अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

डिसी नेपाल
२४ वैशाख २०८१ १७:१६
40
Shares

काठमाडौं। निर्वाचन आयोगले नयाँ राजनीतिक दलका रुपमा जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले उक्त दल दर्ता सम्बन्धी निर्णय गरेको सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए।

हिजो आइतबार जनता समाजवादी पार्टी, (जसपा) नेपालका सात जना संघीय सांसदले नयाँ दल दर्ताको निवेदन आयोगमा दर्ता गरेका थिए। ‘नेपालको संविधान २०७२, राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४, तथा प्रचलित संघीय कानुन बमोजिमा प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ’, पाण्डेयले भने। नयाँ दर्ता भएको दलको नाम संक्षिप्तमा जनता समाजवादी र अङ्ग्रेजीमा ‘पिपुल्स सोसलिस्ट पार्टी’ (पिपुल्स सोसलिस्ट) रहेको छ ।

आयोगको आजको बैठकले जनता समाजवादी पार्टीले पेश गरेको विधान अभिलेख गर्ने र उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिनेसमेत निर्णय गरेको छ। त्यसैगरी, संघीय संसद् सचिवालय, सबै प्रदेशसभा सचिवालय र सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई दल दर्ताको जानकारी दिने निर्णय आयोगले गरेको पाण्डेयले जानकारी दिए।

अशोक राईको नेतृत्वमा जसपा नेपालका सात जना सांसदले नयाँ दल दर्ताका लागि हिजो आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो। राईसँगै संघीय सांसदहरु वीरेन्द्र महतो, प्रदीव यादव, सुशीला श्रेष्ठ, हसिना खातुन, रञ्जु ठाकुर र नवलकिशोर साह सुडी नयाँ दर्ता भएको दलमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *