रुसी सेनामा रहेका नेपालीहरुको संख्या अझै यकिन हुन सकेको छैनः परराष्ट्रमन्त्री

डिसी नेपाल
२४ वैशाख २०८१ १६:२९

काठमाडौं। उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरुको संख्या अझै यकिन हुन नसकेको बताएका छन्।

सोमबार सिहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा श्रेष्ठले रुसमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले पहल गरिरहेको र रुसी सेनामा रहेका नेपालीहरुको संख्या रुस सरकारसँग माग गरिएको जानकारी गराएका हुन्। रुसमा मृत्यु भएका नेपालीहरुको शव नेपाली पठाउने र क्षतिपूर्ति समेत माग गरेको भन्दै उनले क्षतिपूर्तिको विषयमा रुस सरकारले सहमत जनाएको धारणा राखे।

श्रेष्ठले इजरायल–हमास युद्धमा हमासको कब्जामा रहेका भनिएका विपिन जोशी औपचारिक र आधिकारिक अवस्थामा बारेमा जानकारी पाउन नसकिएको जानकारी दिए। उनले आर्थिक कुटनीतिलाई मात्रै केन्द्रीत गर्नेगरि छुट्टै महाशाखा बनाउने तयारी गरेको भन्दै यसबाट विकास र समृद्धिको कार्यभार पुरा गर्न सहज हुने धारणा राखे।

परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा सरकार स्पष्ट गरेको जिकिर गरे। अहिले संघीय सरकारले नै परराष्ट्र नीति हेर्ने भएकाले प्रदेश तहले पनि आफ्नै परराष्ट्र नीति बनाउन खोजे समस्या हुने उनको भनाइ छ। बैठकमा समिति सदस्यहरुले मापदण्डका आधारमा राजदूत नियुक्त गर्नुपर्ने, रुसमा रहेका नेपालीहरुको अवस्था सार्वजनिक गर्नुपर्ने लगाएतका धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *