नेपालीको प्रतिव्यक्ति आय १ हजार ४५६ डलर

डिसी नेपाल
१९ वैशाख २०८१ ७:३५

काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०८०-०८१ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। कार्यालयले मंगलबार नेपालको आर्थिक वृद्धिसम्बन्धी वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र ५७ खर्ब ४ अर्ब नाघेको जनाएको छ। गत वर्ष ५३ खर्ब ८१ अर्ब अर्थतन्त्रको आकार पुगेको थियो।

नेपालीको आयस्रोतमा पनि वृद्धि हुँदै वार्षिक आम्दानी १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। गत आवमा १ हजार ४ सय ५ डलर रहेकामा चालू आवमा ५१ डलर बढ्ने प्रक्षेपण गरिएको हो।

राष्ट्रिय तथ्यांक कार्यालयले उपभोक्ता मूल्यमा ३ दशमलव ८७ प्रतिशतको वृद्धिदर भए पनि आधारभूत मूल्यमा भने ३ दशमलव ५४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सरकारले चालू आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएकामा सो पूरा नहुने प्रक्षेपण तथ्यांक कार्यालयले गरेको छ ।

एसियाली विकास बैंक (एडीबी)ले यस वर्ष ३ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले ३ दशमलव १ प्रतिशत र विश्व बैंकले ३ दशमलव ३ प्रतिशत वृद्धिदर हुने अनुमान गरेका थिए ।

आव २०६८–०६९ मा ४ दशमलव ६७, आव २०६९-०७० मा ३ दशमलव ५७ हुँदै आव २०७३-०७४ मा नेपालको आर्थिक वृद्धिदर ८ दशमलव ९८ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको आर्थिक वृद्धि आव २०७६–०७७ मा आएर ऋणात्मक अर्थात् २ दशमलव ३७ प्रतिशत भएको थियो । गत आव २०७९–०८० मा १ दशमलव ९५ प्रतिशत आर्थिक वृद्धि भएको कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालू आव २०८०–०८१ को अन्त्यसम्म जीडीपीको तुलनामा २२ दशमलव ९६ प्रतिशत रेमिट्यान्स भित्रिने अनुमान गरिएको छ।

गत वर्ष रेमिट्यान्स जीडीपीको २२ दशमलव ८२ प्रतिशत रहेको थियो । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आव २०८०-०८१ मा कृषि क्षेत्रको आर्थिक वृद्धि ३ दशमलव शून्य ५ प्रतिशत हुने र उद्योग क्षेत्रको कुल आर्थिक वृद्धिदर ऋणात्मक हुने अनुमान गरेको छ।

उद्योग क्षेत्रको कुल आर्थिक वृद्धिदर १ दशमलव ६० प्रतिशतले ऋणात्मक हुने अनुमान गरिएको हो । गत आव २०७९–०८० मा यस क्षेत्रको वृद्धिदर १ दशमलव ९८ प्रतिशत ऋणात्मक भएको थियो ।

यसैगरी, निर्माण तथा व्यापार क्षेत्रमा पनि वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको छ । गत आव २०७९–०८० मा यस क्षेत्रको वृद्धिदर १ दशमलव १० प्रतिशत ऋणात्मक रहेको थियो । चालू आवमा पनि २ दशमलव शून्य ७ प्रतिशत ऋणात्मक हुने प्रक्षेपण गरिएको छ ।

निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकाले यस क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवको ६ देखि ८ महिनाको तथ्यांकलाई आधार मानेर र बाँकी अवधिको अनुमानका आधारमा आर्थिक वृद्धिको प्रक्षेपण गरेको कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।

नेपालमा पहिलोपटक आव २०१८–०१९ मा राष्ट्रिय लेखा अनुमान तयार गरिएको थियो । नियमित रूपमा यस्ता अनुमान प्रकाशन गर्ने कार्य आव २०२१–०२२ देखि भएको थियो ।

चालू आव २०८०–०८१ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २४ दशमलव ६ प्रतिशत, १२ दशमलव ५ प्रतिशत र ६२ दशमलव ९ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०७९–०८० मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा क्रमशः २४ दशमलव ४ प्रतिशत, १३ दशमलव १ प्रतिशत र ६२ दशमलव ५ प्रतिशत योगदान पु¥याउने संशोधित अनुमान गरिएको छ । त्यसैगरी, आव २०७८–०७९ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः २५ प्रतिशत, १३ दशमलव ७ प्रतिशत र ६१ दशमलव ३ प्रतिशत योगदान पु¥याउने अन्तिम तथ्यांक सार्वजनिक गरिएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र र सेवा क्षेत्रको योगदान गत आवको तुलनामा सीमान्त रूपमा बढेको देखिन्छ भने द्वितीय क्षेत्रको योगदानमा गत आवमा सीमान्त रूपमा घटेको देखिन्छ ।

चालू आवमा सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धिदर ४ दशमलव ९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालू आवमा कम्प्युटर प्रोगामिङ तथा इन्फर्मेसन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिका कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य बढ्ने प्रारम्भिक अनुमान रहेको छ ।

गत आव २०७९–०८० मा यस क्षेत्रको वृद्धिदर ४ दशमलव १५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आव २०७८–०७९ को अन्तिम तथ्यांकनुसार सो वर्षमा यस क्षेत्रको वृद्धिदर ४ दशमलव १९ प्रतिशत कायम गरिएको छ ।

यसैगरी, वित्तीय तथा बिमा क्षेत्रको कुल मूल्य अभिवृद्धिदर ७ दशमलव ८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तीय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको हो ।

गत आव २०७९–०८० मा यस क्षेत्रको वृद्धिदर ७ दशमलव २७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आव २०७८–०७९ को अन्तिम तथ्यांकनुसार सो वर्षमा यस क्षेत्रको वृद्धिदर ६ दशमलव ९१ प्रतिशत कायम गरिएको छ ।

घरजग्गा कारोबारको सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धिदर २ दशमलव ९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । घरजग्गाको कारोबारमा तुलनात्मक रूपमा कमी आएको भए तापनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो ।

गत आव २०७९–०८० मा यस क्षेत्रको वृद्धिदर २ दशमलव १८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आव २०७८–०७९ को अन्तिम तथ्यांकनुसार सो वर्षमा यस क्षेत्रको वृद्धिदर १ दशमलव ७२ प्रतिशत कायम गरिएको छ ।

चालू आव २०८०–०८१ मा आधारभूत मूल्यको कुल उत्पादन ८७ खर्ब ५२ अर्ब ६४ करोड हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०७९–०८० मा कुल उत्पादन ८२ खर्ब १७ अर्ब ५० करोड रहने संशोधित अनुमान गरिएको छ । आव २०७८–०७९ को अन्तिम तथ्यांकनुसार सो वर्षमा कुल उत्पादन ७३ खर्ब ९२ अर्ब २० करोड कायम गरिएको छ ।

चालू आव २०८०–०८१ मा उपभोक्ताको मूल्यको मध्यवर्ती उपभोग ३७ खर्ब २ अर्ब ५५ करोड हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०७९–०८० मा मध्यवर्ती उपभोग ३४ खर्ब ७८ अर्ब ५५ करोड रहने संशोधित अनुमान गरिएको छ । आव २०७८–०७९ को अन्तिम तथ्यांकनुसार सो वर्षमा मध्यवर्ती उपभोग ३१ खर्ब ३६ अर्ब २२ करोड कायम गरिएको छ ।

चालू आव २०८०–०८१ मा जीडीपीको २४ दशमलव ४५ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०७९–०८० मा जीडीपीको २५ दशमलव शून्य ८ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने संशोधित अनुमान गरिएको छ । आव २०७८–०७९ को अन्तिम तथ्यांकनुसार सो वर्षमा जीडीपीको २८ दशमलव ९८ प्रतिशत कुल स्थिर पुँजी निर्माण भएको छ ।

चालू आव २०८०–०८१ मा जीडीपीको ९२ दशमलव ३८ प्रतिशत अन्तिम उपभोग खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०७९–०८० मा जीडीपीको ९२ दशमलव ५९ प्रतिशत अन्तिम उपभोग खर्च हुने संशोधित अनुमान गरिएको छ । आव २०७८–०७९ को अन्तिम तथ्यांकनुसार सो वर्षमा जीडीपीको ९३ दशमलव ४२ प्रतिशत अन्तिम उपभोग खर्च भएको छ ।

चालू आव २०८०–०८१ मा जीडीपीको ७ दशमलव ९४ प्रतिशत निर्यात हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०७९–०८० मा जीडीपीको ६ दशमलव ९६ प्रतिशत निर्यात हुने संशोधित अनुमान गरिएको छ । आव २०७८–०७९ को अन्तिम तथ्यांकनुसार सो वर्षमा जीडीपीको ६ दशमलव ७० प्रतिशत निर्यात भएको छ ।

चालू आव २०८०–०८१ मा जीडीपीको ३३ दशमलव ७० प्रतिशत आयात हुने प्रारम्भिक अनुमान गरिएको छ । यसैगरी, जीडीपीको ३६ दशमलव १५ प्रतिशत कुल राष्ट्रिय बचत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *