सी.पी. लोहनी : एक बहुप्रतिभाशाली व्यक्तित्व

डिसी नेपाल
२९ वैशाख २०८१ ७:३४

वि.सं. १९९५ असोज २४ गते काठमाडौँको खिचापोखरीमा जन्मनु भएका एक कुशल चलचित्र तथा नाट्य कलाकार, रचनाकार, संगीतकार, गायक, खेलाडी तथा अति मिलनसार र मृदुभाषी व्यक्तित्व।

यस्ता कैयन् विशेषणले चिनाउन खोज्दा पनि कम हुन्छ श्री चिदम्बरप्रसाद लोहनी वा धेरैले चिन्ने नाम सी.पी. लोहनी र घरपरिवारले चिन्ने नाम ठाइलाबुवालाई। लमजुङको पुर्कोटबाट काठमाडौँ हुँदै विराटनगर र त्यहाँभन्दा पूर्वसम्म पनि पुगेका लोहनी र पाण्डेहरूकै सन्तान-दरसन्तानमध्येका सी पी लोहनी नेपालको राजधानी काठमाडौँ र औद्योगिक राजधानी विराटनगरमा जन्मनु, हुर्कनुका साथै प्रारम्भिक शिक्षा प्राप्त गर्नुभएको उहाँको कर्मथलो भने भारतको मुम्बई हुन पुगेको थियो।

यसो हुनुमा उहाँको लामो प्रेम सम्बन्ध पश्चात् भारतीय चलचित्रकी महान् नायिका माला सिन्हासँगको लगनगाँठो पनि प्रमुख कारकतत्व हो। फरक भाषा, परिवेश, ठाउँ र संस्कृतिका भए पनि उहाँहरू दुई बीचको प्रगाढ प्रेम सम्बन्ध जीवनभर रहिरह्यो। छ जना दाजुभाइमध्येका उहाँ ठाइँला भाइ। उहाँ भन्दा माथि गोविन्दप्रसाद लोहनी, चन्द्रिकाप्रसाद लोहनी, लिलाप्रसाद लोहनी र गुञ्जेश्वरीप्रसाद लोहनी हुनुहुन्थ्यो भने कान्छा भाई यज्ञेशप्रसाद लोहनी। सबै आआफ्ना क्षेत्रका हस्तीहरू।

लम्जुङबाटै काठमाडौँ आउनु भएका मेरा हजुरबुवा काशीराज पाण्डे तथा उहाँका दाजुभाइहरू टेकराज, मिनराज, प्रयागराज आदि सबैका पिता पद्मराज पाण्डे तथा सी.पी. लोहनीका पिता दुर्गानिधि लोहनीकी माता र प्रख्यात साहित्यकार रुद्रराज पाण्डेकी माता पनि दाजुदिदीबहिनी हुनुहुन्थ्यो।

काठमाडौँ आएपछि पनि यी लोहनी र पाण्डे परिवार फसिकेव/प्युखा र खिचापोखरी क्षेत्रमा नै बसोवास गर्न थालेका हुन्। हाम्रा हजुरबुवा काशीराज पाण्डे त नेपालकै सम्भवतः प्रथम विद्युतीय इन्जिनियर तथा रेडियो प्रसारक हुनुहुन्थ्यो। त्यस्तै उहाँका भाई प्रयागराज पाण्डे प्रख्यात प्रशासक हुनुहुन्थ्यो।

राजा र राणाहरूका निकै नजिकका भारदार तथा गुरुज्यु खलकका भएकाले यी परिवारहरूले मुलुकका विभिन्न ठाउँका साथै मोरङ र झापामा पनि वीरताका जमीन र महत्वपुर्ण पदहरू प्राप्त गरेका थिए भने आफैंले पनि निकै धेरै जमीन खरिद गरेर जमिनदारी र व्यापार व्यवसायमा संलग्न रहेका थिए।

त्यसैले नाताले निकै नजिकका यी भाइबहिनाहरूले आफ्नो बसोवास काठमाडौँका साथै विराटनगरमा पनि गरेका होलान्। आजका नयाँ पिँढीका पाण्डेहरूले अझ धेरै प्रगति गरेका छन्।

सी.पी. लोहनीका सबै दाजुभाइ टेबुल टेनिसमा राष्ट्रिय खेलाडी नै रहेका थिए। झन् सी.पी. लोहनी त नेपाल च्याम्पियन नै भएर चीनमा समेत अन्तर्राष्ट्रिय टुर्नामेन्टमा भाग लिन जानु भएको मानिस। स्कूले उमेरदेखि नै गीत गाउने रहर। केटा र केटी दुवैको स्वरमा गाउन सक्ने।

त्यसै पनि त्यतिबेला नाटकमा खेल्ने वा गीत गाउने चेलीहरू नभेटिएर लोग्नेमानिसले नै केटीको भूमिका पनि निर्वाह गर्दथे, नाचगान र नाटकमा। उहाँ त्रिचन्द्र कलेजमा अध्ययन गर्दा बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा आदिजस्ता साहित्य तथा कलाका महान् हस्तीहरूसँग भेट्ने पनि अवसर मिलेको, झनै कलेजका कार्यक्रममा त उहाँ प्रख्यात हिन्दी गानाहरू पनि गाउने व्यक्ति।

वरिष्ठ लेखक तथा साहित्यकार वसन्त लोहनीले हालैमात्र गोरखापत्रमा लेख्नुभएको उहाँसम्बन्धी लेखमा त्रिचन्द्र कलेजको वार्षिकोत्सवको अवसरमा सी.पी. लोहनीले उतिबेला गाउनु भएको मोहम्मद रफी र लता मङ्गेशकरको युगल गीत ‘जरा सामने तो आओ छलिए, छुप–छुप के चलने मेँ क्या राज है’ को केटा र केटी दुवैको श्वर निकै सटिक तवरले गाउनु हुँदा पुरै दर्शकदीर्घा छक्क परेर मोहित भएको कुरा उल्लेख गर्नु भएको छ।

बी.कम.सम्मको पढाई सकिएपछि उहाँले लोकसेवा आयोगको परीक्षा उत्तिर्ण गरेर सरकारी जागिर पनि खानुभयो केही वर्ष। शुरुमा उहाँ गौचर विमानस्थल (हालको त्रिभुवन विमानस्थल) को हाकिम हुनुभएको थियो। त्यतिबेला गौचर विमानस्थल अति नै सानो भएकोले त्यहाँको हाकिमका रूपमा उहाँलाई धेरैले चिन्दथे। त्यसै पनि उहाँको मिलनसार स्वभावले गर्दा मानिसहरू उहाँलाई निकै मन पराउँदथे।

जागीरे रहँदा पनि उहाँको गायन, गीत-कविता लेखन, संगीत र कलाले भने विश्राम लिएको थिएन। यी सब विधामा लोहनी परिवार त्यतिबेलादेखि नै निकै ख्यातीप्राप्त थियो। हिमालय लोहनी, मधुकर लोहनी, लक्ष्मण लोहनी, पुश्कर लोहनी, वसन्त लोहनी आदि केही उदाहरण हुन्।

झनै वौद्धिक र प्राज्ञिक हिसाबले त धेरै लोहनीहरूले निकै ख्याती कमाएका छन्। लोहनीहरूमा सबैभन्दा बढी चिनिने व्यक्ति सी.पी. लोहनी हुनुहुन्छ भने त्यसपछि धेरैले चिन्ने वरिष्ठ अर्थविद् तथा राजनीतिज्ञ प्रकाशचन्द्र लोहनीलाई हो।

मेरा पिता गोविन्दप्रसाद लोहनी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक, नेपालका पहिलो पुस्ताका माक्र्सवादीहरूको गुरु, अर्थविद्, योजनाविद् कूटनीतिज्ञ, दार्शनिक, साहित्यकार, मनोविज्ञ, वेदप्रसाद लोहनी भवन निर्माणमा नेपालका पहिला कंक्रिट प्रयोग गर्ने वरिष्ठ इन्जिनियर तथा उद्यमी, उहाँका कान्छा छोरा वसन्त लोहनी प्रसिद्ध पत्रकार, साहित्यकार तथा लेखक, कुलनाथ लोहनी संयुक्त राष्ट्रसंघको उच्चतम पदमा पुग्नुभएका अर्थविद् र कूटनीतिज्ञ, रत्नप्रसाद लोहनी प्रसिद्ध सर्जन चिकित्सक, लक्ष्मण लोहनी प्रसिद्ध हाँस्य कलाकार तथा साहित्यकार, फणिन्द्रप्रसाद लोहनी प्रसिद्ध शिक्षाविद् तथा गणितज्ञ, उहाँका छोरा श्रीधर लोहनी अंग्रेजीका प्रसिद्ध प्राध्यापक, पुष्कर लोहनी प्रसिद्ध साहित्यकार, मोहन लोहनी अंग्रेजीका प्रसिद्ध प्राध्यापक तथा कूटनीतिज्ञ र त्यस्तै अन्य धेरै लोहनीहरू आआफ्ना क्षेत्रमा प्रसिद्धी कमाएका भए पनि उनिहरुलाई सी.पी. लोहनी जस्तो सबै पुस्ताले चिन्दैनन्।

वि.सं. २०२२ सालमा बी.एस. थापाद्वारा निर्देशित नेपालमा नै निर्माण भएको नीजि क्षेत्रको पहिलो नेपाली चलचित्र ‘माइतीघर’मा नायकको भूमिकामा खेल्ने अवसर पाउनु भएको थियो सी.पी. लोहनीले। यो चलचित्रको निर्माण नरशमशेर र डा. योगेन्द्र झाले गरेका थिए भने नायिकामा भारतकी प्रख्यात अभिनेत्री माला सिन्हा।

त्यतिबेलाको विकट पोखरामा अधिकांश छायांकन गरिएको सो चलचित्रमा सी.पी. लोहनीले आफ्नै स्वरमा गाउनु भएको लोक भाखाको गीत ‘काला कुर्तैले छ महिने जागीर खायाँ’ आजसम्म पनि लोकप्रिय छ।

सो चलचित्रका सबै गीत तथा कथा कालजयी नै हुन पुगे। यो एउटै चलचित्रमा अभिनय गरेर पनि सी.पी. लोहनी एक महान् कलाकार बन्न सफल हुनुभयो। हुनत उहाँले एक युरोपेली चलचित्रमा पनि सानो भूमिकामा खेल्नु भएको रहेछ। उहाँको रचनाको ‘एउटा तारा झर्दा पनि, आकाश सिंगै रित्तो लाग्छ’ पनि सबै पुस्ताको मन छुन सफल गीत बन्न पुगेको छ।

‘माइतीघर’ चलचित्रको छायांकनको बेला यसको मुख्य कार्यालय हालको माइतीघरमा नै रहेकोले त्यो ठाउँको नाम नै माइतीघर रहेको हो भन्ने सुन्नमा आएको छ। यसरी एउटा कालजयी चलचित्रका कारण धेरै कुराहरूले लामो समयसम्म चिनिने अवसर पाउँदा रहेछन्।

भारतमा बनेको प्रथम नेपाली चलचित्र ‘राजा हरिशचन्द्र’ र नेपालमा बनेको पहिलो नीजि क्षेत्रको चलचित्र ‘माइतीघर’ र सरकारी स्तरमा बनेको ‘आमा’ पश्चात् झण्डै ६० वर्षपछि आज आएर नेपाली कथानक चलचित्र तथा लघु चलचित्रहरूले ठूलो फड्को मारेर उच्च स्तरमा उभिन सक्ने अवस्थामा पुगेका छन्। श्रेय भने सबैभन्दा बढी ‘माइतीघर’लाई नै जान्छ।

चलचित्र ‘माइतीघर’ नै उहाँ र माला सिन्हाको प्रेम सम्बन्ध गाँसिने माध्यम बन्न गयो। झण्डै दुई वर्षसम्मको प्रगाढ प्रेम सम्बन्ध पश्चात् उहाँहरूको विवाह हुन गयो र जीवनभर एक अमरप्रेमको रूपमा रह्यो। माला सिन्हासँग हालै भएको भेटमा उहाँले सी.पी. एक ज्यादै व्यावहारिक तथा साथिजस्तो पति हुनुभएकोले उहाँहरूको सम्बन्ध हिर-राँझाको कथा जस्तै रहेको कुरा बताउनु भयो।

चलचित्र माइतीघरको छायांकन चलिरहेको बेलामा सी.पी.सँग प्रथम पटक चिनाजानी भएको र उहाँलाई पहिलो चोटी देख्दा नै निकै आकर्षण भएको कुरा माला सिन्हाले बताउनु भयो। चलचित्र माइतीघर सी.पी.को पहिलो फिल्म भए पनि उहाँले नहड्बडाईकन बडो मेहनतका साथ यस चलचित्रमा अभिनय गर्नुभएको थियो रे।

यसो हुनुमा उहाँको गीत-संगीतमा भएको लगावले पनि ठूलो भूमिका खेलेको हुन सक्दछ भन्ने कुरा माला सिन्हाले बताउनु भयो। विगत केही वर्षदेखि पार्किन्सन्स डिजिजको उपचार गराइरहनु भएको उहाँको गत वैशाख १७ गते अपरान्ह देहावसान भएको थियो।

मृत्यु एक ध्रुवसत्य भएपनि उहाँ विनाको एक्लो जीवन जिउन केही दिनमा नै ज्यादै कठीन भइसकेको कुरा माला सिन्हाले बताउनु भयो। कोठामा अहिले पनि सी.पी. हुनुहुन्छ जस्तो महसुस भएर उहाँ एक्लै भएपनि कुरा गरेर बस्नु हुन्छ रे। सी.पी.का लुगा तथा ओढ्नेहरू जस्ताको तस्तै राखिएका छन् रे।

उहाँहरूकी एक मात्र छोरी तथा नायिका प्रतिभाको बिहे भएको पनि एक दशकभन्दा बढी भइसक्यो। उनी आफ्नो परिवारको साथमा मुम्बईमा नै बसोवास गर्दछिन्। बुवाको निधनको खवर सुनेर पनि उनी विशेष कारणवश त्यतिबेला काठमाडौँ आउन सकिनन् र अब केही दिनमा आउँदै छिन्।

बुढेसकाल र त्यसमाथि पनि सी.पी. बिनाको जीवन मुम्बईमा एक्लो बिताउने इच्छा नभएको बताउने माला सिन्हाले अब धेरैजसो काठमाडौँमा नै बस्ने कुरा बताउनु भयो। सी.पी. लोहनीका अविवाहित भाई वाई.पी. पनि ८० नाघिसक्नु भएको छ भने एक मात्र बाँकी दाजु लिलाप्रसाद लोहनी १०३ वर्षको हुनु भयो र अझै स्वस्थ नै हुनुहुन्छ।

दाजुले बिरामी हुँदा पनि उहाँको कसैलाई दुख दिने बानी थिएन रे। अरुलाई दुख होला भनेर आफ्नो स्वास्थ्यको अवस्थाबारे घरपरिवारमा पनि कुरा नगर्ने र आफुसँगै राख्ने उहाँको बानी थियो भनेर कान्छा भाइ वाई.पी.ले सुनाउनु भयो।

उहाँ बिरामी भएदेखि नै भाइ वाई.पी. उहाँको स्याहार सुसारमा नै हुनुहुन्थ्यो। त्यस माथि भाउजु माला सिन्हाको पनि घुँडाको समस्या बल्झि रहने भएकोले उहाँले दुवैको ख्याल राख्नु पर्दथ्यो।

म सानै छँदा काठमाडौँ कै हाम्रा कुनै नातेदारको घरमा सांगितिक महेफिल जमिरहेको बेलामा सी.पी. यानी ठाईँला बुवाले हार्मोनियम बजाएर ‘गजब हुयो रामा, जुलुम हुयो रे’ भन्ने गीत गाएको अझै सम्झना आउँछ। उहाँको गीत सुनेर हाम्रो परिवारमा गायनको अझ बढी रस बस्न गएको हो। हाम्रा दाजुहरू तथा दिदी पनि गीत–संगीत, नृत्य र अभिनयमा पोख्त थिए भने मैले पनि उनिहरू कै पदचापबाट केही सिक्ने मौका पाएँ।

म सानै छँदा मेरा माता-पितासँग बरोबर जाडोमा विराटनगर जाँदा हामी हाम्रा हजुरबुवाले बनाउनु भएको तिनटोलियाको घरमा बस्ने गर्दथ्यौँ। हाम्रो मामाघरसँगै लिलाप्रसाद लोहनीको घर पनि थियो।

त्यतिबेला सी.पी. लोहनी विराटनगर जुट मिलका सञ्चालकको रूपमा पनि कार्यरत हुनुहुन्थ्यो। सो जुटमिलमा उहाँका पिताजीले ठूलो शेयर लगानी गर्नु भएकोले उहाँको परिवारका कोही न कोही त्यहाँको सञ्चालक भइरहन्थे।

करिव २० वर्ष पहिले होटेल अन्नपुर्णमा आयोजित एक समारोहमा मैले सी.पी. लोहनी र माला सिन्हासँग प्रत्यक्ष कुरा गर्ने मौका पाएको थिएँ। त्यहीबेला मैले उहाँलाई म काशिराज पाण्डेको नाती र रुचिला तथा गोविन्दको छोरा भनेर चिनाउँदा उहाँले माला सिन्हातिर हेर्दै ‘ए ! कपिल त हाम्रा मामाकी छोरी ‘नानी’को छोरा पो रहेछ।

खिचापोखरीमा हाम्रो घर पनि वारीपारी थियो र हामी सब जना सँगै खेल्ने गर्दथ्यौँ’ भन्नु भयो। त्यसपछिको मेरो उहाँसँगको छिटफुट भेट भइरहे पनि भारतको मुम्बईमा करिव दश वर्ष पहिले मेरा भतिजाको विवाहको भोजमा लामो भेट भएको थियो।

सो भोजमा सी.पी. लोहनी तथा छोरी प्रतिभा र ज्वाईँ सरिक थिए भने माला सिन्हा मुमा स्वास्थ्यको कारण सरिक हुन सक्नु भएन। २०८० सालको नयाँ वर्षमा पनि उहाँसँग मेरो लामो भेटघाट भएको थियो। त्यतिबेला नै उहाँमा पार्किन्सन्स डिजिजको विषम् लक्षणहरू देखिन थालेको थियो। पछि उहाँ झन् झन् बिरामी हुँदै छिटो छिटो अस्पताल भर्ना हुनुपर्ने क्रममा पुग्नु भयो।

आज सी.पी. लोहनीको भौतिक शरीर हामी माझ नभए पनि उहाँका कृतिहरूले गर्दा उहाँको याद सधैँ आइरहने छ। आजसम्म नेपालमा बनेका चलचित्र मध्ये सबै हिसाबले उत्कृष्टमा गनिएको चलचित्र ‘माइतीघर’का प्रमुख पात्रको रूपमा पनि उहाँ चिनिइरहनु हुनेछ।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *