संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरू

डिसी नेपाल
११ जेठ २०८१ १०:२०

काठमाडौं। सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक शुरु भएको छ । बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा जारी रहेको हो।

यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन। सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन्।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन्।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ।

सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन सत्ता र प्रतिपक्ष सहमत भए पनि त्यसको कार्यविधिमा सहमति जुट्न नसके पछि पछिल्लो बैठकहरू निस्कर्षबिहीन बन्दै आएका छन् ।

संसदीय छानबिन समितिको कार्यविधिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद देखिएको छ। प्रतिपक्षी नेपाली कांग्रेस गृहमन्त्री लामिछानेसमेत समेटिने गरी कार्यविधि बनाउनुपर्ने पक्षमा छ भने सत्ता पक्ष गृहमन्त्रीको नाम कार्यविधिमा उल्लेख गर्न तयार देखिएको छैन।

छानबिन कार्यविधिमा लामिछानेको नाम राखिए उनले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने र उनले राजीनामा दिए सरकार अप्ठेरोमा पर्ने सम्भावना देखिएपछि सत्ता पक्ष कांग्रेसको मागमा सहमत हुन सकेको छैन।

गत आइतबार पनि यही विषयमा विवाद हुँदा कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो । संसदीय समिति गठन र त्यसको कार्यविधिमा सहमति नभए कांग्रेसले आज पनि संसद् बैठक अवरुद्ध गर्ने जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *