बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त

डिसी नेपाल
३ कार्तिक २०८३ १५:३४
4
Shares

काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक बिनोदकुमार दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिंग अफिसर) मा नियुक्त भएका छन्। मलेसियाली क्रिकेट सङ्घले मंगलबार उनको नियुक्ति घोषणा गरेको हो।

करिब ३० वर्षको क्रिकेट अनुभव भएका दासले नेपाली राष्ट्रिय टोलीको कप्तान, प्रशिक्षक तथा क्रिकेट प्रशासकका रूपमा काम गरिसकेका छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रशिक्षक प्रशिक्षकसमेत हुन्।

मलेसियाली क्रिकेट सङ्घमा आबद्ध हुनुअघि उनी नेपाल क्रिकेट सङ्घमा क्रिकेट सञ्चालन व्यवस्थापकका रूपमा कार्यरत थिए। उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र एसियाली क्रिकेट परिषद्का विभिन्न प्रतियोगितामा प्रतियोगिता निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए।

नेपाली महिला राष्ट्रिय टोली र पुरुष १९ वर्षमुनिको टोलीका पूर्वप्रशिक्षकसमेत रहेका दासले मलेसियाली क्रिकेटको उच्च प्रदर्शन, राष्ट्रिय टोलीको सुदृढीकरण र अन्तर्राष्ट्रिय वरीयता सुधारमा काम गर्नेछन्। मलेसियाली क्रिकेट सङ्घका अध्यक्ष महिन्दा वल्लिपुरमले दासको अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक ज्ञानले मलेसियाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *