प्रकार ( साष्टाङ्ग प्रणाम) भनिन्छ । जुन पदभ्याम् (१), कराभ्याम् (२), जानुभ्याम् (३), शिरसा (४), उरसा (५), मनसा (६), वचसा(७) र दृशा (८) हुन्।

दास्य: ईश्वरलाई मालिक र आफूलाई दास सम्झिएर परम श्रद्धाका साथ सेवा गर्नु दास्य भक्ति हो ।

सख्य: ईश्वरलाई नै आफ्नो परम मित्र सम्झिएर आफ्नो सर्वस्व उहाँलाई समर्पण गरिदिनु तथा सच्चा भावले आफ्ना पाप-पुण्यको निवेदन गर्नु सख्य भक्ति हो।

आत्मनिवेदन: आफूलाई भगवान्‌ का श्रीचरणमा सदाको लागि समर्पण गरिदिनु र कुनै पनि किसिमले आफ्नो स्वतन्त्र सत्ता नराख्नु नै आत्मनिवेदन भक्ति हो । आत्मनिवेदन या आफूलाई सम्पूर्ण रूपमा निवेदन/अर्पण गरेको अवस्थालाई भक्तिको सबै भन्दा उत्तम अवस्था मानिएको छ।

सत्य आदि लामो समय भएका युगमा भक्तिका विभिन्न साधना गर्न उपाय समय मिल्दो हुन सक्तो हो। केवल ४ लाख ३२ हज्जार वर्ष मात्र अवधिको कलियुगमा प्राणीहरूको जीवन अवधि पनि छोटै हुन्छ।

त्यसकारण गुरुको आज्ञाले समय, अवस्थानुसार भगवान् को स्मरण, कीर्तन, ध्यान, स्तुतिको पठन अनि त्यसमा चिन्तन आदि गर्न लागे सजिलो हुने जस्तो पनि बुझिन्छ। जस्तै “ कलौ केशव कीर्तनम् ।“

भक्तिका पाँच भाव रस :

भक्तिमा भाव स्वरूप पाँच भाव रस बताइएका छन् जुन नवधा भक्तिमा पनि मिल्न जान्छन्; शान्त, दास्य, सख्य, वात्सल्य र मधुर भाव । भक्ति भनेकै भाव हो। सद्भाव हो।

“पितरो वाक्य मिच्छन्ति
भाव मिच्छन्ति देवता: ।”

पितृ कर्म हुँदा शुद्ध वाक्य भयो भने पितृहरूलाई प्राप्त हुन्छ, सद्भावले देवता प्राप्त हुन्छ।

शान्त भाव– शान्त भावमा प्राचिन ऋषि गण छन् ।

दास्य भाव– दास्य भावमा श्रीहनुमान्‌जी। श्रीहनुमान् जी परब्रह्म नै भए पनि भगवान् श्रीरामचन्द्र-भक्तिमा समर्पित दास्य भावको उत्कृष्ट उदाहरण लिन सकिन्छ। दास्य भाव भक्ति मार्गको एक अर्को विराट आयाम हो। श्रीहनुमान्‌जीे भक्तिको उत्कृष्ट उदाहरण हुनुहुन्छ।

सख्य भाव – सख्य भावमा श्रीधामवृन्दावनका गोप-गोपीहरू। ईश्वरलाई साथीको रूपमा परम सौभाग्य स्वरूप पाउनु सख्य भाव हो । दुःखको बखत साथ दिने नै साथी हो। राम्रो कुरामा आफू सँगै रमाउने साथी हो।

जसको साथले सकारात्मकताको उच्चतम आनन्द महशुस हुन्छ ऊ साथी हो । राम्रो कुराका लागि प्रेरित गर्ने, नराम्रो कुरामा जानबाट रोक्ने नै साथीको एकमात्र परिभाषा हो।

श्रीकृष्ण-अर्जुनजीको सख्य प्रेमले श्रीमद्भगवद्गीताको अवतरण भो। श्रीमद्भगवद्गीतामा त भक्तिको महिमा व्यापक भएको कुरा सर्वविदित नै हो।

वात्सल्य भाव – वात्सल्य भावमा श्रीयशोदा मैया। ईश्वरलाई मातृत्व भावले बाल भगवान् श्रीकृष्ण स्वरूपमा प्रेम गर्नु वात्सल्य भाव हो। बच्चाहरूको स्वरूप लिएर ईश्वर लीला गर्दछन्। बच्चाहरूको स्वरूप लिएर ईश्वर संसारमा खेल्न आउँदछन्।

बच्चाको स्वरूप देख्दा मन प्रेमभावले ओत प्रोत भएर पग्लनु नै वात्सल्य भाव हो। बच्चाहरूमा परब्रह्म परमात्मा भगवान् श्रीकृष्ण, बच्चीहरूमा आद्यशक्ति श्रीराधारानी।

मधुर भाव – मधुर भावमा श्रीराधारानी । पति-पत्नीले एक अर्कालाई दैविक आयाममा प्रेम गर्नु मधुर भाव हो। श्रीराधारानी भक्तिको उच्चतम भाव – मधुर भावको अवस्थाकी देवी हुनुहुन्छ अनि भगवान् श्रीकृष्ण मधुर भावका अधिपति। मधुराधिपतेरखिलंमधुरम्।।

शुद्धाद्वैत (पुष्टिमार्ग) परम्पराका प्रवर्तक श्रीपाद वल्लभाचार्य विरचित मधुराष्टकम्‌ मा आफ्ना इष्ट भगवान् श्रीकृष्णको चरम प्रेममा मग्न हुँदा मधुर भावका प्रतिमूर्तिमा के-के छन्, के-के हुन्छन् भनेर भगवान् को मधुरताको वर्णन उहाँले यस आठ श्लोकको मधुराष्टकम्‌ स्तोत्रमा गर्नु भएको छ।

मधुराष्टकम् आठ श्लोकको विचित्रको अद्भुत दिव्य स्तोत्र हो जहाँ हरेक श्लोकमा “मधुर” शब्द आठ बार प्रयोग गरिएको छ। यस्तो दिव्य मधुर भावमा मग्न श्रीराधारानी । मधुर भावका अधिपति भगवान् श्रीकृष्ण । मधुराधिपतेरखिलंमधुरम् ।।

पढ्दा या श्रवण गर्दा नै मनै पगाल्ने दिव्य क्षमता भएको मधुराष्टकम् का रचयितामा भक्तिको “मधुर” भावको प्रचुरता कुन पराकाष्ठामा थियो अनुमान लाउन सकिन्छ ।मधुर भावमा माथिका शान्त, दास्य, सख्य र वात्सल्य यी चार पनि पर्दछन्।

भक्तिको पुष्ट अवस्था :

आफ्नो इष्टदेवलाई सम्झँदा बलिन्द्र धारा आँशु झर्दछन् भने त्यस्तो अवस्था भक्तिको उँचो अवस्था हो । बलिन्द्र धारा बगेका आँशुले मनका विकार पखाल्दछ र मन भगवत् दर्शन हुने मार्गमा पुग्दछ।

ईश्वरको विचार मात्रले पनि आङ नै सिरिङ्ङ हुनु भक्ति परिपक्व हुनु हो। ईश्वरको भाव मात्रले पनि शरीरमा काँडा उम्रनु भक्ति बलिष्ठ हुनु हो। प्रिय ईश्वरको आकृतिको सम्झना मात्रले पनि शरीरमा विद्युत प्रवाहले झङ्कृत हुनु, तरङ्गित हुनु नै भक्ति पुष्ट हुनु हो।

ईश्वरको आकृतिको दर्शन मात्रले पनि मन अग्नि सामु मोम झैँ पग्लनु भक्ति प्रगाढ हुनु हो। भक्तिका त्यस्ता चरम अवस्थाका एक उत्कृष्ट उदाहरण तत्कालीन भारतको बङ्गालमा एक विज्ञात सन्त हुनुभो; श्रीरामकृष्ण परमहंस।

उहाँले भन्नु भएको छ; “संसार जलमा डुब्दा भौतिकतामा मृत्यु हुन्छ, भक्ति यस्तो हो जहाँ डुब्दा मृत्यु हैन अमरता प्राप्त हुन्छ।“ ईश्वरको कुरा वा ईश्वरत्व नजिकको कुरा मात्रले पनि श्री रामकृष्ण परमहंसलाई समाधिमा पुर्याउँदथ्यो।

“ईश्वर भक्ति गर्न लाज हुन्जेल आध्यात्मिक हुन सकिन्न” भनेर श्रीरामकृष्ण परमहंसले भन्नु भएको छ । यसको अर्थ भक्तिको प्रदर्शन गर्ने भन्ने होइन ।

भक्त को हो ? :

भक्त हुन सबैभन्दा पहिला व्यक्तिमा ईश्वर प्रति आस्थालाई श्रीरामकृष्णलेे पहिलो खुड्किलो मान्नुभएको छ । एक व्यक्तिलाई भक्त हुन वा ईश्वर भक्ति प्राप्त गर्न ईश्वर प्रति मनोभावपूर्वक तड्पन हुनु पर्दछ, आस्था हुनुपर्दछ, उत्कट अभिलाषा हुनुपर्दछ।

त्यस पछि निष्ठा आउँछ। निष्ठा भनेको आफ्नो इष्टदेव प्रति एकचित्त लगाव हो। निष्ठाको अवस्थामा एक व्यक्ति ईश्वर बाहेक अरू गफलाई फिजुल ठान्दछन्। ईश्वर चर्चा बाहेकको अरू कुरा गर्न उनी चाहन्नन्।

उनले आफ्ना हरेक कर्म ईश्वर प्रति यसरी समर्पण गर्दछन् कि उनका हरेक कार्यले ईश्वर खुसी होउन् ! निष्ठामा परिपक्व भए पछि व्यक्ति भक्तको अवस्थामा उक्लन पुग्दछन् भनि भनिएको छ।

भक्तिका पाँच भाव-रस पछि महाभाव अनि प्रेम :

भक्तिमा परिपक्व हुँदै गए पछि भावको अवस्थामा भक्तलाई भक्ति अनुभूति हुन्छ । भाव पछि भक्ति महाभावको अवस्थामा पुग्दछ । महाभाव पछि प्रेमको अवस्था आउँछ। र, अन्त्यमा ईश्वरको प्राप्ति हुन पुग्दछ । श्रीचैतन्यदेवले (श्रीचैतन्य महाप्रभु) महाभाव र प्रेम दुवै प्राप्त गर्नु भएको थियो भनेर श्रीरामकृष्ण परमहंसले भन्नु भएको छ।

जुन सुकै वा हरेक भक्तिले एक व्यक्तिलाई ईश्वर बोध गर्न समर्थ बनाउँदैन । प्रेम भक्ति नै चाहिन्छ । प्रेम र व्याकुलता बिना ईश्वर बोध हुँदैन भनि भनिएको छ।

प्रेम भाव जागृत भएको अवस्थामा दुई गुण व्याप्त हुन पुग्दछन्; पहिलोमा प्रेमले संसार बिर्साइ दिन्छ । यहाँ ईश्वर प्रेम यति गहिरो हुन्छ कि बाह्य कुरा प्रति एक भक्त अनिच्छित हुन पुग्दछन्।

दोस्रो गुणमा मान्छेलाई आफ्नो अति प्रिय लाग्ने शरीर प्रति पनि “मेरो शरीर” भन्ने खालको कुनै आशक्ति रहन्न । शरीर नै आत्मा हो भन्ने भ्रमबाट पूर्णतः मुक्त हुन पुग्दछन् उनी राग भक्तिमा उक्लँदा। प्रेम भक्तिलाई राग भक्ति पनि भनिन्छ।

एक आम व्यक्तिलाई भावको अवस्थासम्म अनुभव हुन्छ । प्रेमको अवस्था चाहिँ ईश्वरकोटी या अवतारी महापुरुषहरूमा मात्र हुन्छ भनि भनिएको छ । जब एक भक्त प्रेम भावमा प्रतिष्ठित (अवस्थित) हुन्छन् तब ईश्वर पनि उनका अधीन हुन पुग्दछन्; “अहं भक्तपराधीन: “ ।
प्रेम यस्तो रस्सी हो जसले ईश्वरलाई अधीन गर्दछ ।

यसरी अधीन गर्दछ कि जब-जब ईश्वर दर्शनको इच्छा हुन्छ तब-तब ईश्वरको आफ्नु सामु प्राकट्य हुने हुन्छ भनि बताइएको छ। जब उनी एक भक्तमा प्रेमावस्था जागृत हुन्छ उनले संसारको मिथ्यात्व मात्र बोध गर्दैनन् शरीर प्रति पनि आशक्ति उनको मेटिँदछ।

प्रेमको प्राप्ति पछि उनी मौनता रुचाउँछन् पलपल सच्चिदानन्दको चिन्तनमा । त्यही भएर प्राय महात्माहरू मोक्ष प्राप्ति पछि संसारमा आउन चाहन्नन् । उनीहरूको शरीर एक्काइस दिनमा झर्दछ।

जसलाई लोक कल्याणका लागि परमात्माबाट आदेश प्राप्त हुन्छ उनीहरू मात्र संसारमा लोक कल्याणका लागि रहन्छन्, एकान्तवासबाट फर्कन्छन् भनेर श्रीरामकृष्ण परमहंसले भन्नु भएको छ।

जस्तै श्रीदेवरिया बाबा, श्रीत्रैलङ्ग स्वामी आदि लोक कल्याणका लागि संसारमा फर्किएका महात्माहरू भनेर उदाहरण मान्दा अत्युक्ति नहोला । लोक कल्याण हेतु संसारमा फर्किएका महात्मालाई ईश्वरकोटी या अवतार मानिएको छ।

सबै तत्त्वहरूमा प्रेम सबै भन्दा भित्री तत्त्व हो। प्रेमबाट एक महात्मा अत्यन्तै कोमल र मृदु हुन पुग्दछन्, नाजुक, सुकुमार हुन पुग्दछन् । यति नरम कि यही प्रेमावस्था जस्तो उच्चतम स्थानमा परब्रह्म परमात्मा भगवान् श्रीकृष्ण त्रिभङ्ग हुनुहुन्छ।

त्रिभङ्गको अर्थ हो उभिँदा खेरि सिधा उभ्याइ भङ्ग भएर तीन (त्रि)ठाउँमा मोडिनु, सिधा उभ्याइ तीन ठाउँबाट भङ्ग हुनु; घुँडाबाट एक दिशामा, कम्मर बाट अर्को दिशामा र काँध भन्दा माथिबाट अर्को दिशामा  (भगवान् श्रीकृष्णका प्रतिमाहरूमा त्रिभङ्ग मुद्रा व्याप्त देख्न सकिन्छ।

देवी देवताका मूर्ति-प्रतिमा, उनमा धारण भएका वस्त्र, आभूषण, हात-हतियार, पुष्प, भाव-भङ्गीमा आदि सबैका धेरै महत्वूर्ण अर्थहरू छन् ।)

वैधि भक्ति अनि राग भक्ति :

भक्तिलाई वैधि भक्ति र राग भक्तिमा पनि बुझिन्छ ।

वैधि भक्ति – बताइएका निश्चित सङ्ख्यामा ईश्वरको स्मरण हुनु, व्रत, तीर्थाटन, बताइएका पूजा सामग्रीले पूजन गर्नु, धेरै कुराको त्याग गर्नु आदि वैधि भक्ति हो । त्यस पछि दोस्रो अवस्थाको भक्ति – राग भक्तिमा भक्तको अभ्युदय हुन्छ।

राग भक्ति – राग भक्ति विशुद्ध ईश्वर प्रेम हो। एक प्रेम जसले कुनै पनि किसिमको सांसारिक कामना गर्दैन र हरपल-पलपल अनि प्रत्येक पल ईश्वर अनि केवल ईश्वर मात्रै खोज्दछ। राग भक्ति बिना ईश्वर बोध हुँदैन भनेर भनिएको छ।

बच्चावस्था देखि नै ईश्वरसँग मिलनका लागि व्यग्र हुने कोही-कोही दुर्लभ व्यक्तिमा पूर्व जन्मसंस्कारका कारण, या अवतारी महापुरुषहरूमा जन्मजातै राग भक्ति हुन सक्छ । जस्तै; भक्त प्रह्लाद ।

अत: पूजा, ईश्वर स्मरण, तप-ध्यान आदिको वैधि भक्ति पछि राग भक्ति हुँदै भाव अनि महाभाव र अन्त्यमा प्रेम।

भक्तिमा श्रीराधारानीको भावलाई महाभाव बताइएको छ। भक्तिका ग्रन्थहरूले महाभावमा उन्नाइस प्रकार बताएका छन्।

एक व्यक्तिलाई यी उन्नाइस मध्ये आफ्नो पुरा जीवनकालमा एउटै प्राप्त गर्न कठिन हुन्छ भनेर श्रीरामकृष्ण परमहंसले भन्नु भएको छ। उहाँमा यी उन्नाइस वटै विद्यमान थियो भनि भनिएको छ। भक्तिका ग्रन्थहरूले अर्का महान् भक्ति सन्त (एवम् श्री गौडीय वैष्णव परम्पराका प्रेरक) श्रीचैतन्य महाप्रभु पनि महाभावको अवस्थाका सन्त बताएका छन्।

भक्तका विभिन्न अवस्था :

भक्तिका विभिन्न अवस्थामा भक्त परिपक्व हुँदै जाँदा भक्तिले उनलाई विभिन्न किसिमको अवस्थाको दर्शन गराउँदै विकसित गर्दै लान्छन् भनेर भनिएको छ; प्रवर्तक (नव प्रवेशी), साधक, सिद्ध अनि सिद्धहरूको पनि सिद्ध । सिद्धमा चाहिँ नित्यसिद्ध (जन्मजात), साधनासिद्ध (साधनाबाट सिद्ध), कृपासिद्ध (ईश्वर कृपाबाट सिद्ध) र हठसिद्ध (अकस्मात् ईश्वर दर्शन प्राप्त हुनु) पर्दछन्। भक्तमा भक्ति विकसित भए, भक्तिले भक्त आनन्दमयी!

अतः “भक्तिको महिमा भारी छ।“ भक्तिको चौडाइ विराट छ। भक्तिको गहिराइ अकल्पनीय छ। भक्तिको उचाइ गगन भेदक छ।
शब्द सानो देखिए पनि यस भित्रको प्रवेश पछि ब्रह्माण्ड झैँ विराट असङ्ख्य यसका आयामहरू खुल्दछन्। भक्ति बहुआयामिक अवस्था हो।

भक्ति एक हो तर एउटै भक्तिबाट माथि उल्लिखित ईश्वरका अनेक आयामको आनन्द लिन सकिन्छ । एउटै भक्तिबाट अनेक आयामिक आनन्द प्राप्त हुन्छ।

भक्तिको महिमा वर्णनका लागि जति शब्द पनि अपुग हुन पुग्छन् ! हाम्रा अनगिन्ती प्राचीन शास्त्रहरूमा भरिभराउ महिमा भक्तिको धेरै भारी छ। जस्तै श्वेताश्वतरोपनिषद, कठोपनिषद आदिमा भक्तिको महिमा व्यापक रूपमा व्यक्त गरिएको छ।

भक्तिको महिमा श्वेताश्वतरोपनिषदले यसरी बताएको छ;

“यस्य देवे परा भक्तिः यथा देवे तथा गुरौ ।
तस्यैते कथिता ह्यर्थाः प्रकाशन्ते महात्मनः ।।”

जसको हृदयमा ईश्वरको प्रति परम प्रेम, परम भक्ति छ र जसरि ईश्वर प्रति भक्ति छ त्यसरि नै गुरु प्रति पनि छ भने त्यस्ता महात्मा पुरुषलाई जब शास्त्रका यी महान् विषयहरू बताइन्छ तब उनलाई बताइएका विषयहरूको अन्तर अर्थ स्वतः उद्घाटित हुन पुग्दछन् र वास्तवमै त्यस्ता महात्माका लागि शास्त्रका महान् अर्थ स्वतः प्रकाशित हुन पुग्दछ ।

श्रीमद्भागवत् महापुराण त भक्तिको विशाल ग्रन्थ नै हो ।

भक्तिले कसरी काम गर्छ ? :

जति सुकै ठूलो भौतिक उपलब्धिले पनि तृप्ति नहुने मानव मनलाई भक्तिले सदा सदाका लागि तृप्त हुने गन्तव्य पथ प्राप्तिको प्रेरणा-उत्प्रेरणा दिन्छ । ईश्वर प्राप्ति असम्भव मान्ने भ्रमलाई चिर्न सक्ने भक्ति नै यस्तो औजार हो जसले असम्भव कार्य सम्भव तुल्याउने ऊर्जा दिन्छ । यसका लागि भक्तिले सत् ईश्वर र असत् बास्ना-विकार छुट्याउन सक्ने विभेदन-क्षमता दिएर यो यात्राको सुरुवात गराउँछ।

त्यसपछि त्यही भक्तिले नै दुःखको कारण बास्ना-विकारबाट विरक्ति दिन्छ, बास्ना विकार प्रति उदासीन बनाउँछ। उदासीनको अर्थ नयाँ बन्धनमा फसाउने कर्म हुन दिँदैन, पुरानोलाई निस्तेज बनाउँछ । विरक्ति वा वैराग्य हुँदा त्यही भक्तिले नै भोगबाट निवृत्ति दिन्छ।

यसरी मन शुद्ध भक्तिले बनाउँछ। र, अन्त्यमा त्यही भक्तिले शुद्ध भएको मनलाई भगवान् को दर्शन दिन्छ । यताउता छरिएर रहेका तुलसीका दाना यहाँ गाँसिन पुग्दछन् भक्तिको शिखा पारिएको डोरोले।

र, दिव्य तुलसी एक माला बन्न पुग्दछ। प्रेमी, प्रियतम र प्रेमको अनुबन्धन हुन पुग्दछ। अनुरागी, अनुराग र अनुरागिनीको प्रेमगाँठो बाँधिन पुग्दछ । भक्त, भागवत् र भगवान् जोडिन पुग्दछन्। साधक, साधन र साध्यको लययोग हुन पुग्दछ।

ज्ञानी, ज्ञान र ज्ञात एकाकार हुन पुग्दछन् । ज्ञाता, ज्ञान र विदितको मिलन हुन पुग्दछ । एक वेदान्ती विज्ञानलाई विज्ञात अवस्थामा उक्लिएर विज्ञानी हुन पुग्दछन्।

वेदान्ती/ज्ञानी/विज्ञानीको बोध र वेदान्ती भक्तको बोध :

अतः वैष्णव या भक्तहरूको उच्चतम बोध या भगवत् बोध, भगवत् प्राप्ति वा भगवत् दर्शन र वेदान्तीको ज्ञान-विज्ञान-साधनाबाट प्राप्त उत्तमोत्तम अवस्था, ब्रह्मपरब्रह्मको अनुभूति लगभग नजिक-नजिक पुग्दछन्, लगभग उही हुन पुग्दछन्, लगभग उस्तै उस्तै हुन पुग्दछन् भनेर श्रीरामकृष्ण परमहंसले भन्नु भएको छ। भक्ति मै श्रीमध्व हुनु भो, भक्ति मै श्रीनिम्बार्क (द्वैताद्वैत परम्परा), भक्ति मै श्रीचैतन्य महाप्रभु हुनुभो, भक्ति मै श्रीरामानुज, भक्ति मै श्रीरामानन्द।

कठोपनिषदका विस्तृत ज्ञानलाई श्रीमध्वाचार्यको द्वैतवाद र श्री आदि शंकराचार्यकाे अद्वैतवाद भनेर विविध रूपमा विश्लेषण गरिएको छ।

अतः श्रीरामकृष्ण परमहंस भन्नु हुन्छ; “यी एक आपसमा फरक जस्ता भनिएका मार्गहरू परस्पर विरोधी नभएर बरु एक अर्काका परिपूरक हुन्”।

त्यसैले भगवत् प्राप्तिको मार्गमा भक्ति एकदम आधारभूत आवश्यकता पनि हो, गन्तव्य मार्ग-स्थान सम्मको सहयात्री पनि हो र गन्तव्यको दर्शन गराउने महान् निष्कामसेवी सहयोगी पनि हो । यही भक्ति प्राप्तिको प्रयासका खातिर नृतत्त्वको यात्रा घटित छ ।

अतः “भक्तिको महिमा भारी छ ।“
वन्दे महापुरुष ! ते चरणारविन्दम् ।।

(श्रीरामकृष्ण परमहंसमा सप्रेम समर्पण स्वरूप तयार गरिएको यस लेख उहाँको जीवनकथा र शिक्षामा आधारित पुस्तक The Gospel Of Shree Ramakrishna बाट प्रेरित हो । लेख्ने क्रममा भूलबस् कुनै पनि किसिमको त्रुटि हुन गएमा क्षमाको याचन सहित सत्यको मार्ग निर्देशकालागि श्रीआदरणीय पाठक वर्गमा यस पङ्क्तिकार सविनय विनम्र निवेदन अर्पण गर्दछ ।)

जय श्रीसीताराम । जय श्रीराधाकृष्ण ।।
नम: शिवायै च नम: शिवाय ।।

hrisheekeshdhakal@gmail.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *