नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित

डिसी नेपाल
१३ जेठ २०८१ १३:२३

काठमाडौं।सरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बिपक्षीको विरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेकाे नीति तथा कार्यक्रममाथि छलफल गरि बहुमतले पारित गरिएको हो।

त्यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संसदको अवरोध हटाएर बजेट ल्याउने गरि छलफल भइरहेको जानकारी दिए। कांग्रेस सभापतिसंगको भेटवार्ता सकारात्मक भएको भन्दै उनले बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रमले सामाजिक आर्थिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्य लिएको बताए।

सरकारले आत्मनिर्भर कृषि अर्थतन्त्रको विकास, उद्यमशीलताको प्रवर्द्धन, पूर्वाधार विकास तथा रोजगारी सिर्जना गर्दै सूचना प्रविधि क्षेत्रलाई उत्पादन तथा उत्पादकत्वमा वृद्धिको मुख्य संवाहकका रुपमा विकास गर्न जोड दिएको उनले बताए।

त्यस्तै प्रधानमन्त्री दाहालले सामाजिकरुपमा उपेक्षित उत्पीडित वर्गको न्यायमा पहुँचको लागि कतिपय विशिष्ट कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिए।

प्रधानमन्त्रीको जवाफपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथिको संशोधनलाइ निणयार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो। सभामुख घिमिरेले आगामी जेठ १५ गते दिनको १ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्ने जानकारी दिए।

उनले उक्त दिन १२.४५ अघि नै संसदमा उपस्थीत हुन आग्रह गरे। संयुक्त बैठकपछि सोहि दिन अपरान्ह चार बजे प्रतिनिधिसभाको बैठक बस्ने सभामुखले जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *