कोशीमा नयाँ सरकार गठनको आव्हान, शुक्रबारसम्मको समय

डिसी नेपाल
२६ वैशाख २०८१ २२:४४

विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन्। प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले २ दिनको म्याद दिएका छन्। बुधबार राती विज्ञप्ति जारी गर्दै धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको आव्हान गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनका लागि कोशी प्रदेशमा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै पनि सदस्य मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्नेछन्। प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा ५ अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ। मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेका हुन्।

बुधबार नै प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र नकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेका थिए। उनीहरूले यही वैशाख ६ गतेको प्रदेशसभा बैठकले पारित गरेको संकल्प प्रस्ताव स्मरण गराउँदै तत्काल सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेका थिए।

नेपालको संविधानको धारा १८३ (३) बमोजिम कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरी मुख्यमन्त्री केदार कार्कीलाई विसं २०८० चैत २६ गतेको मितिले संविधानको धारा १८८ (२) बमोजिमको अवधिभित्र अर्थात ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिन संकल्प प्रस्ताव पारित गरिएको र सोबारे मुख्यमन्त्री कार्कीले जानकारी पाइसकेको उनीहरूको भनाइ छ।

आफू अल्पमतमा परेको भए पनि संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतप्राप्त गर्ने प्रयोजनका लागि समयावधिभित्र प्रदेशसभाको अधिवेशन आह्वान नगरेको तथा राजिनामा पनि नदिएकाले कार्कीले मुख्यमन्त्री पदको संवैधानिक हैसियत गुमाएको उनीहरूको दावी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *