सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गर्छौंः महेश बर्तौला

डिसी नेपाल
१२ जेठ २०८१ १३:५३

काठमाडौं। संघीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलत कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गरिने कार्यदलका सदस्य महेश बर्तौलाले बताएका छन्।

आज हुने कार्यदलको बैठकमा सहमतिका निम्ति हदैसम्म लचिलो हुने नीति सरकारले लिएको कार्यदलका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक बर्तौलाले बताए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना भएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गरेपछि छानबिन समिति गठन गर्न एक साताअघि समझदारी भए पनि समितिको कार्यदेशबारे टुंगो नलाग्दा गतिरोध कायम छ।

प्रमुख दलका शीर्षनेताहरुबीच संसद्को गतिरोध हटाउने विषयमा शुक्रबार भएको छलफल सकारात्मक दिशामा उन्मुख भएपछि कार्यदलमा पनि सहमति हुने संकेत मिलेको हो। कार्यदलका सदस्य बर्तौलाले आज दिनभर आफूहरु औपचारिक एवं अनौपचारिक छलफलमा जुट्ने र सहमतिका निम्ति भगीरथ प्रयास गर्ने बताए।

प्रमुख सचेतक बर्तौलाले सहकारीको रकम अनियमिततामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने विगतमा जोडिएको सन्दर्भमा उनको नाम उल्लेख नगरी उनी जोडिएका सहकारीका नाम उल्लेख गरेर छानबिनको कार्यादेश निर्धारण गर्न प्रमुख प्रतिपक्षी दल लचिलो भएको जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *